काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकले सरकार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको हो ।
सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाउने भएको छ । पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ ।
आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्यायपूर्ण नहुनुलाई पनि सरकारको कमजोरीका रुपमा काँग्रेसले चित्रण गरेको छ । संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लक डाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभूति गर्न नसकेको निष्कर्ष समेत काँग्रेसले निकालेको छ ।
कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसँग काँग्रेसले माग गरेको छ । त्यसैगरी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोरोना विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
No comments:
Post a Comment