Thursday, May 21, 2020

उखु उत्पादनमा वृद्धि गर्न बेलडाँडीका किसानलाई कृषि उपकरण वितरण

कञ्चनपुर, ८ जेठ
नगदेबालीका रुपमा रहेको उखु खेतीमा उत्पादन वृद्धि गर्नका लागि किसानलाई कृषि उपकरण औजार वितरण गरिएको छ । मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु कृषक समन्वय समिति) बेलडाँडीले स्थानीय उखु किसानलाई कृषि उपकरण बुधबार वितरण गरेको हो ।
मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु कृषक समन्वय समिति) बेलडाँडीका अध्यक्ष सुरेन्द्र बहादुर सिंहले कृषि ज्ञान केन्द्र मार्फत बेलडाँडी गाउँपालिका १, ३ र ४ वडामा संचालित भएको कार्यक्रम मार्फत पहिलो चरणमा २५ उखु किसानलाई कृषि उपकरण औजार वितरण गरिएको बताए ।
उनका अनुसार ५० प्रतिशत अनुदानमा प्राप्त गरिएका औजार किसानलाई वितरण गरिएको छ । ‘लकडाउन बेला किसानलाई खेतमा गएर काम गर्न सहज होस भन्नका लागि उपकरण वितरण गरेका छौँ, ‘उनले भने, ‘कृषि उपकरण पाएका किसानले यो बेला खेतमा समय दिनेछन् ।’ अध्यक्ष सिहका अनुुसार २२ हर्ष पावरको पावर टिलर, ईलेक्ट्रिकल स्प्रेय ट्याङकी, डेलिभरी पाईप, जिरो भेटर, मडे पलाउ, विषादी र सुक्ष्म तत्व वितरण गरिएको छ । कृषि आधुनिक यन्त्रपाएछि किसान हर्षित भएका छन् । कुनैबेला उखु काट्नका लागि बेलडाँडी क्षेत्रका किसान भारत जाने र अहिले आफै उखु खेती गर्दा उपकरण पाएपछि उनीहरु विगतलाई सम्झिदै नेपाल तर्फ बेलडाँडीको कृषि विकासको बारे समिक्षा गरिरहेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले नयाँ अवधारणा भएको बताए । उनले गाउँपालिकासंग सुहाउँदो बालीनाली उत्पादन गर्दै पुर्वाधार र प्रविधियुक्त बनाउने कार्यक्रम रहेको बताए । किसानले पाएका कृषि उपकरण एव औजारको भरपुर प्रयोग गर्नुपर्ने उनको सुझाव छ । बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाले कृषि उत्पादनका लागि किसानले पाएका समानले अधिकतम प्रयोग गर्दै उत्पादनमा जोडदिए उनले उखुमा बेलडाँडीलाई आत्मनिर्भर बनाईने बताए । समितिले १सय ५०किसानलाई उपकरण वितरण गर्ने छ । लकडाउन भएकाले पहिलो चरणमा २५का किसानलाई वितरण गरेको हो, आगामी दिनमा निरन्तर यस्तै समाजिक दुरी कायम गरेर वितरण गर्ने समितिका अध्यक्ष सिहले बताए । वितरण कार्यक्रममा बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापा, ३का वडाध्यक्ष दुर्गा प्रशाद चौधरी, बेलडाँडी कृषि शाखा प्रमुख धन बहादुर खडका, मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु कृषक समन्वय समिति) बेलडाँडीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । बस्तु किनेर होईन, उत्पादन गरेर आत्मनिर्भर हुने भएकाले उत्पादनबाटै देश आत्मनिर्भर बन्ने भन्दै उत्पादनमै लगानी गर्न सरकारलाई अर्थविदहरुको सुझाव छ।

No comments:

Post a Comment