Sunday, April 1, 2018

विद्युत महशुल काउण्टरको उद्घाटन, पुनर्वासीलाई ठुलो राहत

  खानेपानी मन्त्री वीना मगरलाई गृहजिल्लामा भव्य स्वागत

हेमन्त न्यौपाने
पुनर्वास, चैत १
      मन्त्री बनेपछि पहिलो पटक शनिबार गृहजिल्ला पुगेकी खानेपानी मन्त्री वीना मगरलाई पुनर्वास र बेलौरीका विभिन्न कार्यक्रममा भव्य स्वागत गरियो । आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुरको क्षेत्र नम्बर १ पुगेकी मन्त्री मगरलाई पुनर्वास उद्योगबाणिज्य संघ, बेलौरी उद्योगबाणिज्य संघ, पार्टी कमिटी पुनर्वास, पुनर्वास जनता मा.वि., तथा विद्युत काउण्टर पुनर्वासमा स्वागत गरिएको थियोे ।

  उहाँ बिहानको उडानबाट धनगढी पुगि १० बजे मात्र पुनर्वास पुग्नुभएको थियो । पार्टी कमिटीले आयोजना गरेको कार्यक्रम सकेर उद्योगबाणिज्य संघ पुनर्वासले आयोजना गरेको कार्यक्रममा उपस्थित हुनुभकी मन्त्री मगरले पुनर्वासीले नलबाट निकालेर पिउदैँ आएको पानी शुद्ध नरहेको बताउनुभयो । उहाँले आफु खानेपानी तथा सरसफाइ मन्त्री पनि भएकाले यस समस्याका बारेमा देखिनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित राष्ट्रियसभा सदस्य ईन्दु कडियारी बिष्ट तथा प्रदेशसभा सांसद तारा लामा तामाङले समेत आफ्नो विचार राख्नुभएको थियो । राष्ट्रियसभा सदस्य कडियारीले राष्ट्रियसभामा आफ्नो जोडदार प्रतिनिधित्व रहने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभासदस्य लामाले यो समय पुनर्वासलाई समृद्ध बनाउने एउटा सुनौलो अवसर भएकाले खुट्टा तान्ने र धेरै सम्मान दिने भन्दा पनि काम गर्न सहज वातावरण बनाईदिन सबैलाई आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिहरुको धेरै काम बाकी रहेको बताउनुभयो । यस कार्यकालमा जनतालाई प्रत्यक्ष विकासको महसुस गराउन सकिएनभने फेरि अवसर पाउन नसकिने बताउनुभयो ।

((विद्युत महशुल काउण्टरको उद्घाटन))

    नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल बुझाउन पुनर्वासी जनताको बर्षौदेखि भोग्दै आउनुपरेको समस्या अबभने समाधान हुने भएको छ । स्थानीय निकाय देखि प्रदेशसभा सदस्य लगायत मन्त्री मगरको निरन्तरको प्रयासपछि पुनर्वासमा महशुल काउण्टर स्थापना भएको हो । शनिबार नै मन्त्री मगरले विद्युत महशुल काउण्टरको उद्घाटन गर्नुभएको छ । उहाँले प्रतिनिधिसभा सदस्यको सपथ लिनुअघी नै प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई भेटी यसक्षेत्रको विद्युतिय समस्या समाधानका लागि ६ बुँदे मागपत्र पेश गर्नुभएको थियो । उहाँले आफु निर्वाचित भए पश्चात् पुनर्वासका लागि गरेको यो पहिलो काम भएको भन्दै अझै धेरै काम गर्न बाकी रहेको बताउनुभयो ।

    कार्यक्रममा प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रबन्धक तारानाथ शर्माको समेत उपस्थिति रहेको थियो । काउण्टर उद्घाटन भएपनि नेटको समस्याका कारण बैशाख एक गतेबाट मात्रै सेवा सुरु हुने प्राधिकरणका प्रबन्धक शर्माले जानकारी गराउनुभयो । उहाँले पुनर्वासमा प्राधिकरणको प्रशाखा ल्याउनका लागि पुर्वाधारहरु निर्माण भईरहेको बताउनुभयो । उहाँले यस क्षेत्रको सबै किसिमका विद्युतिय समस्या अब केहि महिनामा मै समाधान गरिने बताउनुभयो ।

काउन्टर पुनर्वासमा ल्याउन पटकपटक प्रयास गरिएतापनी ल्याउदा नसक्दा पुनर्वासीले सास्ती खेप्दै आएका थिए । बिचफाँटाबाट बेलौरी पुगी विद्युत महशुल बुझाउदैं आएका बुद्धि सुनार भन्छन; "दुई महिनाको १८० रुपैयाँ तिर्न ५०० रुपैया भन्दा बढी खर्च गरेर बेलौरी पुग्दा पुरैदिन लाग्ने गर्थ्यो, अब भने केहि राहत हुनेभयो ।" उनले खुशी खुशी हुँदै भने मन्त्री मगरलाई धन्यवाद दिन चाहान्छु ।

No comments:

Post a Comment