लाल बहादुर एसके
पुनर्वास, भदौ २७
कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा न २ अमरैयामा बुधबार हरितालिका तीजका दिन तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको विशेष पर्व हरितालिका तीजका अवसरमा तीज गीत प्रतियोगिता, विभिन्न खेल प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना गर्दै कार्यक्रम सम्पन्न भएको छ ।
रसि तान, घैटो फोर, कुर्सी चाल लगायतका मनोरञ्जनात्म खेलहरुको आयोजना गरिएको कार्यक्रममा उपस्थित दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । औपचारिकरुपमा सुरु भएको कार्यक्रमका लागि प्रमुख अतिथि पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्ट रहनुभएको थियो ।
वडा नम्बर २ का अध्यक्ष सन्त कुमार चौधरी विशिष्ट अतिथिमा हुनुहुन्थ्यो भने वडा सदस्य डिल्ली सार्की, शोभा सुनार तथा स्थानीय बुद्धिजीवी,समाजसेवी तथा राजनितिज्ञहरु अतिथिको आसनमा रहनुभएको थियो । कार्यक्रमको सभापति अमरैया बजार व्यवस्थापन समितिका अध्यक्ष पार्वती विक रहनुभएको थियोभने कार्यक्रम सञ्चालन दिपक पनेरुले गरेका थिए ।
देशभर नै तीज कार्यक्रमलाई धुमधामका साथ मनाइरहँदा पुनर्वासका विभिन्न ठाँउहरुमा समेत तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । पुनर्वासको प्रमुख बजार आईबिआरडी बजार, प्रतिभानगर बजार, प्रतिभानगरबजार, आनन्दबजार तथा डोकेबजारमा समेत तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । धेरै ठाँउमा कार्यक्रम भएपनि कहिँकतै अप्रिय घटना भने नभएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण बहादुर बमले हाम्रै साझा पत्रिकालाई जानकारी गराए ।
No comments:
Post a Comment