Wednesday, May 7, 2025

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रस्तुत गर्न सांसद तारालामा तामाङको आग्रह

काठमाडौं, बैशाख २४ – प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद तारालामा तामाङले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गर्नुभएको छ।

सांसद तामाङका अनुसार उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित संसद सचिवालयमा पेश भइसकेको छ। हिउँदे अधिवेशनको अन्तिम दिन र चालु अधिवेशनको बैशाख १५ गतेको सम्भावित कार्यसूचीअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विधेयक प्रस्तुत गर्ने तयारी भइसकेको भए पनि विद्यालय शिक्षक–कर्मचारीसँगको वार्ताका कारण प्रस्तुत हुन नसकेको उल्लेख गर्नुभयो।

"सुदूरपश्चिमवासीको भावना र चासोलाई ध्यानमा राख्दै उक्त विधेयकलाई यही अधिवेशनमा छलफलका लागि टेबुल गरिनुपर्छ," सांसद तामाङले भन्नुभयो।

त्यसैगरी, उहाँले कञ्चनपुर जिल्लाको दुई फरक घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण गराउनु भयो। बैशाख ९ गते बेल्डाडी गाउँपालिका–३, कमरीका हरिकिशन रानाको बेलौरी नगरपालिका–१० स्थित सडक छेउमा मोटरसाइकलसहित जलाइएको अवस्थामा हत्या भएको घटना र बैशाख १७ गते लालझाडी गाउँपालिका–४, जाईं मोटरघाटमा भएको शंकास्पद मृत्युको विषयमा सांसद तामाङले गहिरो अनुसन्धानको माग गर्नुभएको छ।

"यी दुबै घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकारले निष्पक्ष र सूक्ष्म अनुसन्धान गर्नुपर्छ," उहाँको जोड थियो।

शौचालयमा लडेर घाइते भए प्रचण्ड, टाउकोमा टाँका

काठमाडौं/२४ बैशाख ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति बाथरुम प्रयोग गर्ने क्रममा लड्दा उनको टाउको र निधारमा चोट लागेको हो।

घटनापछि उनलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार घाउमा टाँका लगाइएको छ। हाल उनको अवस्था सामान्य रहेको बताइएको छ।

Sunday, May 4, 2025

चट्याङ लाग्दा महिलाको मृत्यु, श्रीमान् घाइते

कञ्चनपुर, २१ वैशाख ।
 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर  एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार शनिबार बिहान घर नजिकैको तरकारी बारीबाट तरकारी लिएर फर्किँदै गर्दा २४ वर्षीया लालमती रानामाथि चट्याङ खसेको हो। चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएकी लालमतीका श्रीमान् २८ वर्षीय रतन सिंह रानालाई उपचारका लागि निसर्ग अस्पताल, धनगढी लगिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Friday, May 2, 2025

बेलौरीमा मिनी कभर्ड हल निर्माण सुरु, सांसद बिष्टद्वारा शिलान्यास

कञ्चनपुर/ बैशाख १९
कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित खुलामञ्चमा निर्माण हुन लागेको मिनी कभर्ड हलको बिहीबार औपचारिक शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रम सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रारम्भिक चरणमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बहादुर चन्दका अनुसार हाल ६५ बाई ७५ फिट साइजको डीपीसी (DPC) निर्माण कार्य सुरु हुनेछ। विस्तृत परियोजना प्रतिवेदन (DPR) अनुसार यो कभर्ड हलको कुल लागत करीब १ करोड ३७ लाख रुपैयाँ रहनेछ।
सांसद बिष्टले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले खेलकुद पूर्वाधारको विकासमार्फत युवामा सकारात्मक ऊर्जा विकास गर्न सकिने विश्वास व्यक्त गरे।

बेलौरी नगरलाई खेलकुदमैत्री शहर बनाउने लक्ष्यसहित सुरु गरिएको यो परियोजनाबाट स्थानीय युवाहरूमा खेलप्रतिको अभिरुचि बढ्ने अपेक्षा गरिएको छ।
बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठले कभर्ड हल निर्माणको पहलमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्दै यसले नगरको खेल क्षेत्रमा नयाँ सम्भावना खोल्ने बताए।
निर्माणको नेतृत्व उपभोक्ता समितिले गरिरहेको छ, जसमा अध्यक्ष राजेन्द्र बहादुर चन्द, उपाध्यक्ष वसन्त पुन मगर, सचिव रजनिश भण्डारी, कोषाध्यक्ष भगवती श्रेष्ठ तथा सदस्यहरू शिशिर चापागाई, भगवती जोशी र राधा बिष्ट रहेका छन्।
निर्माण कार्यको प्रभावकारी अनुगमन गर्न वडा अध्यक्ष अर्जुन ढकाल, अशोक श्रेष्ठ र दिनेश कुँवर सम्मिलित समिति गठन गरिएको छ। यस्तै, सहजकर्ताको भूमिकामा महेन्द्र सिंह बुडाल, दिलीप चन्द र हिमाल श्रेष्ठ रहेका छन्।
स्थानीय तह, जनप्रतिनिधि र समुदायको समन्वयमा अगाडि बढेको यो परियोजना सम्पन्न भएपछि बेलौरीमा इनडोर खेलकुद गतिविधि सञ्चालनमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको छ।


Thursday, May 1, 2025

ओडिसाको केआईआईटीमा फेरी नेपाली छात्रा मृत फेला



काठमाडौं/ १८ बैशाख 

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। वीरगञ्जकी प्रिशा शाह बिहीबार साँझ कलेजको छात्रावासमा मृत फेला परेकी हुन्।

भुवनेश्वर-कटक प्रहरी आयुक्त एस. देव दत्ता सिंहका अनुसार उक्त छात्राको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो।

भुवनेश्वरस्थित ओटीभीका एक पत्रकारका अनुसार बिहीबार साँझ छात्रावासमै एक विद्यार्थी मृत अवस्थामा फेला परेपछि पुनः कलेजप्रति प्रश्न उठेका छन्।

यसअघि, गत फागुन ४ गते पनि सोही कलेजमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन्। उनले आफू मानसिक रुपमा दुर्व्यवहार र ब्ल्याकमेलको शिकार भएको भन्दै दुईपटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। तर, गम्भीरताका साथ नलिएको प्रशासनिक उदासीनताले उनलाई आत्महत्या गर्न बाध्य बनाएको बताइएको थियो।

प्रकृतिको घटनापछि न्यायको माग गर्दै नेपाली विद्यार्थीहरूले क्याम्पसमा विरोध प्रदर्शन गरेका थिए। तर, कलेज प्रशासनले त्यसलाई दमन गर्दै सुरक्षा गार्डमार्फत विद्यार्थीमाथि कुटपिट गराएको थियो। साथै, धेरै विद्यार्थीहरूलाई होस्टल छाड्न निर्देशन दिइएको थियो, जसले गर्दा कलेजमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

रास्वपा पुनर्वासद्वारा मजदुर दिवस तथा दोस्रो वार्षिकोत्सव विशेष कार्यक्रम गरी सम्पन्न

पुनर्वास, वैशाख १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्वासले आज मे १ अर्थात् विश्व मजदुर दिवस तथा पार्टीको दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

पुनर्वासस्थित प्यारातालमा आयोजित कार्यक्रममा प्रशिक्षणात्मक अन्तरक्रिया सहित वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा कल्पवृक्षको बोट रोपिएको थियो, जसलाई दीर्घायु, समर्पण र राष्ट्रसेवाको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले रास्वपाले राष्ट्र र जनताको सेवामा समर्पित भएर युगौँ युगसम्म जीवित रहोस् भन्ने शुभकामना व्यक्त गरे। वृक्षारोपणको माध्यमबाट वातावरणीय सन्देशसँगै पार्टीको दीर्घकालीन प्रतिबद्धता समेत झल्काउने प्रयास गरिएको आयोजकले जानकारी दिएका छन ।

Tuesday, April 29, 2025

नेपाल शिक्षक महासंघ र सरकारबीच निर्णायक वार्ता सुरु


 काठमाडौं/१६ बैशाख ।
  शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ ।
शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् ।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका हुन् ।

जनतासंग माओवादी कार्यक्रम अन्तरगत प्रचण्ड आज र भोली कञ्चनपुरमा

कञ्चनपुर, १६ बैशाख
जनतासंग माओवादी कार्यक्रम अन्तरगत प्रचण्ड आज र भोली कञ्चनपुरमा रहने कार्यक्रम रहको छ ।
सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले "जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान" अन्तर्गत सुदूरपश्चिम प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको हो । कैलालीको टीकापुरदेखि शुरु गरिएको अभियान धनगढीसम्म विविध कार्यक्रम गरेर आज(मंगलबार)साँझ डोकेबजार हुदै कञ्चनपुर प्रवेस गर्ने माओवादी केन्द्रले जनाएको छ ।
मंगलबार साँझ ५ बजे डोकेबजारमा पार्टि अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गर्ने कार्यक्रम तय भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पुनर्वासका अध्यक्ष कञ्चन गीरीले जानकारी दिनुभयो । ५ः१५ बजे डोकेबजार स्थित बौद्ध गुम्बाको अवलोकन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । त्यसपश्चात साँझ ६ बजे पुनर्वास नगरपालिकाको आयोजनामा स्वागत कार्यक्रम रहेको जानकारी दिदै ७ बजे आइबिआरडी बजारमा रहेको शहिद स्मारक पुग्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रम संगै पुनर्वास २ मा उहाँको रात्रि बसाइ हुने छ । बुधबार भोलीपल्ट बिहान ५ बजे देखी प्रचण्डसंगको मर्नीङवाक कार्यक्रम तय भएको गिरीले जानकारी दिनुभयो । मर्नीङवाक सकेपछी पुनः पुनर्वास २ मा रहेको शहिद भवनमा द्वन्दकालीन शहिद परिवार, बेपत्ता परिवार र घाइतेका परिवारहरुसंग भेटघाट र सम्मान गर्ने कार्यतालीका रहेको छ ।
त्यसपछि बेलौरीको रामनगर खानेपानी उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल अवलोकन, बेलडाँडीमा स्वागत भेटघाट, वेदकोटमा स्वागत भेटघाट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोकमा सभा गरेर अभियानको समापन गरिने छ ।
सुदूर तराईका जिल्ला कैलाली कञ्चनपुरमा माओवादी केन्द्रका अध्यक्ष सहितका शिर्ष नेता अभियान समापनका लागि आउने भएपछि नेता कार्यकर्ताहरु खटिएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पार्टीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई लिएको जिम्मेवारी अनुरुप खटिएको बताए ।
‘पार्टीले संचालन गरेको अभियान हामीले पनि हाम्रो जिल्लामा सफल गर्नका लागि खटिएका छौँ, ‘उनले भने, ‘चरण चरणमा बैठकदेखि जिम्मेवारी लिए अनुरुप सबै नेता कार्यकर्ता खटिएका छौँ ।’ पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वमै हुने अभियान सफल पार्नका लागि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल सहितका दुुवै जिल्ला सहित प्रदेशकै नेता कार्यकर्ताहरु खटिएका छन ।
  अभियानले पार्टी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेवार युद्धस्तरमा निर्वाह गरिरहेका छन । हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेपछि मध्यपहाडी मार्गमा समेत संचालन गरिनेछ ।



 

Saturday, April 26, 2025

सरकार र शिक्षकबीच भएको वार्तामा कुनै निष्कर्ष निस्केन

काठमाडौं/१३ बैशाख ।
आज सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता कुनै निष्कर्ष विना सकिएको  छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट नवनियुक्त  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा पदाधिकारी र आन्दोलन शिक्षकहरू सहभागी थिए। 
बैठकपश्चात अध्यक्ष सुवेदीले पुन: छलफल र वार्ता गर्ने सहमति भएको बताए। उनले वार्ता र आन्दोलन सँगसँगै जाने बताए।
सुवेदीले भने, ‘अहिले नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ। आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुको बारेमा शिक्षा मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफल र संवादलाई निरन्तरता दिने निर्णय भयो।’ दुई पक्षीय सहमतिमा फेरि बैठक बस्छ।’  उनले अब बैठक कहिले बस्छ भन्ने टुंगो लाग्न बाँकी रहेको बताए।
यसैगरी विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारीले सरकारले वार्तामा बोलाएकाले आज मन्त्रालयमा छलफल गर्न आएको बताए। उनले सम्झौता यस अगाडि पनि गरेकाले सरकारसँग सम्झौता नहुने शिक्षा ऐनकै माग गरिएको बताए। उनले विद्यालय शिक्षा विधेयक संसद्मा आएपछि मात्र के गर्ने सोच्ने उल्लेख गरे। उनले भने, ‘शिक्षक र कर्मचारीको सेवा सुविधाका लागि मात्र होइन। शिक्षा सुधारका लागि ऐनको माग गर्दै आन्दोलन जारी राखेका हौं। केहि समयमा निकास दिनेछौं। निकास दिने निकाय शिक्षा मन्त्रालय र सरकार हो।’
सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका हुन्। शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए। संसद् भवन परिसरमा मन्त्री पन्तले भने, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ। शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’ मन्त्री पन्तको भनाईसँगै आज बिहान उनीहरु छलफलमा गएका हुन्।
शिक्षकहरुले सरकारसमक्ष आफूहरूले जायज माग राखेकाले सबै माग पूरा हुनुपर्ने अडान राखेका छन्।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौंमा आन्दोलनमा रहेका छन्। 

Friday, April 25, 2025

सरकार र शिक्षक महासंघ बीच वार्ता हुँदै

काठमाडौं/१२ बैशाख ।
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता हुने भएको छ। वार्ताको लागि टोली गठन गरि सिंहरदबारमा उक्त टोली गएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
उनले भने,‘सरकारले वार्ताको लागि आव्हान गरेपछि हामीले टोली गठन गरेका छौँ,सो टोली वार्ताको लागि गइसक्नु भयो।’
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दीपक काफ्लेसँग उक्त टोलीबीच वार्तामा बस्ने छ। चैत २० गतेदेखि शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।



  

Thursday, April 24, 2025

मोटरसाइकल सहित जलाईएका रानाको मृत्यु घटनाको सत्यतथ्य छानबिन गर्न माग



कञ्चनपुर/११ बैशाख ।
 गत मंगलबार विहानै मोटरसाइकल सहित जलाईएको अवस्था फेला परेका बेलडाँडी ३ खैरिघाटका हरिकिसन रानाको मृत्यु घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका जातिय संघ संस्थाहरुले रानाको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग अघि सारेका हुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले महासंघका घटक जातिय संघ संस्थाहरुले संयुक्त रुपमा हरिकिसन रानाको मृत्यु प्रकरण सत्यतथ्य छानबिनको माग अघि सारेको बताए ।
   जातिय घटकहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै बैलौरी नगरपालिका वडा नं. १० मसान घाट कलकत्ता नजिकै सड़कमा मृत फेला परेको र घटना शंकास्पद तथा रहस्यमय रुपमा रहेकोले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषी माथि कड़ा कारवाही गरी पिडित परिवारलाई उचित किसिमको न्याय दिलाउन माग गरेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले बताए ।
 नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुर लगायत सम्पूर्ण जातिय घटकहरुको तर्फबाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, प्रहरी प्रशासन सहित सम्बन्धित सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराएका हुन । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई समेत दोषीलाई कारवाहीको मागका लागि ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष, विकास श्रेष्ठ, नेपाल रानाथारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती राना, नेपाल उरांव समाज कञ्चनपुरका अध्यक्ष अनिल उरांव, थारु कल्याण कारीणी सभा कञ्चनपुरका अध्यक्ष सानु चौधरी, नेपाल मगर संघ कञ्चनपुर का.वा. अध्यक्ष केशव राना मगर, नेपाल आदिवासी जनजाति महिला महासंघ कञ्चनपुरका अध्यक्ष भारती चौधरी सहितले सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन । घर परिवारले भने नियन्त्रणमा लिएर बन्दी बनाएर हत्या गरेको छानबिनको माग अघि सारेका छन ।

डाक्टरहरुको आन्दोलन कडा हुँदै, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा

काठमाडौँ / बैशाख ११
नेपाल चिकित्सक संघले २४ घण्टाभित्र माग सम्बोधन नभए स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा गरेको छ ।
     हिजो बुधबार एक विज्ञप्ति जारी गर्दै संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने लगायतका माग सहित २८ दिनदेखि चिकित्सकहरु सडक आन्दोलनमा छन् । 
    तर,सरकारले हालसम्म पनि माग सम्बोधनका लागि तदारुकता नदेखाएपछि संघले २४ घण्टाभित्र माग पुरा गर्न भनेको हो ।  माग पुरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघले घोषणा गरेको छ । 
    चिकित्सक संघले आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्णमा आग्रह समेत गरेको छ । चिकित्सक संघले यसअघि पनि माग सम्बोधनका लागि गत चैत्र ३१ मा ७२ घण्टे अल्टिमेटम दिएको थियो ।  

Saturday, April 19, 2025

प्रधानमन्त्रीसँगको वार्ताले निस्केन निकास,आन्दोलन लम्बिने संकेत

काठमाडौँ/६ बैशाख 
हिजो शुक्रबार प्रधानमन्त्री र आन्दोलनरत शिक्षक प्रतिनिधिबिच भएको वार्ता निष्कर्षविहिन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको छलफलमा शिक्षक आन्दोलन र समस्या समाधानका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै आउने प्रतिबद्धता जनाए पनि शिक्षकहरु आश्वस्त हुन सकेका छैनन् । उनीहरुले आन्दोलनलाई निरन्तरता दिने अडान लिएका छन् ।

छलफलमा महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।

विद्यालय शिक्षा विधेयक २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर शिक्षकहरुले चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

शैक्षिक हडतालसहित आन्दोलित शिक्षकहरुले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।
शिक्षकहरुको आन्दोलनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षण अनिश्चित बन्दै गएको छ ।
सरकारले संसदको शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि यही वैशाख १२ गते सङ्घीय संसदको अधिवेशन आह्वान गरेको छ ।
सरकारले संसदको यही अधिवेशनबाट शिक्षा विधेयक पारित हुने भन्दै विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन आह्वान गर्दै आएको छ । तर शिक्षकहरुले विगतमा भएका सहमतिअनुसार विधेयक पारित भएपछि मात्र विद्यालय फर्कने अडान लिएका छन् ।