कृष्ण बा बुढा
श्रावण २४ दाङ, । प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महराले गलत राजनीतिक संस्कारका कारण मुलुक समस्यामा रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ र प्रेस संगठन दाङले शनिबार घोराहीमा आयोजना गरेको पुरस्कार बितरण कार्यक्रममा बोल्दै महाराले भन्नुभयो, ‘हाम्रो राजनीति संस्कार गलत हुँदा मुलुक पटक–पटक समस्यामा पर्दै आएको छ । विगतदेखि वर्तमानसम्मका राजनीति घटनाक्रमहरु हेर्यौ भने गलत संस्कारकै कारण मुलुकमा समस्या उत्पन्न भएका छन् । परिवर्तन संस्थागत गर्ने कार्यमा बाधा उत्पन्न भएका छन् ।’
सामन्तवाद र साम्राज्यवादसँगको लडाइमा उदार पूँजीवाद र दलाल नोकरसाही पूँजीवाद हावी हुँदा राजनीतिक बिसंगति उत्पन्न भइरहेको भन्दै पूर्व सभामुख महराले यसका बिरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभयो । नेपालको राजनीतिलाई अस्थिर बनाउन अन्तर्राष्ट्रिय समुदाय मिसनका साथ लागिरहेको भन्दै उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक अस्थिरताका लागि अन्तर्राष्ट्रिय समुदाय मिसन बनाएर लागिपरेको छ । जुटाउने, फुटाउने सबै खेल यसैको परिणाम हो ।’
मुलुकको परिवर्तनका लागि कृष्ण सेनले खेलेको भूमिकाको चर्चा जति गरे पनि नसकिने भन्दै महराले सेनको वैचारिक धरातलमै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । ‘मुलुकको परिवर्तनका लागि सेन जीले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम हुन्छ । उहाँकै बैचारिक धरातलमा परिवर्तन सम्भव भएको हो’, उहाँले भन्नुभयो, ‘सेनले देखाएको त्याग र बलिदानीलाई आत्मसात गरेमा पार्टीभित्रका समस्या समाधान हुनेमा मेरो बिश्वास छ ।’ कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार यसवर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केवी मसाल र पत्रकार शरद अधिकारीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस संगठन दाङ शाखाले मसाल र अधिकारीलाई इच्छुक पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् । शनिबार घोराहीमा संयुक्त कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापित कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष मसाल र प्रेस संगठन दाङमा स्थापित कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार पत्रकार शरद अधिकारीलाई प्रदान गरिएको हो । त्यसैगरी प्रेस संगठन दाङमा स्थापित प्रतिभा पुरस्कारबाट पत्रकार लक्ष्मण बिश्वकर्मा, प्रोत्साहन पुरस्कार शान्तराज बुढा र अमृता भुसाललाई प्रदान गरिएको हो । त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजदिप शर्माको परिवारले स्वर्गीय आमा लोककुमारी रिजालको स्मृतिमा प्रेस संगठनमा स्थापित लोककुमारी रिजाल स्मृति पत्रकारिता पुरस्कार पत्रकार पाण्डवप्रसाद शर्मालाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टीकाराम खड्का, महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा, महासंघ दाङका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पूर्व अध्यक्ष प्रताप रेग्मी, सुदिप गौतम, पुरस्कृत व्यक्तित्व शरद अधिकारीलगायतले बोल्नुभएको थियो । महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस संगठन दाङका संयोजक प्रकाश चौधरीले गर्नुभएको थियो ।

No comments:
Post a Comment