कञ्चनपुर, ५ असार ।
बेलडाँडी गाउँपालिकामा १५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । बिहीबार कञ्चनपुरमा २० जना काेराेना संक्रमित थपिएसँगै १५ जना बेलडाँडी गाउँपालिकाका मात्रै रहेकाे कोभिड् १९ कञ्चनपुर जिल्ला फोकल पर्सन सिद्धराज भट्टले जनाए ।
बाँकी ५ जना महाकाली नगरपालिकाका रहेको उनकाे भनाइ छ । यस संगै कञ्चनपुरमा कोभिड- १९ संक्रमित हुनेको संख्या ९५ पुगेको छ । हाल जिल्लाभरि ४ हजार ४ सय ७ जना क्वारेन्टाइनमा छन् ।
त्यस्तै, बेलडाँडी गाउँपालिका अन्तरगत विभिन्न क्वारेन्टाइनमा रहेका ४० जनाको आरडीटी पाेजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि केही दिनअघि नमुना संकलन गरेर धनगढी पठाइएको थियो । हाल बेलडाँडी क्वारेन्टाइनमा ३० जना महिला र १९४ जना पुरुष गरी जम्मा २२४ जना रहेको गाउँपालिकाका कोभिड- १९ फोकल पर्सन माधवानन्द भट्टले जानकारी दिए । उनले पछिल्लोपटक ३१ जनामध्ये १५ जनामा कोरोना पुष्टिको खबर आएको बताए । तर एक जनाको नाम अन्यौलमा रहेको उहाँको कथन छ ।
बेलडाँडीमा काेराेना पुष्टि भएकाहरुलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा आफैं गाउँपालिका अध्यक्ष धनबहादुर थापाक्षेत्री अन्याैलमा परेका छन् । उनले यस बारेमा छलफल गर्नुपर्ने बताए ।
उता कोरोना पोजेटिभ देखिएकाहरु रौलेश्वर माविको क्वारेन्टाइनमा छन् । आफूहरुलाई हौसला र परामर्श दिन समेत अहिलेसम्म कोही नआएको भन्दै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले दुखेसो पोखे । तर बेलडाँडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले भने उचित व्यवस्थापन गरी नै राखेको जिकिर गरे ।
अर्कोतर्फ, बेलडाँडी गाउँपालिकाकाे क्वारेन्टाइन व्यवस्थापन फितलो देखिएका कारण क्वारेन्टाइनभित्रै रहेका व्यक्तिहरुमा संक्रमणकाे उच्च जाेखिम रहेको स्थानीयकाे ठहर छ । गाउँपालिकाले काेराेना राेकथाम तथा नियन्त्रणका लागि लाखौं रकम खर्च गरिरहँदा पनि विश्व स्वास्थ्य संगठनकाे मापदण्डअनुसार उचित व्यवस्थापन हुन नसक्दा बारम्बार सरोकारवालाहरुले सुझाव समेत दिएको बताए ।
क्वारेन्टाइनभित्रैको व्यवस्थापन फितलो र बाहिर काण्डै-काण्डले किचलाे मच्चिरहँदा स्वास्थ्य र समृद्धिसँग खेलवाड भइरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
No comments:
Post a Comment