Friday, December 28, 2018

प्रथम बेलौरी माघी मेला २०७५ को आयोजना हुनेबारे पत्रकार सम्मेलन

हाम्रै साझा पत्रिका
बेलाैरी, पुस १२
       थारूहरूकाे महान पर्व माधे सक्रान्तीकाे अवसर पारेर थारू कल्याणकारिणी सभा बेलाैरी नगर समितिले पुस २७ गते देखि कञ्चनपुरकाे बेलाैरीमा प्रथम बेलाैरी माघी मेलाकाे अायाेजना गर्ने भएकाे छ ।

विहिवार बेलाैरी स्थिति अाफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि थारू कल्याणकारीणी सभाले कार्यक्रम बारे जानकारी गराएकाे हाे । थारू एकता हमार सान , शिक्षा भाषा सँस्कृती पाैर्हैटी लैजीना हमार अभियान भन्ने मुल नाराका साथ बेलाैरीमा पहिलाे पटक बृहत् कार्यक्रमका साथ प्रथम बेलाैरी माघी कार्यक्रमकाे अायाेजना गरिन लागेकाे प्रचार प्रसार सँयाेजक कृष्ण गम्वाले जानकारी दिनुभयाे।

जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीकाे जगेर्ना तथा प्रचार प्रसार गर्ने मुख्य उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे अायाेजकले जनाएकाे छ । माघी मेला पुस २७ गते देखि २९ गते सम्म तीन दिन सञ्चालन हुनेछ। कार्यक्रम सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएकाे छ । अार्थिक ब्यवस्थापनमा रेशम चाैधरी, सँस्कृती ब्यवस्थापनमा दीनेश चाैधरी, स्टल तथा झाँकी ब्यवस्थापनमा विक्रम चाैधरी, सुरक्षा ब्यवस्थापनमा जगदिश चाैधरी, मञ्च ब्यवस्थापनमा मनाेज चाैधरी, पार्किङ्ग ब्यवस्थापनमा सुरज चाैधरी, स्वास्थ्य ब्यवस्थापनमा दीपेन्द्र चाैधरी, कलाकार ब्यवस्थापनमा रमेश चाैधरी, स्वागत सम्मान ब्यवस्थापनमा अारती चाैधरी, प्रचार प्रसार ब्यवस्थापनमा कृष्ण गम्वा, अतिथि सत्कार ब्यवस्थापनमा महेश चाैधरी र जनसम्पर्क ब्यवस्थापनमा पर्शुराम चाैधरी काे सँयाेजकत्वमा उपसमिति गठन गरिएकाे छ ।

माघी मेलामा थारू खानाका परिकार बँगुरकाे मासु, माछा, ढिक्रि, सिन्की, बयरकाे चटनी, तिलकाे अचार, जाँडकाे झाेल अादी उपलब्ध गराईने अायाेजकले बताएकाे छ । साथै कार्यक्रम अवधि भर थारू समुदायकाे कला सँस्कृती झल्किने झाँकी, मघाैटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाच, थारू तथा गैर थारू कलाकारहरूकाे समेत प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका खाने पानी मन्त्री बीना मगरले गर्ने थारू कल्याणकारिणी सभा बेलाैरी नगर सँयाेजक खड्ग बहादुर चाैधरीले जानकरी गराउनु भयाे । तीन दिन सम्म चल्ने उक्त कार्यक्रम अबधिभर बेल्डाँडी, बेलाैरी र पुनर्वासका गरि दस हजार भन्दा बढीले कार्यक्रमकाे अवलाेकन गर्ने अायाेजकले बताएकाे छ ।

थारू कल्याणकारीणी सभाका केन्द्रीय सदस्य जीऊलाल चाैधरी प्रमुख अतिथि रहेकाे साे पत्रकार सम्मेलन कार्यक्रममा विशिष्ट अतिथि थारू कल्याणकारीणी सभा कञ्चनपुरका उपसभापति सुनिता चाैधरी र थारू कल्याणकारिणी सभा बेलाैरी नगर सभापती खडक बहादुर चाैधरी रहनु भएकाे थियाे । प्रचार प्रसार समितिका सँयाेजक कृष्ण गम्वाकाे सभापतित्वमा सम्मपन पत्रकार सम्मेलन कार्यक्रमकाे सञ्चालन था. क. स. कञ्चनपुर जिल्ला सचिव रेशम चाैधरीले गरेका थिए ।

Wednesday, December 26, 2018

न्यून आर्थिकस्तर भएका बालबालिकालाई परदेशबाट न्यानो सुईटर

भानु युवा क्लबको प्रशंसनीय अभियान !
__________________________________________

हेमन्त न्यौपाने
पुनर्वास, पुस ११
      कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित भानु युवा क्लबले थारु, विपन्न, दलित तथा न्यून आयस्तर भएका बालबालिकाहरुलाई न्यानो सुईटर वितरण गरि प्रशंसनीय अभियान सुरु गरेको छ । पुसमाघको कठ्याँग्रीदो जाडोमा कतिपय विद्यार्थी एकसरो सर्टमा विद्यालय पुग्ने गर्छन । धनी हुनेखानेहरुका बच्चाहरु संस्थागत विद्यालय तर्फ आकर्षित भएका छन । न्यून आयस्रोत हुने अभिभावकहरुले नै आफ्ना सानासाना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्ने एउटा प्रचलन जस्तै बन्दै गएको छ । उनै बालबालिकाहरु जाडो छेक्ने एकसरो कपडा समेत पाउदैनन् ।

यिनै वर्गका बालबालिकालाई राहत होस भन्ने उद्देश्यले पुनर्वास नगरपालिका वडा नम्बर ५ भित्रका ३ विद्यालयमा बुधबार सुईटर वितरण गरिएको छ । यसअधि विभिन्न खेलकुदमा सक्रिय सहभागिता देखाउदै आएको भानु युवा क्लबका सचीव टेक बहादुर थापाको सक्रियतामा यस रचनात्मक काम सुरु भएको हो । वैदेशिक रोजगारीमा रहनुभएका यसै क्लबका पुर्वकप्तान तथा पुर्वखेलाडीहरुको आर्थिक सहयोगमा सुइँटर वितरण गरिएको क्लबका अध्यक्ष पदम बहादुर पुजाराले जानकारी गराउनुभयो ।

वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहनुभएका क्लबका पुर्वकप्तान जितु थापा, पोर्तुगलमा रहनुभएका पुर्वकप्तान नारायण पुजारा त्यस्तै कोरियामा रहनुभएका क्लबका पुर्वखेलाडीहरु रमेश थापा र गोविन्द क्षेत्रीको आर्थिक सहयोगमा वडाको चन्द्रबाल प्राथमिक विद्यालयका बालबालिकालाई ६० जनालाई, मदनआश्रीत विद्यालयमा ६० जनालाई अनि गौरीशंकर माध्यमिक विद्यालयका ९० जना बालबालिकालाई न्यानो सुईटर वितरण गरिएको छ ।

क्लबको यस अभियानमा उपस्थित हुनुभएका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले खुलेर प्रशंसा गर्नुभयो । उहाँले न्युन आयस्तर भएका सानासाना बालबालिकाहरुको लागि वैदेशिक रोजगारमा रहेरपनि सहयोग पुर्याउने सहयोगी हातहरु प्रति धन्यवाद प्रकट गर्नुभयो । उहाँले क्लबको सक्रियतामा भएको यस रचनात्मक अभियानको प्रसंसा गर्नुभयो ।

मदनआश्रीत प्राथमिक विद्यालयमा सुईटर विवरण कार्यक्रममा उपस्थित हुनुभएका वडा नम्बर ५ का वडाअध्यक्ष वीर बहादुर बिगटीले क्लबले विगत लामो समय देखि खेलक्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै यस अभियानको प्रशंसा गर्नुभयो । त्यस्तै, अध्यक्ष पुजाराले क्लबका पुर्वखेलाडीहरुले गरेको आर्थिक सहयोगका कारण क्लबले यस अभियानलाई सञ्चालन गरेको जिकिर गर्नुभयो । उहाँले अन्य सहयोगी हातहरुले पनि हात अघि बढाउन चाहेपनि उपयुक्त मौका नबनेका कारण सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।

क्लबका सचिव टेक थापाले गरिव, जेहेन्दार, थारु, न्युनआयस्रोत भएका बालबालिकाहरुको लागि राहत सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।  क्लबले खेलहरुमा मात्र नभएर अन्य धेरै सहयोगी र प्रेरणादायी कामहरु समेत गर्ने जिकिर गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेर पनि क्लबलाई यस किसिमको रचनात्मक काममा सहयोग पुर्याउने ४ जनाको नाम लिएर विशेष धन्यवाद प्रकट गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि यस अभियानले निरन्तरता पाउने बताउनुभयो । सबै विद्यार्थीलाई सुईटर उपलब्ध गराउन नसकिएपनी गरिव बालबालिकालाई सानो राहत उपलब्ध गराईएको उहाँले जनाउनुभयो ।

वैदेशिक रोजगारीमा रहेर आर्थिक सहयोग गरेका ४ जनाका अभिभावकहरुलाई दोसल्ला ओडाई सम्मान समेत गरिएको छ । उहाँहरुले आफ्ना सन्तानले यी सानासाना नानीहरुलाई जाडोका वेला राहत उपलब्ध गराएकोमा गर्ब महशुस भएको बताउनुभयो  । सहयोगी जितु थापाका बुवा गौरीशंकर माध्यमिक विद्यालयका पुर्वप्रधानाध्यापक पदम बहादुर थापाले आफ्नो छोराले यसरी सहयोग गरेको छ भन्ने कुरा सिधै कार्यक्रमबाट मात्र जानकारी पाउँदा एकदमै खुशी महशुस भएको बताउनुभयो । उहाँले अरु सहयोगी मनहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो । 

Monday, December 24, 2018

युगज्योति एकेडेमी २१ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

लाल बहादुर एसके
पुनर्वास, पुस ०९
   कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा सञ्चालनमा रहेको निजि विद्यालय युगज्योती एकेडेमीले आफ्नो २१ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा अर्धबार्षिक परिक्षाको नतिजा प्रकाशन समेत गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको हैसियतमा पुग्नुभएका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । गुणस्तरीय शिक्षा प्रदान गरिरहेको यस विद्यालयको उज्ज्वल भविष्यको कमना गर्नुभयो । उहाँले पुनर्वासका केहि  निजि विद्यालयहरुले विद्यार्थीलाई भेडाबाख्रा जस्तो गरेर एउटै कोठामा कोचेर पढाउने गरेको बताउनुभयो । उहाँले यस युगज्योतिले अहिलेसम्मको स्थितिमा परिक्षा नजिता राम्रो ल्याएको बताउनुभयो । उहाँले पुनर्वासका ६२ वटै विद्यालयको अनुगमन गरि नतिजा सुधार गरिने जिकिर गर्नुभयो ।

नगरपालिकाका ३२ वटा सामुदायिक विद्यालय र २९ वटा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर माथि उकास्न नगरपालिकाले रणनीति तय गरेको उपप्रमुख शारदा बिष्ट्ले बताउनुभयो । उहाँले सबै विद्यालयमा बालमैत्री शासन अवलम्बन गर्न निर्देशन दिइएको बताउनुभयो । सबै विद्यालयका शिक्षकहरुको जिम्मेवारीलाई दायित्व सम्झिएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथिको आसनमा नगर उप प्रमुख शारदा बिष्ट रहनुभएको थियो । कार्यक्रमका सभापति विद्यालयका अध्यक्ष बिश्वनाथ बिष्ट हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित हुनुभएका पुर्वअध्यक्ष बिष्णुभक्त पौडेलले समेत विद्यालयको प्रगतिको कमना गर्नुभयो ।

पुनर्वासका कानुन व्यावसायि तथा पत्रकार रुद्रमणी विश्वकर्माको निधन

हेमन्त न्यौपाने
पुनर्वास, पुस ०९
________________________________________
      लामो समय देखि कानुन व्यावसायमा आवद्ध भई पुनर्वास टाइम्स पत्रिकाका प्रधानसम्पादक समेत रहनुभएका अधिवक्ता रुद्रमणी विश्वकर्माको आज आकस्मिक निधन भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ निवासी विश्वकर्माले पुनर्वास र आसपासका मुद्दाहरुमा कानुन व्यावसाय गर्नुका साथै यहाँका हरेक समस्यामा निशुल्क रुपमा कानुनी सहयोग पुर्याउदै आउनुभएको थियो । उहाँको मृत्युको कारण जण्डिस हो । जण्डिस रोगबाट ग्रसित हुनुभएका विश्वकर्मालाई अचानक स्वास्थ्यमा गडबडी देखिएपछि कोहलपुर लैजान खोज्दा बाटोमा नै मृत्यु भएको उहाँका भाञ्जा विमल विश्वकर्माले जानकारी गराउनुभयो ।
________________________________________

पुनर्वास नगरपालिकामा कसैलाई पनि केहि कानुनी जटिलता भयो ? सिधा फोन रुद्रमणी विश्वकर्मा !! निशुल्क घण्टौं सम्म परामर्श दिने । जहाँ बोलायो निशुल्क सेवामा त्यही पुगिदिने र सक्दो सहयोग गर्ने अति मिलनसार व्याक्तित्वका रुपमा परिचित विश्वकर्माको निधनले सिङ्गो पुनर्वास मर्माहित बनेको छ । उहाँको मृत्युको खबर पाउनासाथ हज्जारौं आफन्त तथा शुभचिन्तक उहाँको निवास पुगेका छन ।
_________________________________________
आज अपरान्ह २ बजे तिर देहावसान हुनुभएका विश्वकर्माको भोलि मात्र अन्त्यष्टी गरिने उहाँका भाञ्जा विमल विश्वकर्माले जानकारी गराउनुभयो । उहाँका २ छोरा एक छोरी छन । जेठा छोरा वैदेशिक रोजगारीका शिलशिलामा कतारमा हुनुहुन्छभने कान्छा छोरा गौरभ काठमाडौंको शंकरदेव क्याम्पसमा बिकम प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ । कान्छा छोरा गौरभ हवाइजहाजबाट आज बेलुका पुग्ने हुँदा अन्त्यष्टी भोलि नै गरिने भएको हो ।

उहाँले नेपाल ल क्याम्पसबाट २०४३ सालमा आइएल गर्नुभएको थियोभने बिएल नेपालागञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट २०५६ सालमा बिएल गर्नुभएको थियो । उहाँले एसएससी पुनर्वास जनता माध्यमिक विद्यालयबाट दिनुभएको हो । २०१९ सालमा भोजपुरको कुलुङ भन्ने ठाँउमा जन्मनुभएका उहाँको ५६ बर्षको उमेरमा निधन भयो ।

२०५३ साल देखि लेखनदास हुँदै अधिवक्ता हुनुभयो । उहाँले यसै बर्ष नोटरी पब्लिकको लाइसेन्स प्राप्त गर्नुभएको थियो । पुनर्वास नगरपालिका कार्यपालिकाको कार्यालय भवन अगाडी यहि भदौ महिना देखि कानुनी सेवा केन्द्र सञ्चालन गर्नुभएको थियो ।

उहाँ २०७० सालमा स्थापना भएको पुनर्वास नगरपालिकाबाट प्रकाशित हुने पुनर्वास टाइम्स पत्रिकाका प्रधानसम्पादक समेत हुनुहुन्छ । यस अघि उहाँ शिक्षण पेशामा समेत आबद्ध हुनुभएको थियो । उहाँले आफ्नो शिक्षण जीवनमा २०४० साल देखि २०६५ साल सम्म काम गर्नुभयो । लामो समय पुनर्वास २ मोतिबस्तीको सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराउनुभयो । शिक्षण पेशाको अवकाश पछी कञ्चनपुर कै सेलर्ड संस्थामा कानुनी पेशामा काम गर्नुभएको । उहाँले प्रहरी प्रशासनलाई समेत कानुनी सहयोग गर्दै आउनुभएको थियो । 

मानवअधिकार मञ्च पुनर्वास शाखाका अध्यक्ष समेत रहनुभएका उहाँ खाद्य अधिकार मञ्च पुनर्वास समन्वय समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँका दुई छोरा र एक छोरी मध्य छोरी बिहे गरेर गएकी छोरी पनि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । उहाँको निधन हुँदा उहाँकी धर्मपत्नी सुमित्रा विश्वकर्मा घरमै हुनुहुन्थ्यो । सधैं अरुको सेवामा समर्पित हुने अनि पैसालाई प्राथमिकतामा राख्न नचाहाने विश्वकर्मा आर्थिकरुपमा सबल हुन चाहानुभएन ।

उहाँको निवासमै पुग्नुभएका पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष वीर बहादुर बोगटी उहाँको अचानकको निधनले मर्माहित भएको बताउनुभयो । जतिबेला पनि कानुनी परामर्श वा सल्लाह वा अन्य कुनै सहयोग चाहिएमा पटकपटक फोन गर्नु पर्ने र भेट्नुपर्ने अति मिलनशार व्यक्ति गुमाउनु पर्दा दु:खी भएको बताउनुभयो । उहाँको अभाव सधैं खड्किने वडाअध्यक्ष बोगटी बताउनु हुन्छ । “कानुन व्यावसायि त भेटिएलान तर यस्तो व्यक्तित्व भेटिन गारो छ ।” उहाँले बताउनुभयो ।

उहाँको निवासमै पुग्नुभएका पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मन बहादुर गुरुङ पुनर्वासले एक सम्पत्ति गुमाएको बताउनुभयो । “उहाँ पुनर्वास र पुनर्वासीको लागि सम्पत्ति भनौं वा मित्र भनौं वा सुखदु:खको सहयात्री भनौं जे भनेपनि उहाँको अभाव सदैव खड्किने छ ।” वडाअध्यक्ष गुरुङले गहिरो स्मरण गर्दै भने ।

त्यस्तै, निवास मै पुग्नुभएकी पुनर्वास नगरपालिका कार्यपालिका सदस्य विमला सापकोटा उहाँको निधन अविश्वसनीय भएको बताउनुहुन्छ । “हामीले एक अभिभावक गुमायौं, उहाँलाई कहिल्यै बिर्सन सकिदैन । हरेक दिन उहाँको सल्लाह सुझाव र परामर्श लिएर हिड्ने हामीलाई हरेक क्षण अभाव खड्किने छ । उहाँले कहिल्यै पैसालाई प्राथमिकतामा राख्नुभएन । उहाँको घरको स्थिति हेर्दा समेत सहजै अनुमान गर्न सकिन्छ । ” उहाँले भन्नुभयो ।
________________________________________
हेमन्त न्यौपाने हाम्रै साझा पत्रिकाका सम्पादक हुनुहुन्छ ।

Sunday, December 23, 2018

पुनर्वासको खेलकुद विकासमा फुटबल खेलको महत्त्वपूर्ण योगदान छ : तारालामा तामाङ

पुनर्वास, मंसिर ०८
      खेलकुद भन्ने बित्तिकै स्वस्थ्य, मनोरञ्जन तथा समाजिक सद्भावलाई समेट्ने महत्त्वपूर्ण पाटोका रुपले बुझिन्छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा बर्षैभरी चाडपर्वहरुमा फुटबल खेलको आयोजना हुने गर्दछ । अझ भनौं पुनर्वासमाफुटबल खेलको निकै क्रेज छ ।

  यस पटक भने ख्रिष्टमसको अवसर पारेर इसाइ धर्मवलम्बीहरुले फुटबल खेलको आयोजना गरेका छन । यहि आइतबार देखि सुरु भएको खेलको उद्घाटन कार्यक्रममा पुग्नुभएका प्रदेश सभा सदस्य सांसद तथा नेकपा पार्टी सुदुरपश्चिम प्रदेश प्रमुख सचेतक समेत रहनुभएका तारालामा तामाङ पुनर्वासको सद्भावलाई अझै उचाई दिन फुटबलले समेत योगदान पुर्याएको चर्चा गर्नुभयो । उहाँले यस क्षेत्रमा फुटबलको निकै क्रेज रहेको स्मरण गर्नुभयो । इसाइ धर्मवलम्बीहरुको आयोजनामा सञ्चालन भएको यस कार्यक्रममा बोल्दै उहाँले सबै नेपालीले आफ्नो इच्छा अनुसारको धर्म मन्न पाउने अधिकार भएको हुँदा धार्मिक कारणले कसैलाई विभेद गर्न नहुने बताउनुभयो । उहाँले यस क्षेत्रबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।

कालिका युवा क्लबको आयोजनामा आइतबारदेखि आईबिआरडीको ६५ बिगाहा क्षेत्रमा वडा स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको छ । खेलमा २० टिमले सहभागीता जनाउदै छन । विजेता समुहले नगद रु. ६१ हजार, मेडल र प्रमाणपत्र तथा उपविजेता समुहले नगद रु. ४१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

सुनौलो महिला कृषि सहकारी संस्थाको छैठौं बार्षिक साधारणसभा सम्पन्न

लाल बहादुर एसके
पुनर्वास, पुस ०७
    
      कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा अवस्थित सुनौलो महिला कृषि सहकारी संस्थाले आफ्नो छैठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । पुनर्वास नगरपालिका अहिले दुई दर्जन भन्दा धेरै सहकारी राम्रोसँग सञ्चालनमा छन । शनिबार नै पुनर्वास नगरपालिका वडा नम्बर ८ मा सानाकिसान सहकारी संस्था परासन शाखाले आफ्नो बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ । 

चुलो चौकामा मात्रै सिमित हुने महिलाहरु हिजो आज सामाजिक परिवर्तनमा अगुवाको भुमिका पनि निर्वाह गर्दै छन् । चेतनाको कमीका कारण महिलाहरु पछि पर्ने मात्रै नभएर घरायसी कामधन्दामा मात्रै सिमित हुदै आएका थिए । मुलुक परिवर्तन सगै महिलाहरुमा पनि परिवर्तन हुन थालेपछि महिलाहरु पनि सामाजिक काममा अग्रसरता देखाउन थालेका छन् ।

पुनर्वास सहकारी संस्थाका अध्यक्ष परशुराम विकले सहकारीका माध्यमबाट महिलालाई सक्षम, क्षामता वृद्धि तथा आत्मनिर्भर बन्ने आधार बनेको बताउनुभयो । उहाँले सहकारीको प्रगतिको कामना गर्नुभयो । यसै सहकारीको बाल बचत समुहका पाँच जना उत्कृष्ट शैक्षिक सामाग्री प्रदान गरिएको छ । विभिन्न समुहबाट उत्कृष्ट ऋण कारोबार गर्ने ३ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा सुमित्रा अधिकारी, फुलमति सुनार, तुलसी थापा रहेका छन । यस संस्थालाई यस स्थान सम्म पुर्याउन योगदान पुर्याउने तीन जनालाई सम्मान गरिएको छ । सम्मान पाउनेहरुमा कोपिला बिक, गंगा रोकाया, पुर्णाकुमारी गुरुङ रहेका छन ।

कार्यक्रमको प्रमुख अतिथि पुनर्वास नगरपालिकाकी नगरप्रमुख शारदा बिष्टले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिने हुँदा सहकारीको प्रगतिको कमना गर्नुभयो । सुनौलो महिला सहकारीको यस कार्यक्रमका लागि सभापतित्व सहकारीकी अध्यक्ष दुर्गा नेपाल गर्नुभएको थियोभने प्रमुख आतिथ्य पुनर्वास नगरपालिकाकी नगरउपप्रमुख शारदा बिष्टले गर्नुभएको थियो । त्यस्तै, स्वागत मन्तव्य कार्यपालिका सदस्य बिष्णु सिग्देलले दिनुभएको थियो । हिमचुली सगरमाथा सहकारी संस्थाका अध्यक्ष सोमराज बरालले शुभकामना मन्तव्य दिनुभएको थियो जेष्ठ नागरिक समितिका उपाध्यक्ष पदम बहादुर थापाले सहकारीलाई व्यवस्थापन गरेर लैजानुपर्ने बताउनुभयो ।

सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यस्ता पवित्र योजना बोकेका पुनर्वासका केहि सहकारी संस्थाहरु भने अहिले उद्देश्य अनुसारका काम गर्न सकेकाछैन ।

Saturday, December 22, 2018

रवि ओड: म्यादी प्रहरी देखि नेपाल आईडलसम्म


काठमाडौँ : कुनै समय म्यादी प्रहरीको जागिर खाने व्यक्ति नेपाल आईडल बनेका छ्न । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल आइडल बन्न सफल उनै रवि ओड हुन ।
नेपालको पश्चिमी सीमामा अवस्थति कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए । उनै रवि, शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ को ग्रान्ड फिनालेका विजेता घोषित भए । वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्।
उनका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए ।
गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुर्इ चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रविलार्इ उनको सपनाको उडान भर्न पैसाले रोकेन । हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि यसअघि नै सेलिब्रेटी भइसकेका थिए । नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ ।
नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे। सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलार्इ जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलार्इ सर्वोत्कृष्ट गायक सावित गरे ।
उनले आफ्नो क्षेत्रक देउडा गीतलार्इ नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पोख्त थिए पप र आधुनिक विधाका गीतमा पनि । संघर्षपूर्ण बाल्यकालबाट गुज्रिएका उनी जब गाउँथे सबैलार्इ बाँधेर राख्न सक्थे । संगीतको औपचारिक शिक्षा नलिएर पनि रविले 'ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल' भन्ने नेपाली भनाइलार्इ साँच्चिकै चरितार्थ गरिदिएका छन् ।
रविको जीवन कम्ता संघर्षपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो ।
हजुरबाको प्रेरणाले बालकालदेखि नै गुनगुनाउने रविको गीत सुन्न उनलार्इ जन्म दिने आमा अहिले यो दुनियाँमा छैनन् । तर उनलार्इ जुन आमाले हुर्काइन् जन्म दिने आमाको कहिल्यै कमी हुन दिइन्न । भारतमा पाले बनेका बाबुले रविलार्इ जिताउन भोट माग्दै हिँडेका थिए । परदेशमा रहेका बुवाले यो खबर सुनेपछि पक्कै हर्षका आँसु बगाए ।

Monday, December 17, 2018

विद्युत सव स्टेशनका चौकिदारको मृत्युपछि सडक जाम, विद्युत सेवा अबरुद्ध


कञ्चनपुर
  नेपाल विद्युत प्राधिकरण लालपुर सव स्टेशनका चौकिदार चन्द्रदेव भट्टको आइतबार ट्रान्सफरमा जलेर मृत्यु भएपछि हत्या भएको भन्दै दोषिमाथि कारबाहीको माग गर्दै आफन्तले पुर्वपश्चिम राजमार्ग बन्द गरेका छन् । लालपुर सव स्टेशनबाट वितरण हुने विद्युत सेवा पनि बन्द भएको छ । विद्युत प्रशारण बन्द हुँदा कञ्चनपुरको दक्षिणी भेगको जनजीवन असहज बनेको छ ।

सव स्टेशनको ठुलो ट्रान्सफरमा उनी मृत फेला परेका थिए । विद्युत कार्यालय नजिकै रहेको मालिकार्जुन होटेलमा बिहान साढे पाँचबजेतिर चिया खाएर कार्यालय गएका भट्टको ट्रान्सफरमा जलेर मृत्यु भएको हो । भीमदत्त नगरपालिका–१९ बाँगफाँटा निवासी भट्टका आफन्तले सुनियोजित ढङगबाट उनको हत्या भएको आरोप लगाएका छन ।
मृतक भट्टका भतिजा कृष्णदेव भट्टले काकाको विद्युतकै कर्मचारीबाट हत्या भएको आरोप लगाए । ‘बिहान बाहिरबाट चिया खाएर भित्र पसेका चौकिदारलाई कसले ट्रान्समिटरमा चढायो ?,’ उनले प्रश्न गरे, ‘यो सरासर हत्या गर्ने षड्यन्त्र हो, उनलाई खालीखुट्टा विद्युतको ट्रान्समिटरमा चढाइयो किन ?’
भट्ट मृत फेला परे लगत्तै प्रहरीले कार्यालय प्रमुख पदम चन्द सहितका पाँच कर्मचारीलाई नियन्त्रणमा लिएको छ । तिलक स्वाँर, मिनराज भट्ट, महेश शाह, कमल सिह बडूलाई नियन्त्रणमा लिएको हो । मृतका आफन्तले उनीहरु हत्या भएको बताएपछि प्रहरीले सुरक्षा र सोधपुछका लागि भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहान ९ बजेदेखिनै पुर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गरिएको छ । आफन्तले शव पनि उठाएका छैनन् । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।