Wednesday, January 16, 2019

पुनर्वासको राम युवा क्लवद्वारा माघे संक्रान्ती शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना




-सुनिलकुमार लो
पुनर्वास,२ माघ
राम युवा क्लब,पुनर्वास-३ ले माघे संक्रान्तीको अवसरमा हिजो शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
अन्य समुदायहरुले धुमधामसंग माघे संक्रान्ती मनाईरहँदा पुनर्वासका तामाङ समुदायले पनि नयाँ बर्षको सुरुआतको रुपमा माघे पर्वलाई मनाएको हो । पुनर्वास-३ स्थित गोर्खा आधारभूत विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा पुनर्वासका तामाङ समुदायका महिला पुरुषहरु आफ्ना परम्परागत भेषभूषामा उपस्थित भएका थिए ।
कार्यक्रममा उपस्थित भएका भाईबैनीहरुले रमाइला नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी तामाङहरुको परम्परागत नृत्य म्हेन्दो माया र म्हाने नाचको पनि प्रदर्सन गरिएको थियो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ्ले विशिष्ट अतिथिको आसनबाट बोल्दै तामाङ जातिको संस्कृति जोगाउन यो कार्यक्रमले सहयोगी भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रम हुनु निकै प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले कार्यक्रम आयोजक राम युवा क्लबलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य तथा नेकपा सचेतक तारालामा तामाङले पहिलो चोटि कार्यक्रम आयोजना गरिएको भएपनि उत्कृष्ट भएको र यसले तामाङ समुदायमा नयाँ उर्जा र जोश थप्दै तामाङ एकतालाई बलियो बनाउने विचार व्यक्त गर्नुभएको थियो ।
राम युवा क्लवका अध्यक्ष सुक बहादुर तामाङले सभापतिको आसनबाट बोल्नुहुदै कार्यक्रम सम्पन्न गर्न सबै सहयोगी हातहरुलाई धन्यवाद दिनुभएको थियो ।आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको उहाँले बताउनुभयो ।
कार्यक्रमको प्रायोजक प्रवासी एलाईन्स फेलोसिप आईबिआरडी र सह-प्रायोजक आर आर रोमानी फर्निचर उद्योग पुनर्वास-३,आईबिआरडी,कञ्चनपुर लगायत अन्य व्यक्ति तथा संस्थाहरु रहेका थिए । कार्यक्रमलाई जित बहादुर तामाङ (तिलक) ले सञ्चालन गर्नुभएको थियो ।

No comments:

Post a Comment