Saturday, June 20, 2020

लद्दाखमा भारतिय हार, अन्तरास्ट्रिय समुदाय मौन 

काठमाडौं । गत १५ जुनको रात लद्दाखमा चीन र भारतका सैनिकहरूबीच भएको भिडन्तका धेरै पाटाहरू खुल्न बाँकी नै छन् । तर अहिलेसम्म सार्वजनिक भएका तथ्यहरूबाट भिडन्तमा भारतीय पक्षले गम्भीर क्षति व्यहोर्नुपरेको स्पष्ट भएको छ। भिडन्तको भोलिपल्ट बिहान भारतीय मिडियाले लद्दाखमा भारतीय सेनाका एक सैनिक अधिकारीसहित तीनजना मारिएको समाचार दिए । यसलाई भारतीय सेनाले त्यही दिन औपचारिक पुष्टि गर्यो । अर्को दिन भारतीय सेनाका थप १७ जना मारिएको समाचार सार्वजनिक भयो । यसलाई पनि भारतीय सेनाले पुष्टि गर्यो । यसरी अप्रत्याशित भिडन्तमा २० जना सैनिक गुमाउँदा भारतमा शोक र आक्रोश एकसाथ देखियो । यता चीन भने मौन बसिरह्यो । उसले न आफ्नोतर्फ भएको क्षतिको विवरण दियो, न यतिउति भारतीय सैनिक मारिए भनेर दाबी नै गर्यो । भारतीय मिडियाहरू भने चिनियाँ सेनाका ४३ जना मारिएको भनेर काल्पनिक समाचार सम्प्रेषण गर्न थाले । चीनले यस्तो समाचारको औपचारिक खण्डन गर्नु पनि जरुरी ठानेन । मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा एक भारतीय पत्रकारले चीनतर्फ भएको हताहतीका बारेमा सोधेका थिए । तर प्रवक्ताले जवाफ दिए, ‘यतिबेला मसित तपाईंलाई दिने कुनै जानकारी छैन ।’ चीनले आफ्नोतर्फ भएको क्षतिको विवरण गोप्य राख्नुको कारण कतै भारतले भन्दा धेरै क्षति व्यहोरेर त होइन ? भन्ने आशंका पनि कतिपयलाई थियो । तर घटनाको तेस्रो दिन आइपुग्दा त्यो आशंका तोडियो । चीनले आफ्नो कब्जामा रहेका १० जना भारतीय सैनिकलाई मुक्त गरेको समाचार बाहिर आएसँगै लद्दाखको भिडन्तमा भारतले लगभग एकतर्फी क्षति भोगेको स्पष्ट भएको छ । आफ्ना सैनिकहरू चीनले बन्धक बनाएको कुरा भारतले लुकाएको थियो । भारतीय सेनाले आफ्ना जवान बेपत्ता नभएको बताए पनि बन्धक बनाइएको विषयमा केही भनेन । चीनले पनि तत्काल यो तथ्य सार्वजनिक गर्न चाहेन । यदि यो विषय तत्काल सार्वजनिक भएको भए दुई देशबीच तनावको पारो निकै माथि चढ्न सक्थ्यो । यसमा दुवै देशले सुझबुझ देखाएका छन् । उनीहरूले भित्रभित्रै वार्तामार्फत यो मामिलालाई सल्टाएका छन् । भिडन्तमा न गोली चलेको थियो, न बम–बारुद प्रयोग भएको थियो । भारतीय सैनिकहरूको क्षतविक्षत शव हेर्दा चिनियाँ सेनाले कच्चा हतियारको प्रयोग गरेको अनुमान गर्न सकिन्छ । भारतीयहरूले सामाजिक सञ्जालमा एउटा तस्वीर सार्वजनिक गरेका छन् र भनेका छन् कि चिनियाँ सेनाले यस्तो घातक हतियारले बर्बर आक्रमण गरेका थिए । ती हतियार फलामको रडमा किल्ला ठोकेर बनाइएका छन् । यो भिडन्तमा ७६ जना भारतीय सैनिक घाइते भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरूमध्ये १८ जनाको अवस्था गम्भीर छ । लद्दाखमा भएको आकस्मिक भिडन्तलाई लिएर भारतले हारेको र चीनले जितेको भनेर निष्कर्षमा पुग्नु न्यायोचित हुँदैन । किनकि उक्त भिडन्त कुनै घोषित युद्ध थिएन र दुई देशको सैन्य बलको यसमा परीक्षण भएको थिएन । तर पनि पछिल्ला दिनहरूमा आफ्नो सामरिक शक्तिलाई लिएर उर्लिएको भारतको आत्मविश्वासलाई यो भिडन्तले निकै गलाएको छ । आफ्नो सामरिक शक्ति चीनको हाराहारीमा विस्तार भएको दाबी गर्ने भारतीय सत्तालाई धक्का लागेको छ । उग्र राष्ट्रवादीका रुपमा चिनिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनमाथि कडा प्रतिक्रिया जनाउन सकेका छैनन् । मुख्यमन्त्रीहरूसँगको बैठकमा उनले आफ्ना सैनिकहरूको बलिदानी खेर नजाने भन्दै उनले भारतलाई उक्साउन खोजिएमा उचित जवाफ दिइने बताएका छन् । यता विपक्षी कांग्रेस आई पार्टीका नेता राहुल गान्धीले आफ्ना सैनिकहरू मारिँदा सरकार निदाइरहेको भनेर कटाक्ष गरेका छन् । भारतीय मिडियाको स्वर पनि अहिले मलीन बनेको छ । यदि चीनको ठाउँमा पाकिस्तान भएको भए भारतीय मिडियाहरूमा युद्धका हुँकारहरू व्यापक सुनिन्थे । चीनसँगको मामलामा उनीहरूको केही नरम छन् । भारत र चीनबीच पछिल्लो युद्ध सन् १९६२ मा भएको थियो, जसमा भारतले लज्जास्पद हार व्यहोरेको थियो । तर भारतीयहरूले बारम्बार के भनिरहेका छन् भने यो १९६२ को भारत होइन । हुन पनि त्यसयताका ५८ वर्षमा भारतले आफ्नो सैन्य शक्ति निकै सुदृढ बनाइसकेको छ । तर यति हुँदाहुँदै पनि चीनको हाराहारीमा पुगेको ठान्नु चाहिँ भारतको भ्रममात्र भएको भारतकै सैन्यविद्हरू बताउँछन् । किन चलेन गोली ? सन् १९९६ मा चीन र भारतबीच एउटा समझदारी भएको थियो, जसअनुसार लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) को दुई किलोमिटरभित्र दुवै पक्षले फायर खोल्न पाउँदैनन् । २४ वर्षसम्म दुवै पक्षका सेनाले यो सहमतिलाई पालना गरिरहेका छन् र सीमा क्षेत्रमा गोली चलेको छैन । यसबीचमा पटकपटक भएका टकरावमा दुई देशका सैनिकहरूबीच धकेलाधकेल र ढुंगा हानाहान हुने गर्थे । एलओसीमा गस्ती गर्ने सैनिकहरूले राइफल र अन्य हतियार त बोकेका हुन्छन् । तर त्यसको प्रयोग गर्न नपाउने दुई देशको सहमति छ । एक देशको सेनाले अर्को देशको सेनासँग कुराकानी गर्न जानुपर्यो भने हतियार बोक्न नपाइने सहमति छ । यद्यपि, यस्तोबेला सैनिकहरूले हतियार लुकाएर लैजाने गरेको पाइन्छ । भारतीय विदेशमन्त्री एस जयशंकरलाई बिहीबार एक पत्रकार सम्मेलनमा भारतीय पक्षले हतियार प्रयोग नगरेको विषयमा सोधिएको थियो । त्यसमा उनले जवाफ दिए कि भारतीय सैनिकले बन्दुक बोकेका थिए, तर सहमति तोडिने भएकाले फायर खोलेनन् । लद्दाखमा भएको भिडन्तका लागि दुबै देशले एक अर्कामाथि दोषारोपण गरेका छन् । भारतीय सैनिकहरु सीमारेखा उल्लंघन गरेर आफ्नो क्षेत्रमा पसी आक्रमण गरेको चीनको दाबी छ । भारतले चाहिँ आफ्ना सैनिकहरु चिनियाँ पक्षसँग सौहार्दतापूर्वक कुरा गर्न जाँदा घातक हमला भएको जनाएको छ । अन्तर्राष्ट्रिय समुदाय मौन भिडन्तको लगत्तै भारतले आफ्नोतर्फबाट भएको हताहतीको विवरण सार्वजनिक गर्नुको एउटा कारण थियो, अन्तर्राष्ट्रिय सहानुभूति र समर्थन प्राप्त गर्नु । तर, अहिलेसम्म कुनै पनि देशले सो घटनालाई लिएर चीनको निन्दा वा भारतको समर्थनमा बोलेका छैनन् । अहिले सबै देशहरु कोभिड १९ सँगको आन्तरिक लडाईंमा केन्द्रित भएकाले पनि चीन–भारतको द्वन्द्वमा उनीहरुको यथेष्ट ध्यान पुगेको छैन । भारतले सबैभन्दा बढी आशा राख्ने अमेरिकाबाट हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले गलवान उपत्यकामा भएको झडपबारे ट्विटरमा पहिलो प्रतिक्रिया दिएका छन् । त्यसमा उनले केवल झडपमा मारिएकाहरुप्रति श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गर्ने औपचारिकता मात्रै निभाएका छन् । 

No comments:

Post a Comment