Monday, October 29, 2018

बेलौरी र लालझाडीमा पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु

केशब भट्ट
कञ्चनपुर, कात्तिक १२
     नेपाल प्रहरीले आइतबार देशैभरका सबै जिल्लामा एकैसाथ सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम कञ्चनपुरको दक्षिणी क्षेत्रमा समेत लागु गरिएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले सोमबार बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा उक्त कार्यक्रम सम्बन्धी सम्झौता भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले बताउनु भयो ।


    सम्झौता पत्रमा बेलौरी नगरपालिकाका तर्फबाट नगर प्रमुख पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष मदन सेन बडायक र ईलाका प्रहरी कार्यालय बेलौरीका तर्फबाट प्रहरी निरीक्षक चुडामणि पुनले हस्ताक्षर गर्नुभएको छ । प्रहरीले गर्ने कार्यहरु लागु औषध नियन्त्रण, जुवातास नियन्त्रण तथा समाजमा हुने गरेका नकारात्मक कार्यहरुलाई नियन्त्रण गर्न प्रहरी संगै स्थानीय तहको साथ र सहयोगले अगाडी बढ्ने गरी स्थानीय तह र प्रहरी बीच सम्झौता गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भएको छ ।

   प्रहरीलाई आफ्ना काम, कर्तव्यहरु पूरा गर्नमा सहयोग पुग्ने गरी गृह मन्त्रालयले देशैभरका सबै जिल्लामा एकैसाथ समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको हो । यसअघि नेपाल प्रहरीले प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा लगायतका लोकप्रीय कार्यक्रम लागु गरी नागरीक र प्रहरी बीचको सम्बन्ध नजिक तुल्याउने कार्य गरेको थियो ।

No comments:

Post a Comment