Monday, January 29, 2024

कञ्चनपुर उच्च जोखिममा,४६ जनामा सिकलसेल एनिमिया पाइयो

कञ्चनपुर/ कञ्चनपुर  सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ।
रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ।
स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये १९९ मा वाहक (ट्रेट) देखा परेको थियो। 

‘बाहक (ट्रेट) देखापरेका १९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ,’ भट्टले भने, ‘त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ।’

उनका अनुसार वाहक देखिएका १९९ मध्ये २२ जना महिला र २४ जना पुरुषमा सिकलसेल एनिमिया रोग देखिएको हो। उनले वाहक (ट्रेट) देखा परेका महिला तथा पुरुषले विवाह गर्दा रगत परीक्षण गरेर मात्रै गर्नुपर्ने बताए।

‘बाहक (ट्रेट) देखा परेका महिला र पुरुषले विवाह गरे उहाँहरुबाट जन्मिने व्यक्ति पनि रोगी जन्मन्छ,’ उनले भने, ‘त्यसैले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गरेर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ।’

हेमोग्लोबिनसँग सम्बन्धित खराबीका कारणले हुने समस्या विश्वमा ५ प्रतिशतभन्दा बढी भएको तथ्यांक छ। तीमध्ये सबैभन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया हो।

नेपालमा पनि खासगरी चौधरी थारु समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

केही समयअघि स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइग्स ट्रेट रहेको पाइएको उनले बताए।

नेपालका चौधरी थारु समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था अझ भयावह हुनसक्ने भएकाले कञ्चनपुरका चौधरी थारु समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानका लागि स्वास्थ्य कार्यालयले रगत परीक्षण गरेको जनाएको छ।

‘सिकलसेल एनिमिया र थालेसिमिया व्यक्तिको जिनसम्बन्धी खराबीका कारणले हुन्छ, रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ,‘ भट्टले भने, ‘केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चा सिकलसेल रोग भएर जन्मने गर्छन्।’ 

ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए।

सिकलसेल भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखा पर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखा पर्छन्।


 

Wednesday, January 24, 2024

२३ औँ सशस्त्र प्रहरी दिवस,उत्कृष्ट काम गर्ने कञ्चनपुरका सशस्त्र प्रहरी पुरस्कृत


लाल बहादुर एस के 
कञ्चनपुर, १० माघ 
२३औँ सशस्त्र प्रहरी दिवसको अवसरमा कञ्चनपुरका उत्कृष्ठ काम गर्ने सशस्त्र प्रहरीलाई पुरस्कृत गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरीले उत्कृष्ठ काम गर्ने चौबिस सशस्त्र प्रहरी अधिकृत एव जवानलाई पुरस्कृत गरेको हो । 
मंगलबार सशस्त्र प्रहरीको शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जिल्लाभरीका विभिन्न यूनिटमा रहेर उत्कृष्ठ काम गर्ने सशस्त्र प्रहरी अधिकृतदेखि जवानसम्म पुरस्कृत गरिएको बताए । 
सशस्त्र प्रहरी बल शैलेश्वरी गणका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरी दत्त भट्ट, पुरन प्रशाद न्यौपाने, सुदन आचार्य, दिपक बहादुर कुँवर, भारत बहादुर कुँवरलाई सम्मान गरिएको छ । 
सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) सुदन आचार्यलाई शैलेश्वरी गण र बैद्यनाथ बाहनी प्रदेशले समेत सम्मान पुरस्कुत गरेको छ । 
प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज समेत रहेका सशस्त्र प्रहरीका डिएसपी आचार्यलाई सीमा चोरी तस्करी नियन्त्रण गर्दै राजस्व जुहावट नियन्त्रणमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । 
सशस्त्र प्रहरीका डिएसपी आचार्यलाई मुख्यमन्त्री कमल बहादुर शाह र सशस्त्र प्रहरी बल सुप प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) कुमार न्यौपानेले सम्मान एव पुरस्कार हस्तान्तरण गरेका थिए । 
सशस्त्र प्रहरी बरिष्ठ नायक निरीक्षक टेक बहादुर सिह, सशस्त्र प्रहरी सहायक निरीक्षक नवराज भट्ट, सशस्त्र प्रहरी बरिष्ठ हबल्दार महेश बहादुर सिह, डम्बर बहादुर महरा, दिपक बोहारा, प्रमानन्द नाथ, सशस्त्र प्रहरी हवल्दार नरेन्द्र सिह कार्की, शम्भेर धानुक, लाल ब. ऐर, दल ब. विष्ट, रामसिह विष्ट, जयन्त बहादुर चन्द, महामल सिह घटाल, सशस्त्र प्रहरी सहायक हबल्दार सञ्जु प्रशाद उपाध्याय, शंकर सिह धामी, गोपाल राई, सशस्त्र प्रहरी जवान उर्मिला देउवा, जानु ओली र खजनराम दमाईलाई प्रमाण पत्रका साथै पुरस्कृत गरिएको छ । सशस्त्र प्रहरी शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले कार्य सम्पादनमा थप उत्साहका लागि सम्मान एव पुरस्कृत गरिएको बताए । यसका साथै सशस्त्र प्रहरीका अमर परिवारलाई समेत सम्मान गरिएको छ । यस्तै दिवसको अवसरमा आयोजित विवित खेलकुद प्रतियोगितामा प्रथम हुने सशस्त्र प्रहरी अधिकृत एव जवानलाई समेत पुरस्कृत गरिएको छ । 
शैलेश्वरी गणका गणपति समेत रहेका सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावल, सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार पाण्डेय ब्याडमिन्टन डबल, सशस्त्र प्रहरी बरिष्ठ हबल्दार राजु सिह कुँवर, सप्रह हेमराज उपाध्याय, सप्रबह राम सिह ऐर टिटी सिङ्गल, सप्रज हरि प्रशाद ओझा २माईल दौड र सप्रज तारा जोशी सयमिटर दौड महिला तर्फ पुरस्कृत गरिएको छ । 
कार्यक्रममा कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सशस्त्र प्रहरीको कामकर्तव्यको प्रसंसा गर्दै भावि दिनमा थप काम गर्न निर्देशन दिएका छन । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले देशको परिस्थिित र सशस्त्र प्रहरीको भूमिका फेरिएकाले आगामी दिनमा थप प्रभावकारी कार्य सम्पादनमा जोडदिएका छन ।

Monday, January 22, 2024

चिसो बढेपछि पुनर्वासका विद्यालयहरु थप दुई दिन विदा

कञ्चनपुर, ८ माघ 
चिसो बढेपछि पुनर्वासका विद्यालयहरु थप दुई दिन विदा हुने भएको छ ।
सोमबार सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, ट्रेड युनियन र संस्थागत विद्यालय प्याब्सनका पदाधिकारीहरुको संयुक्त बैठक बसी सो निर्णय गरेको हो ।
बैठकको निर्णयानुसार मिति २०८०।१०।०९ र १० गते पुनर्वास  नगरपालिका अन्तरगत सञ्चालित सम्पुर्ण विद्यालयहरुले अनिवार्य रुपमा विद्यालय बिदा गर्ने गरी जाडो बिदा थप गरिएको  उल्लेख गरिएको छ ।
सूचनामा अत्यधिक चिसो तथा शीतलहरका कारणले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै नियमित पठनपाठन कार्य प्रभावित हुने देखिएकाले विदा गरिएको जनाईएको छ ।
यस अघि नै छिमेकी पालिकाहरु बेलौरी र बेलडाँडीले पनि जाडो विदा थप गरीसकेका छ्न ।