Saturday, March 31, 2018

पुनर्वास उद्योगबाणिज्य संघका पुर्वअध्यक्ष देखि ठुलाबढाहरु नै काठ तस्करका नाईके!


डेढ दर्जन सःमिलहरु अवैध काठकै भरमा सञ्चालित,
कञ्चनपुरको दक्षिणी क्षेत्र अबैध काठ कारोबारको हब

रञ्जित लामा
कञ्चनपुर, १७ चैत
     कञ्चनपुरको दक्षिणी क्षेत्रमा अबैध काठको बिगबिगी बढिरहेको छ । भने झण्डै डेढ दर्जन त्यस क्षेत्रका सःमिलहरु अवैध काठकै भरमा सञ्चालनमा रहदै आएका छन् ।
पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा सञ्चालन हुँदै आएका काष्ठ मिलहरु अवैध काठकै भरमा सञ्चालन हुँदै आएको श्रोतको दाबी छ ।

दुवै नगरपालिकाका सिमावर्ती क्षेत्रका काष्ठमिलहरु वर्षाैंदेखि भारतीय र नेपाली अबैध काठबाट सञ्चालन हुँदै आएपनि अहिलेसम्म सरोकारवालाहरुले उचित ध्यान दिन नसक्दा अबैध काठको कारोबारी दिनप्रतिदिन मौलाउँदै गएको छ ।
भारतीय सिमावर्ती क्षेत्र टाटरगञ्जमा रहेको सिसमघारी र नेपाली लगायतका जङ्गलहरुबाट तस्करहरुले ठूलो परिमाणमा काठका गोलिया वर्षौदेखि सीमाका मिलहरुमा रातारात पुर्‍याउने गरेको स्थानिय स्रोतले बताएको छ । जसमा स्थानीय प्रहरी प्रशासनको समेत मिलोमतो रहेको ठहर छ ।
पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा झण्डै डेढ दर्जन काष्ठ मिलहरु सञ्चालनमा रहेका छन् ।

पुनर्वासमा तारा सः मिल, न्यू निशा सः मिल, रुबिना काष्ठ उद्योग, मिनाक्षी सःमिल, बस्नेत सःमिल, बिन्दबासिने सः मिल, शैलेश्वरी काष्ठ उद्योग र बेलौरीमा पूर्णा गिरी सःमिल, सागर सःमिल, श्री गणेश सःमिल, जयमाँ सःमिल, भूमिराज सःमिल, उदयदेब काष्ठ तथा फर्निचर उद्योग, कञ्चन काष्ठ तथा फर्निचर उद्योग लगायतका सःमिलहरु सञ्चालनमा रहेका छन् । सो मिलहरु अबैध काठकै भरमा सञ्चालन हुँदै आएको श्रोतको ठहर छ । स्रोतका अनुसार यी सञ्चालनमा रहेका काष्ठमिलहरुमा अधिकांश भारतीय अवैध काठबाट र केही नेपाली अबैध काठबाट सञ्चालन हुने गरेको उल्लेखित छ ।
काष्ठमिलहरुमा भारतीय र नेपाली तस्करहरुले बर्षौदेखि भारतीय सिमावर्ती क्षेत्रबाट सिसम, साल, खयर लगायतका बहुमुल्य काठहरु भित्र्याउने गरेको स्रोतले जनाएको छ । अबैध काठको मात्र भर नपर्ने हो भने सञ्चालनमा रहेका अधिकांश सःमिलहरु बन्द नै गर्नु पर्ने श्रोतको किटानी छ । यी मिलहरुबाट चिरान गरिएका काठहरु स्थानीय ठाउँहरुका साथै कञ्चनपुर,  कैलाली लगायत काठमाण्डौसम्मै बिक्री गर्ने गरेको स्रोतले जनाएको छ ।

कैलाली÷कञ्चनपुर जिल्लाका काष्ठ ब्यापारीहरुले कञ्चनपुरको दक्षिणी क्षेत्रलाई अबैध काठ कारोबार हुने हबको रुपमा वर्षाैंदेखि लिदै आएका छन् । भारतीय र नेपाली काठ तस्करहरुलाई ज्यालामा लगाएर अबैध काठ खरिद बिक्री गर्ने ठेकेदारहरुको पुनर्वास÷बेलौरीमा वर्षाैंदेखि बर्चश्व कायम रहदै आएको काठ तस्करीमा संलग्न एक ब्यक्तिले बताए ।
प्रहरी प्रशासनको सहज सेटिङ्गमा सःमिलहरु र मिलमा चिरान हुने अबैध काठका भरमा पुनर्वास÷बेलौरीका केही जानेमानेहरु दिनप्रतिदिन मोटाउँदै गएका छन् भने केही प्रहरी प्रशासनको सेटिङ्ग मिलाउँन नजान्दा फस्ने गरेको काठ तस्करी गर्नेहरु भित्रकै एक तस्करले बताए ।

    तस्करका अनुसार पुनर्वास–बेलौरीमा काठ तस्करीको नायकेको रुपमा रहदै आएका पुनर्वास उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्षसमेत रहेका बीरबल विश्कर्मा, शंकर साउद, चक्रबहादुर शाही, लालबहादुर तामाङ, मोहन पाण्डे, नारायण संग्रौला, दिल्ली शाही, किशन चन्द आदि रहेका छन् । अबैध काठ तस्करीका लागि प्रहरी, प्रशासनमा सेटिङ्ग मिलाउँनेमा बीरबल विश्कर्मा, शंकर साउद र चक्रबहादुर शाही अग्रपक्तिमा रहेको श्रोतले बतायो । स्मरण रहोस् यी माथि उल्लेखित ब्यक्तिहरु अधिकांश मिल सञ्चालकसमेत हुन् ।
गत शुक्रबार मात्रै बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा ६१ गोलीया अबैध काठ सहित काष्ठमिल सञ्चालक भुवेन्द्रराज पन्त र मनिषा सः मिलका सञ्चालक देवराज पन्तलाई क्षेत्रीय विशेष अनुसन्धान आर. आई,टी.र ईलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले सिसमको काठ सहित उनीहरुलाई पक्राउ गरेको थियो ।
वर्षाैदेखि अबैध काठकै भरमा सञ्चालन हुने मिलहरुमा आकलझुकल मात्रै बनको चेकजाँच हुने भएकोले उक्त सःमिलहरु निर्बाधरुपमा सञ्चालनमा हुँदै आइरहेको एक जना काष्ठ ब्यापारीले नै बताए ।

जिल्ला बन कार्याल कञ्चनपुरका सहायक बन अधिकृत बीरबहादुर ठगुन्ना भन्छन् –“त्यस क्षेत्रमा अबैध काठको तस्करी हुन्छ भन्ने कसलाई थाहा छैन र ? राजनैतिक पार्टीदेखि लिएर प्रहरी, प्रशासन सबैलाई थाहा भएकै कुरा हो ।” उनले भने “सबैले स्वार्थ राखेकै हुन्छन्, जस्ले पायो त्यो चुपलाग्ने र नपाएकाले यो त्यो त भन्ने नै हो ।”
सहायक बन अधिकृत ठगुन्नाको भनाइले काठ तस्करीमा सरोकार वालाको मिलोमतो रहेको प्रष्ट्याएको छ । आफ्नो स्वार्थ पूरा नभएपछि मात्रै मिलोमतोको पर्दा च्यातिने नत्र यसरी नै पर्दा भित्र अबैध काठहरुको धन्दा मौलाइरहने ठगुन्नाको भनाइबाट स्पष्ट भएको छ ।

Friday, March 30, 2018

गोली प्रहारबाट श्रीमानद्धारा श्रीमतीको हत्या

बाँके, चैत १६श्रीमानले गोलि प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । बाँकेकाे डुडुवा गाउँपालिका ३ का सञ्जय कुमार बर्माले २८ बर्षिया श्रीमती शान्तिदेवी बर्माको गोली प्रहार गरेर बिहिबार राती हत्या गरेका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बाह्र बोरको बन्दुकबाट सञ्जयले गोली प्रहार गरेर श्रीमतीको हत्या गरेको बताए । उनका अनुसार शान्तिदेवीको शरिरको २ स्थानमा गोली लागेको छ भने घटनास्थलबाट समेत २ वटा गोलीका खोका समेत फेला परेको छ ।

बाह्र बोरको बन्दुक लाइसेन्सप्राप्त रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने सञ्जयलाई राती नै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घोडाघोडी नगरपालिका -८ मा झाडापखालाका कारण डेढ वर्षिया शिशुको मृत्यु

सुखड ,कैलाली । कैलालीको घोडाघोडि नगरपालिका-  ८ दिपनगरमा झाडापखालाका कारण  एक शिशुको मृत्यु भएको छ । बिहिवार बिहान डेढ वर्षिय शिशु  प्रिन्सि चौधरीको मृत्युु भएको हो ।

बिहान करिब साढे पाँच बजेतिर अन्तिम अवस्थामा अस्पतालमा  पुर्‍याएपछी शिशुको मृत्यु भएको  घोडाघोडि अस्पतालका डाक्टर महमद अनुप शेखले जानकारी दिनु भयो । मौसम परिवर्तन सङ्गै  झाडापखाला र रुघाखोकिका बिरामी संक्रमण बढेकाले सबैलाई खानपिनमा ध्यान दिन समेत आग्रह गर्नुभएको छ  । गर्मियाम सङ्गै आउने हावाहुरीका कारण घोडाघोडी नगरपालिका क्षेत्रमा झाडापखालाका बिरामी बढेका छ्न ।फाइल तस्बिर :

धनगढी उप-महानगरपालिकाका नगरप्रमुख सहित स्मार्ट सिटी सिक्न नेपालका ३ मेयर ताइवानमा

ताइपेइ,१६ चैत ।
    ताइवानको ताइपेइ शहरले आयोजना गरेको स्मार्ट सिटीसम्बन्धी सम्मेलनमा नेपालका तीन जना मेयरहरु सहभागी भएका छन् । विश्वका पचास बढी देशका १ सय ५० बढी मेयरहरुलाई सहभागि गराएर ताइपेइ शहरले चैत १२ देखि १५ सम्म स्मार्ट सिटी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा नेपालबाट पोखरा लेखनाथ महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाका मेयरहरु सहभागी भएका हुन् । उनीहरुले सम्मेलनबाट स्मार्ट सिटीका रुपमा नेपालका शहरलाई विकास गर्ने आधार फराकिलो भएको बताएकाछन् । पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले ताइवानको विकासबाट आफूले धेरै कुरा सिकेको बताउँदै यहाँको विकासको कुरालाई जस्ताका तस्तै भन्दापनि आफ्नो ठाउँ अनुकुल हुने गरी प्रयोग गर्ने बताए । उनले प्रविधिको विकाससँगै स्मार्ट सिटीको अवधारणा जोडिएकाले प्रविधिमा जोड दिनुपर्ने कुरा स्विकार गरे । पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले यसपटक वजेटमा५० लाख समेत छुट्याइसकेर काम सुरु गरिसकेको बताउँछन् नगरप्रमुख जिसी । उनले स्मार्ट सिटीका लागि यो रकम छुट्याए पनि अन्य प्राविधिक कामका लागि भने एक करोड बढी रकम छुट्याएको जानकारी पनि दिए । उता तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सम्मेलन र स्थलगत अध्ययनबाट स्मार्ट सिटीका रुपमा तुलसीपुरलाई कसरी विकास गर्ने भन्ने अवधारणा बनेको बताए । उनले पुराना संरचनाहरु प्रविधि मैत्री नभएकाले तत्काल त्यसलाई बनाउन गाह्रो हुने बताउँदै नयाँ निर्माण हुने संरचनाहरु स्मार्ट सिटीकै अवधारणामा हुने पनि बताए । ‘हामीले बसपार्क निर्माण गर्दैछौं, अब त्यसलाई स्मार्ट सिटीको अवधारणाबाट अगाडि बढाउने हो,’ पाण्डेले भने । तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट सिटीका आधार निर्माणका लागि यसपटक बजेटमा १ करोड बढी बजेट छुट्याएको छ । अहिले व्यक्तिगत घटना दर्ता, तत्काल समस्या राख्ने टोल फ्रि नम्वर लगायतका कुरालाई तुलसीपुरले यसै वर्षबाट सुरुवात गरिसकेको छ। यसका साथै अनलाइन माध्यमबाट कर तिर्ने र निश्चित विषयमा स्मार्ट कार्डको प्रयोग गर्ने कुरालाई उपमहानगरपालिकाले जोड दिने प्रमुख पाण्डेले वबताए । न्यू आईटी भेन्चर लगायतका विभिन्न संस्थाहरुसँग स्मार्ट सिटीका लागि आर्थिक र प्राविधिकसहयोग गर्ने सहमति भएकाले पनि तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सकिने उनले बताए । उदाउँदो शहरको रुपमा रहेको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले धनगढीलाई स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि पूर्वाधार तयारीको काम भइरहेको बताए । ‘ताइवानको विकासले हामीलाई कसरीविकास गर्ने भन्ने कुरा सिकाएकोछ,’ नगरप्रमुख वडले भने । ताइवानमा निर्माण भएका स्मार्ट लाइव्रेरी, स्मार्ट कर प्रणाली, स्मार्ट रेल सेवा र बस सेवा, स्मार्ट शिक्षा लगायत विभिन्न क्षेत्रका बारेमा उनीहरुलाई अवलोकन गराइएको थियो ।

Thursday, March 29, 2018

अस्पतालको शैयाबाट महराको गुहारः श्रीमतीको ज्यान जोगाइदेउ

धनगढी ।  आर्थिक समस्याका कारण डडेल्धुराको पर्शुराम नगरपालिका ७ साँदनीका जनक महरा पक्षघात भएकी श्रीमतीको उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन्। जोगबुढाबाट ३ महिना पहिले श्रीमती लक्ष्मी महरालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरेका महरालाई डाक्टरले थप उपचारका लागि अन्यत्र लैजान सुझाव दिएका थिए। तर उपचारका लागि चाहिने रकम नहुदा महरा तिन महिनादेखी सेती अञ्चल अस्पतालकौ सैयामा छट्पटाई रहेका छन्। 

अञ्चल अस्पतालको दोस्रो तलाको महिला वार्डको ४ नम्बर शैयाबाट महराले श्रीमतीको ज्यान जोगाइनदिन गुहार गरेका छन्। सुरुमा समान्य मानसिक समस्या देखिएपछि ऋण काँढेर लक्ष्मीलाई उपचारका लागि भारतको बरेली लगेका डडेल्धुराको २३ वर्षिय जनक बोहोरा आर्थिक समस्याका कारण समस्यामा पर्नुभएको हो। 
ऋण काँढेको ४÷५ लाख रुपैँया भारतमै सकिएपछि महरा समस्यामा परेका छन्। सेती अञ्चल अस्पतालले महरालाई अन्यत्रै लगेर उपचार गर्न भनिसकेको छ।

तर अन्यत्र लैजाने रकम नभएपछि तिन महिनादेखी उहाँकी श्रीमती अस्पतालको सैयामा छट्पटाईरहनुभएको छ। घाँटीको अप्रेशनपछि बोल्न नसक्ने अवस्थामा रहेकी लक्ष्मीलाई पाइपबाट खाना खाने व्यवस्था गरिएको छ। जीवन र मरणको दोषाधमा रहेकी लक्ष्मीलाई जसरी भएपनि निको बनाउने धोको श्रीमान जनकको छ। शैयामा छटपटाइरहेका लक्ष्मी न उठ्न सक्छीन, न बोल्न नै। केवल बेला बेला आँखाबाट आशु भेल बगाइरहन्छीन्।

अढाई वर्ष पहिले विवाह गरेका महरा घरको जेठो छोरा हुनुहुन्छ। श्रीमती, आमाबुबा र भाइबहिनीलाई खुसि दिन भनि भारतमा रोजगारी गर्दै आएका महरालाई एक्कासी परेको बज«पातले विपत्तीमा पु¥याएपछि उहाँसँग सहयोग माग्नु बाहेक अरु शब्द नै छैन्न। महराले भने, ‘पैँसा छैन् ३ महिना भयो अस्पतालमै बसेको छु, कतैबाट सहयोग जुटेमा आभारी हुने थियो, श्रीमतिको ज्यान जोगिने थियो।’ महराले आफ्नो मोवाईल नम्बर ‘९८०६४६८२३०’ दिदै भने ‘मलाई सहयोग गर्नेहरुले सम्पर्क गरिदिनुहोला।’

‘मलाई ठुलो गुन मिल्ने थियो।’ समान्य मानसीक समस्यापछि विरामी परेकी  लक्ष्मीको अवस्था दिनानुदिन जटिल बन्दै गएको छ। सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेर बहादुर कमरले लक्ष्मीमा ३÷४ किसिमको समस्या रहेको बताए। ‘सुरुमा मन सम्बन्धीत समस्या रहेछ, त्यसले मानसिक सन्तुल बिग्रीयो’,

डाक्टर कमरले भने त्यसपछि पक्षघात भएर अहिले हातखुट्टा समेत नलाग्ने भएका छन्, राम्रो अस्पतालमा लगेमा ठिक हुन सक्छ।’मानविय नाताले महराको ज्यान जोगाउन तथा जनकका खुसि  फर्काउन तपाई हामीले पनि आ–आफ्नो तर्फबाट सानो सहयोग गर्न सकेमा ठुलो गुन मिल्न्ेछ। साभार : दिनेश खबर

दिउँसो २ बजेदेखि राति ९ बजेसम्म मदिरा कारोबार गर्न पाइने

कञ्चनपुर, १५ चैत : भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ ।

नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानूनी व्यवस्था गरेको छ । भीमदत्त नगरपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि– २०७४ मा कारबाही सम्बन्धी यस्तो व्यवस्था गरेको हो ।

कार्य विधिमा मदिरा सेवन गरी अशान्ति फैलाउने कार्यमा संलग्न व्यक्तिलाई पनि जरिवानाको व्यवस्था गरिएको छ । पहिलो पटक रु एक हजार, दोस्रो पटक रु दुई हजार, तेस्रो पटक रु पाँच हजार र त्यसभन्दा माथि रु १० हजार जरिवाना तोकिएको छ । नगर कार्यपालिकाबाट पारित भएर कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मदिरा कारोबारलाई व्यवस्थित गर्नका लागि कार्यविधि बनाएर लागू गरिएको बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत स्थानीय तहले पाएको अधिकारका आधारमा मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि बनाइएको उहाँले बताउनुभयो ।

कार्य विधिको दफा १२ को उप दफा ३ मा जरिवाना तिर्न आनाकानी गरिए वडा र नगरपालिका कार्यालयबाट प्रदान हुने सेवा सुविधा रोक्का गरी कारबाही गर्ने प्रावधान राखिएको छ । नगरपालिकाले मदिरा कारोबारलाई व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा मदिरा बिक्री वितरण व्यवस्थापन तथा नियमन मूलसमिति गठन गरिने व्यवस्था कार्यविधिमा छ ।

मदिरा कारोबारका लागि समय अवधि पनि तोकिएको छ । थोक बिक्रेताले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म, खु्द्रा बिक्रेताले ९ बजेदेखि साँझ ८ बजेसम्म, बिर्को खोली बिक्री गर्ने व्यवसायीले दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । भीमदत्त नगरपालिकाको बजार क्षेत्र बाहेक सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य संस्था, मन्दिर लगायतका धार्मिक स्थानबाट दुई सय मिटर टाढा मात्रै कारोबार गर्न पाउने नियम बनाइएको छ ।

कार्य विधिले किराना, खाद्यान्न, तरकारी, औषधि, मासु, कपडा, फलफूल पसलमा मदिरा कारोबार गर्न नपाइने प्रावधान कार्य विधिमा छ ।
यसैगरी, होटल रेस्टुरेन्टमा बाहिर प्रदर्शन नहुने गरी मदिरा राख्न समेत नपाइने नियम बनाइएको छ ।

१८ वर्ष मुनिका व्यक्तिलाई मदिरा कारोबारमा लगाउन नपाइने र अनुमति लिएका होटलमा खाना र बास क्षेत्र बाहेक छुट्टै मदिरा रेस्टुरेन्ट राख्नुपर्ने नियम बनाइएको छ ।

नेपालमा भारतीय रेल गुड्ने पक्का, पाँच ठाउँबाट काम सुरु

काठमाडौं, १५ चैत ।  नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ।

काठमाडौंमा दुई वर्षभित्रै निचियाँ रेल गुड्ने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले ‘हावादारी’को संज्ञा दिएरहेका बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको हो।

भारतले जयनगर–बर्दिबास, जोगबनी–विराटनगर, नैतनवा–भैरहवा, रुपेडिया–नेपालगन्ज र जलपाइगुरी– काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको छ।

यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबासमम्म आउने भारतीय रेललाई सर्लाहीको लालबन्दीसम्म ल्याउन तथा जोगवनी–विराटनगरमा ट्रयाक निर्माणको कामलाई तीब्रता दिइरहेको भारतीय रेल मन्त्रालयले जनाएको छ। काराेबार दैनिकले खबार छापेको छ ।फाइल तस्बिर :

सुन काण्डमा मुछिएका एसएसपीलाई जोगाउन आईजीपी नै सक्रिय

काठमाडौं, १५ चैत तस्करीको साढे ३३ केजी सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेस लोहनीलाई कारबाहीबाट जोगाउन आईजीपी प्रकाश अर्याल नै लागिपरेपछि अनुसन्धान नाटकमा मात्र सीमित हुने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार एसएसपी लोहनीले सुन तस्कर गोरे भन्ने चुडामणि उप्रेतीसँग भित्रभित्रै साँठगाँठ गरेको खुलिसकेको छ भने उनी अहिले गोरे गृहमन्त्रीको मान्छे भन्दै आईजीपीलाई गलत सूचना दिएर कारबाहीबाट उम्किन खोजेका छन् ।

एसएसपी लोहनीले तल्लो तहका प्रहरीलाई बलिको बोको बनाई आफू कारबाहीबाट बच्न लविङ गरेको थाहा पाएपछि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले छानविन समितिसँग प्रत्यक्ष रिपोर्ट लिएर सक्रियता देखाएका छन् । अपराध महाशाखा जस्तो प्रहरीको इन्टेलिजेन्स इकाइको प्रमुखमा रहँदा पनि एसएसपी लोहनीमाथि नै अनुसन्धान हुनु राम्रो होइन । आफै अनुसन्धान र कारबाही गर्ने निकायका प्रमुख नै अनुसन्धानमा तानिएपछि महाशाखाको शाख गिरेको छ ।

उक्त सुन काण्डमा भरिया सनम शाक्यको हत्या भएपछि पनि सुन बरामद् नहुनु र मुख्य तस्करलाई पनि भगाइएका कारण प्रहरीको शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गर्न डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा छानविन समिती गठन भएको थियो । डिआईजी रेग्मीले केही समयपछि अवकाश पाउने भएको हुँदा जाने बेलामा किन एसएसपीलाई फसाउनु प¥यो भन्दै आईजीपी अर्यालले दवाव दिएपछि रेग्मी समस्यामा परेको स्रोतको दावी छ ।

तर, छानविन समितिका सदस्य एसएसपी बसन्त लामा यतिखेर मोरङमा बसेर अनुसन्धान गरिरहेका छन् । स्रोतका अनुसार सुन तस्करलाई भगाउन र निर्दोषलाई फसाउन एसएसपी लोहनीले मोरङका एसपी अरुण बिसीलाई पनि प्रयोग गरेको आशंका गरिएको छ ।
तस्करीको ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका भरिया शाक्यको फागुन १८ गते उर्लाबारीमा हत्या भएको थियो ।

अपराध महाशाखा र मोरङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की, मोहन काफ्ले र झापाका लाक्पा शेर्पालाई पक्राउ गरेको थियो । तर, उनीहरु निर्दोष रहेको र गोरेको डिजाइनमा फसाइएको रहस्य बाहिर आएपछि प्रहरीको मिलेमतो रहेको खुलेको थियो ।

सुन बोकेका भरियाको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी वा प्रहरीकै संलग्नता रहेको स्पष्ट देखिन्छ ।

प्रहरी नियन्त्रणमा रहेका चार जनाले दिएको बयान र अनुसन्धानका क्रममा उक्त सुनका मालिक गोरे रहेको खुलिसकेको छ । गोरे प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।  यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

Wednesday, March 28, 2018

जनताका अधिकार सुनिश्चित गर्ने लक्ष्यमा अग्रसर छौँ : मन्त्री मगर

रौतहट । खानेपानीमन्त्री विना मगरले वर्तमान सरकार नेपाली जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यतिर अग्रसर भएको बताउनुभएको छ।
रौतहटको कटहरिया नगरपालिकामा आयोजित कटहरिया साना सहरी खानेपानी तथा सरसफाई संस्थाको शिलान्यास गर्नुहुँदै मन्त्री मगरले नेपाली जनताले वाम गठबन्धनलाई आर्थिक रुपमा समृद्ध बनाउन दुईतिहाइ मत दिएको बताउनुभएको हो।
उहाँले भन्नुभयो, 'जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत समृद्ध र आर्थिक रुपमा सक्षम नेपाल बनाउन दिएको छ। हामीले हिजो चुनावका क्रममा पेश गरेको घोषणापत्रमा नेपाललाई समृद्ध बनाउने कुरो समान हक अधिकारको कुरो सुनिश्चित गर्दै नेपाली युवाहरूलाई नेपाल फर्काउँदै सुन्दर नेपालको परिकल्पना गरिराखेका छौँ।' उहाँले भन्नुभयो, 'हामी समाजवादको लक्ष्यतिर अगाडि बढिराखेका छौँ।'
शिलान्यास कार्यक्रममा उहाँले स्वच्छ खानेपानी संविधानमा नै नेपाली जनताको मौलिक हकमा समावेश भएकाले आफूले सोही अनुसार काम गरिरहेको बताउनुभयो। 'नेपालमा अहिले स्वच्छ खानेपानी जनताको सर्वसुलभ पहुँचमा राख्नुपर्ने विषय अहिलेको संविधानमा मौलिक अधिकारका रुपमा राखिएको छ।' उहाँले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानी पुर्‍याउनका लागि मन्त्रालय दीर्घकालिन कार्ययोजनासहित काम गरिरहेको बताउनुभयो।
खानेपानी र सरसफाई नेपालको पहिचानसँग जोडिएको मन्त्री मगरको भनाइ थियो। उहाँले भन्नुभयो, 'गाउँघर नगर जिल्लाको सरसफाइलाई निकै महत्वका साथ लिइएको छ। जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको सरसफाइ राष्ट्रको मर्यदासँग जोडिएको हुन्छ।'
उहाँले थप्नुभयो, 'राष्ट्रको पहिचान सरसफाई र स्वच्छ खानेपानीसँग जोडिएको हुन्छ। राष्ट्र कस्तो छ भन्ने कुरा त्यहाँको वातावरण, समाजले इंगित गरेको हुन्छ।' उहाँले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानीको कार्यक्रम अभियानका रुपमा अगाडि बढाउने बताउनुभयो। उहाँले भन्नुभयो, 'खानेपानी मन्त्रालयको लक्ष्य भनेको नेपाली जनता, चाहे पूर्वका होउन् चाहे पश्चिमका, चाहे तराईका होउन् चाहे हिमालका होउन्, सबै जनताले स्वच्छ खानेपानी पिउने अधिकार पूर्ति हो।'
उहाँले मन्त्रालयले राष्ट्रलाई नयाँ दिशा दिने क्रममा स्वच्छ खानेपानीको आधारभूत भुमिका रहेको बताउनुभयो।  तराईका २२ ओटै जिल्लाहरूमा सरसफाइ र स्वच्छ खानेपानीको कार्यक्रम सुरु हुन गइरहेको उहाँको भनाइ थियो। त्यसैगरी हिमाली र पहाडी क्षेत्रमा पनि स्वच्छ वातावरण बनाउने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने उहाँले घोषणा गर्नुभयो। सिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु शाह लगायतको उपस्थिति रहेको थियो !