Wednesday, October 30, 2024

आज कागतिहार मनाईदै

कञ्चनपुर, १४ कार्तिक ।
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ ।
    बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
  कागलाई सन्देशवाहकका रुपमा लिइन्छ ।काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गर्ने गरिन्छ। यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिई काग तिहार मनाउने गरिन्छ। कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ। त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।
यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । त्यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको पूजा गरिन्छ ।
यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो । 

Friday, October 25, 2024

कञ्चनपुरको लालझाडीमा एक दम्पतीको हत्या, आँगनमै भेटियो शव


कञ्चनपुर, ०९ कार्तिक ।
 लालझाडीमा एक दम्पतीको हत्या भएको छ ।  लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उहाँकि पत्नी ४३ वर्षीया कमला वडायकको हत्या गरिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिनुभयो । शुक्रबार बिहान राना दम्पतीको शव आगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Monday, October 7, 2024

बेलौरीमा नगरपालिका स्तरकै सर्वाधिक धनराशिको वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता हुदै

 
-किशोर तामाङ 
कञ्चनपुर,२१ असोज २०८१
कञ्चनपुरको बेलौरीमा वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
बेलौरी नगरपालिका  वडा नम्बर १ र २ को संयुक्त आयोजनामा  बेलैरीकै सर्वाधिक धनराशि रहेको वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता यही कार्तिक ५ गते देखी उद्घाटन समारोह बिच शुरू हुने आयोजकले जनाएको छ।

खेलकुदको स्तर उन्नति र खेलाडी उत्पादनका लागि क्लबले विगतमा धेरै फुटबल प्रतियोगिता संचालन गरि सकेको र  यसपटक 
बेलौरी नगरपालिका वडा नम्बर २ स्थित गोकलपुरमा रहेको खुला मञ्च सञ्चालन हुने वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगितामा  विजेतालाई नगद २ लाख २२हजार २सय २२ रूपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र र उपविजेतालाई १लाख‌ ६१ हजार १ सय ११ रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिने बेलौरी नगरपालिका वडा नम्बर १ खेलकुद विकास समिति सचिव पन्तले जानकारी दिए । 

यस्तै, विधागत पुरस्कारमा उत्कृष्ट  खेलाडीलाई नगद रु ५ हजार,सर्वाधिक गोलकर्तालाई नगद रु ३ हजार ५ सय,बेस्ट डिफेन्डर रु ३ हजार ५ सय,उत्कृष्ट गोलरक्षकलाई नगद ३ हजार ५ सय,रेसिङ खेलाडीलाई नगद रू ३ हजार ५ सय,म्यान अफ द म्याच रु १ हजार १ सय पुरस्कार राखिएको आयोजक समिति सचिव  पन्तले बताए।

गोकलपुर बजार को खुल्ला मन्चमा आयोजना हुने यस सयुक्त वडा अध्यक्ष खुल्ला फुटबल प्रतियोगितामा यस प्रतियोगिता संचालनका लागि बेलौरी नगरपालिका वडा नं १ र २ को सिलिङ बजेटबाट ३ लाख रुपैयाँ छुट्याइएको छ भने अन्य रकम सहयोगी दाताबाट उठाइने सचिव पन्तले जानकारी दिए । उनका अनुसार यस फुटबल प्रतियोगितामा कुल अनुमानित लागत खर्च ८ लाख २० हजार गरिएको बताइएको छ।

खेलकुद प्रतियोगितामा सहभागिता जनाउनका लागि इन्ट्री शुल्क ११ हजार रुपैयाँ निर्धारण गरिएको छ ।  खेलमा सहभागि हुनका लागि कार्तिक ३ गतेसम्म टीम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ। यसैबीच निर्धारित समय अवधि भित्र दर्ता भएका टिमको टाइसिट प्रकाशन पत्रकार सम्मेलन मार्फत कार्तिक ४ गते सार्बजनिक गरिने आयोजकले जनाएकाे छ। प्रतियोगिताका सम्पुर्ण खेलहरू खेल कुञ्ज युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण गरी स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण खेलप्रेमी दर्शक माझ देखाउने ब्यवस्था मिलाएको सचिव पन्तले बताए।