Tuesday, August 22, 2023

पुनर्वासको भागेश्वर चिनी मिलको लापरवाहीका कारण सयौ विगाह धानखेती नष्ट


 कञ्चनपुर/पुनर्वासको भागेश्वर चिनी मिलको लापरवाहीका कारण सयौ विगाह धानखेती नष्ट भएको छ । उद्योगको लापरवाहीले पुनर्वास नगरपालिका २, ५, ६ र ७ क्षेत्रका झण्डै दुईसय विगाह जमिनमा लगाईएको धान खेती नष्ट भएको हो ।  सिमरीखोला वारीपारी नजिक रहेको खेतको धानखेती नष्ट भएपछि स्थानीय किसान मर्कामा परेका छन । सबैभन्दा बढि ५ नम्बर वडामा क्षति गरेको स्थानीयले बताएका छन । 
   स्थानीय किसानले उद्योगको लार्पबाहीले गत असारमा लगाए र असोजमा फल्ने धानको जरैदेखि सखाप भएको बताएका छन । दैनिक जिवन चलाउने धानखेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि विचल्ली भएको छ । 
 चिनी मिलले केमिकलयुक्त फोहोरपानी सिमरी नालामा बगाईदिएपछि धानखेती पूर्ण नष्ट भएको किसानले बताएका छन । पुनर्वास नगरपालिका ५ सिमरीका स्थानीय किसान राजु चौधरीले चिनिमिलले केमिकलयुक्त फोहोरपानी नालामा बगाईदिएपछि धानखेती नष्ट भएको बताए ।

‘चिनिमिलले आफ्नो उद्योगबाट निस्किने फोहोरपानी नालामा बगाईदिन्छ, ‘उनले भने, ‘धान खेतीका साथै मानिसलाई छाला सम्बन्धीत रोग लागिरहेको छ ।’

अर्का स्थानीय रामेश्वर रानाले उद्योगको चरम लापरवाहीले धानखेती सहित अन्य अन्नबाली समेत सखाप भईरहेको बताए । ‘हरेक वर्ष चिनीमिलले उद्योगबाट निस्किएको फोहोरपानी उतिकै छाडिदिन्छ, ‘उनले भने, ‘यसले अन्नबालीदेखि खेतकै उर्वरा शक्तिमा ह्रास ल्याईरहेको छ ।’ अर्की स्थानीय सावित्री चौधरीले उद्योगले फोहोरपानी बेलाबेलामा बगाउँदा धानखेती नष्ट भएको बताईन । ‘यस बारेमा पटक पटक स्थानीय सरकारलाई जानकारी गराउँदा पनि हाम्रो समस्याको कुनै सुनुवाई भएन ।’

पुनर्वास नगरपालिका ७ का वडाध्यक्ष मुलचन्द रानाले उद्योगकै लापर्वाहीले किसान मारमा परेको बताए । ‘पटक पटक गैरकानूनी रुपमा उद्योगको फोहोरपानी नालामा नबगाउन हामीले आग्रह गछौँ, मान्दै मान्दैन‘वडाध्यक्ष रानाले भने, ‘अब पालिकाले कानुनी रुपमै एक्सनमा जानुपर्छ ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झण्डै ५०/६० किसानको २ सय विगाह हाराहारीको जमिनको धानखेती नष्ट भएको बताए । ‘हामीले गत २१साउनमा प्राविधिक टोली सहित अध्ययन पनि गरेका छौँ, ‘उनले भने, ‘त्यहाँबाट धान र माटोको नमुना ल्याए, के कारणले धानखेती नष्ट भएको बारे परीक्षणका लागि ल्याबमा पठाएका छौँ ।’
हरेक बर्ष दोदामा आउने वाढीले धानका ठुलो क्षति नगरेपनि यस बर्ष पनि दोदामा वाढी आएको र त्यहीसंगै उद्योगले नालामा फोहोरपानी बगाएकै कारण धान खेती नष्ट भएको किसानको जनगुनासो अनुरुप कृषि कार्यालयबाट स्थलगत अनुगमन गर्दै कारण पत्ता लगाउने काममा जुटेको बताए । 

भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालिले केमिकलयुक्त फोहोरपानी नालामा नबगाएको जनाएको छ । भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालिका मेकानिकल ईन्जिनियर पदमराज पाण्डेले उद्योगले केमिकलयुक्त फोहोरपानी नबगाएको बताए । ‘हाम्रो उद्योगबाट निस्किएको फोहोरपानी यतै व्यवस्थापन हुन्छ, ‘उनले भने, ‘सीमरी खोलामा पुल निर्माण कार्यले लामो समय पानी थुनिएकाले गन्ध आएको र धानखेती नष्ट भएको होला, अहिले मिल बन्द छ, फोहोरपानी आउने कुरै भएन ।’ उद्योग संचालका बेला फोहोरपानी सानै खोलामा जाने उनले स्वीकार गरेका छन । यसरी फोहोरपानी तथा बस्तु पनि वातावरणीय हिसाबले नदीखोला, नालामा बगाउनु वातावरण संरक्षण ऐन विरुद्धको कार्य हुनजान्छ ।

Tuesday, August 8, 2023

दोदा नदिमा पानीको बहाव बढेसंगै हुलाकी राजमार्ग प्रयोग गर्न सकस


कञ्चनपुर, २३ साउन ।
पुनर्वासमा दोदा नदिमा पानीको बहाव बढेसंगै हुलाकी राजमार्ग प्रयोग गर्न सकस भएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताहरुलाई प्रदेश राजधानी धनगढी पुग्न निकै कठिनाइ भएको छ । गत राति देखि नै पानीको सतह बढन थालेपछि आपतकालीन साइरन बजाएर तटिय क्षेत्र वरपरका बासिन्दाहरुलाई सचेत गराईएको थियोे । 
सोमबार मध्यरातमा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा र पुनर्वास ५ का वडाध्यक्ष पदम रोकाया बाढि प्रभावित क्षेत्रमा पुगेका थिए । बाढी प्रभावित क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त क्षेत्रको बासिन्दालाई सचेत गराईएको थियोे । त्यसैगरी मंगलबार सुदुरपश्चिम प्रदेस सभा सदस्य माननिय वीरबहादुर थापाले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।
 अवलोकनका क्रममा सञ्चारकर्मीहरुसंग बोल्दै माननीय थापाले  यस समस्याको दीर्घकालीन समाधानका लागि आफुले प्रयास गरिरहेको बताए ।