कैलाली, ८ जेठ ।
लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीको गौरीफन्टा नाकाबाट विहिवार पनि उद्दार
गरीएको छ।
कोरोना भाईरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाका सम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको काम भईरहेको हो। गौरीफन्टा नाकाबाट सात बजेसम्म दुई हजारलाई भित्र्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। अझै उद्धारको क्रम भने जारी रहेको उनले बताए। यस्तै अहिलेसम्म चार सय ५० जनाको र्यापिड टेस्ट गरिएको छ। सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले दिएको जानकारी अनुसार चार सय ५० जनाको र्यापिड टेस्ट गर्दा ११ जनामा एन्टिबडी देखाएको छ।
यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा आज भने सीमानाकामै र्यापिड टेस्ट भईरहेको हो। सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै र्यापिड टेस्ट गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
धनगढी भित्र्याईएका नेपालीलाई आजै सम्बन्धित पालिकासम्म पुगाउने तयारी पनि गरिएको छ। त्यसका लागि विभिन्न पालिकाहरुले गाडीको व्यवस्थापन समेत गरेको जनाएका छन्। आज गन्तव्यमा पठाउन नसकिएका नेपालीलाई भने धनगढीकै क्वारेन्टाइनमा राखिने स्थानीय प्रशासनले जनाएको छ।
No comments:
Post a Comment