हेमन्त न्यौपाने
कुण्डा, मंसिर ०४
सव-डिभिजन वन कार्यालय कुण्डामा वैज्ञानिक वन व्यवस्थापन तालिम मंगलबार देखि सुरु भएको छ । पुनर्वास क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिको सहभागितामा पुनर्वास नगरपालिकाले तालीमको आयोजना गरेको हो । १३ वटा सामुदायिक वन उपभोक्ता समितिका उपस्थित ४२ जनालाई सव-डिभिजन वन कार्यालय कुण्डामा ३ दिने वैज्ञानिक वन व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।
कार्यक्रममा कञ्चनपुर जिल्ला वन कार्यालयको प्रमुखको रुपमा नयाँ आउनुभएका डिएफओ मोहनराज काफ्लेलाई समेत स्वागत गरिएको थियो । डिएफओ काफ्लेले वैज्ञानिक वनबारे जानकार रहन सबैमा आह्वान गर्नुभयो । उहाँले वैज्ञानिक वन व्यवस्थापनका क्रममा पुराना र बुढा रुखहरु काटिने हुँदा खडा रुख काटेर वन विनाश भएको भनी बुझ्न नहुने बताउनुभयो । उहाँले वनको दिगो व्यवस्थापन गर्न स्थानीय निकायसंग समन्वय गरेर संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस कार्यक्रम सञ्चालनमा सहयोग पुर्याएको प्रति पुनर्वास नगरपालिकालाई धन्यवाद दिनुभयो ।
सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त तथा वनले उत्पादन गर्ने वस्तुको निरन्तरताको सुनिश्चितता सहितको वन व्यवस्थापन नै वैज्ञानिक वन व्यवस्थापन हो । नेपालको कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको भए पनि राष्ट्रिय आयमा खास योगदान दिन सकेको छैन । सुदुरपश्चिममा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको ८ बर्ष भईसकेको छ । ११ लाख ४६ हजार हेक्टर वन रहेकोमा यस प्रदेशमा अहिले सम्म ७ हजार २ सय हेक्टर क्षेत्रफलमा मात्रै वैज्ञानिक वन व्यवस्थापन कार्याक्रम लागु गरिएको छ । जुन कुल बन क्षेत्रको शुन्य दशमल ६३ प्रतिशत मात्रै हुन आउछ । वैज्ञानिक वन व्यवस्थापन लागु भएको ७ हजार २ सय मध्ये ५ हजार ४ सय ७१ हेक्टर क्षेत्रफल कैलालीको मात्रै हो । कञ्चनपुर लगायत अन्य जिल्लाहरुमा यसको व्यवस्थापन अझै हुन सकेको छैन ।
सव-डिभिजन वन कार्यालय कुण्डाका प्रमुख सहायक वन अधिकृत देनेश यादवले वैज्ञानिक वन व्यवस्थापनले वातावरणिय संरक्षण, जलवायु परिवर्तन लगायतमा महत्त्वपूर्ण टेवा पुर्याउने बताउनुभयो । बुढा भएका रुखहरुको प्रतिस्थापन गरेर वनलाई संरक्षण गर्नु तथा सम्पदाको दिगो व्यवस्थापन गरी सर्वसाधारण जनता र वन पैदावारमा आधारित उद्योग तथा व्यवसायको लागि समेत आवश्यक पर्ने वन पैदावारहरूको नियमित आपूर्ति व्यवस्था मिलाउन, जडीवुटी लगायत अन्य वन पैदावारहरूको आर्थिक रूपमा प्रतिस्पर्धा एवम् आधुनिक खेती विकास तथा बिस्तार गरी स्थानीय रोजगारी एवम् आय आर्जनका अवसरहरू सृजना गर्ने सकिने बताउनुभयो । नगरप्रमुख जीवनराज थापाले वनका कार्यक्रमलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापा, उपप्रमुख शारदा शर्मा बिष्ट, वडा अध्यक्ष नारायण जैशी, नगरपालिका प्रवक्ता भारमल सुनार, स्थानीय सरोकारवालाहरु तथा पत्रकारहरुको उपस्थितिमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सञ्चालन ईलाका वन कार्यालय त्रिभुवनबस्तीका प्रमुख रेशम लाल शर्माले सञ्चालन गर्नुभएको थियो ।
वैज्ञानिक वन व्यवस्थापनको महत्त्व
तीन चार दशकअगाडि प्रचलनमा रहेको ‘हरियो वन, नेपालको धन' आह्वान आजकल असान्दर्भिक जस्तै बन्दै गएको छ । नेपालबाट विदेश निर्यातसमेत हुने गरेको काष्ठजन्य पदार्थ हाल प्रतिवर्ष ४० अर्बभन्दा बढीको मलेसिया, भियतनाम, इन्डोनेसियालगायतका देशबाट आयात भइरहेको तथ्यांक छ । अर्कोतिर हाम्रो आफ्नै देशमा उत्पादन भइरहेको काष्ठजन्य वनसम्पदा डँढेलोमा जल्ने, धोद्रो हुने र सडेर गल्ने गरेको छ । अझै निर्यात गर्न सक्ने सामथ्र्य हुँदाहुँदै हाम्रै व्यवस्थापनको कमजोरीका कारणले विदेशी मुद्रा खर्चेर पैठारी गर्नुपर्ने स्थितिमा हामी रहेका छौँ ।
सालको वन आफैं रिजेनेरेट हुने भएकोले बिरुवा रोप्ने, गोडमेल गर्ने, हेरचाह गर्ने झन्झट हुँदैन । राज्यको दिगो आयस्रोतको बाटो बन्न सक्छ । पात, बोक्रा र बीउ कुहिएर माटो क्रमशः मलिलो भई पानी थाम्न सक्ने क्षमता वृद्धि हुन्छ । खोलानाला, खोल्सी, नदीमा पानीको वहाव बढ्न गई तल्लो क्षेत्रको भूभाग मलिलो, रसिलो हुनाले उत्पादकत्वमा वृद्धि हुन जान्छ । वर्षा र सालको बीचमा अन्योन्यास्रित सम्बन्ध छ । वर्षात् बढी हुने क्षेत्रमा सालको वृद्धि चाँडो हुन्छ भने यसको घना वन क्षेत्र रहेको स्थानमा जलवाष्प चिस्याउने क्षमता बढी हुने भएकाले वर्षात् पनि ज्यादा हुन्छ । सालको पातमा पोषक तत्व बढी हुने भएकोले सूक्ष्म जीवाणु, चराचुरुंगीलगायत अन्य जीवहरूको गतिविधि बढ्न गई इकोसिस्टममा अनुकूल प्रभाव पर्दछ । साल वनले प्रतिवर्ष प्रतिहेक्टर १० टन कार्वन सञ्चिति गर्न मद्दत पुर्याउँछ । अरू वनले सञ्चित गर्ने मात्रा भन्दा ज्यादा हो । बुढा रुखहरुले कार्वन सञ्चितीकरण पनि गर्न नसक्ने भएकाले ति रुखहरु आम्दानी गर्दै नयाँ रुखहरु हुर्काउने नीति अनुरुप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएको हो ।
वातावरणीय तथा आम्दानीका हिसाबले अत्यन्तै बहुउपयोगी सालको वैज्ञानिक तरिकाले चाँडो व्यवस्थापन गर्नु जरुरी भइसकेको छ । वनमा लडेका, बुढो भई मरेका तथा उमेर पुगेका रूखलाई चाँडो आधुनिक उपकरणको प्रयोग गरी निकाल्नु पर्दछ । लगभग ६०-७० वर्षभन्दा बढी उमेरको भएपछि भित्री भागबाट प्वाल पस्न सुरु हुनुका साथै वृद्धि पनि खासै नहुने भएकोले तिनीहरूलाई अनिवार्य रूपमा निकाल्नु पर्दछ । लामो समयसम्म साल नकुहिने भएकोले नयाँ बिरुवाको विकासमा प्रतिकूल असर गर्नुका साथै आफैं लड्ने सालको रूखले अरू धेरै बिरुवालाई समेत असर पुर्याउन सक्छ । बाढी, पहिरो र भूक्षयका साथै तराईलाई मरुभूमीकरण हुनबाट जोगाउन चुरे क्षेत्रमा यसको विशेष संरक्षण योजना कार्यान्वयनमा ल्याउनु जरुरी भइसकेको छ । सोही उद्देश्यलाई लक्षित गर्दै आएको राष्ट्रपति चुरे संरक्षण परियोजनाले पनि आशातीत सफलता हासिल गर्न सकेको छैन ।
वनको संरक्षण र व्यवस्थापनमा जनताको प्रत्यक्ष सहभागिता तथा निजी क्षेत्रको संलग्नता हुनु जरुरी छ । अरू बिरुवाभन्दा ढिलो बढ्ने भए पनि उत्पादकत्वका हिसाबले साल अत्यन्तै फाइदाजनक मानिन्छ । एक बिरुवादेखि अर्को बिरुवाको दूरी कम भए पनि वृद्धि हुन सक्ने, जति बाक्लो भयो त्यति नै सुरिलो भएर जाने हुनाले थोरै जमिनमा धेरै बिरुवा अट्ने र बढ्न सक्ने हुन्छ । एक बिरुवादेखि अर्को बिरुवाको दूरी १० फिटमा रोप्ने हो भने प्रतिबिघा कम्तीमा एक हजार बिरुवासम्म अट्न सक्छ । करिब ५० वर्षमा वयस्क हुँदा आजको मूल्यमा कम्तीमा ५० हजार रुपैयाँको मूल्यमा बिक्री हुन सक्छ । प्रतिवर्ष प्रतिबिघा जमिनको उत्पादकत्व १० लाख रुपैयाँसम्म हुनसक्छ । तुलनात्मक रूपमा यो अरू खेतीभन्दा ज्यादै लाभदायक देखिन्छ । यस किसिमका बिरुवा लगाउन आम नागरिक तथा निजी क्षेत्रलाई समेत आकर्षित गर्नुपर्दछ र दिगो व्यावसायिक खेतीको रूपमा विकसित गर्नुपर्दछ ।