Saturday, June 20, 2020

भोलि विहान १०.५५ मा सुर्यग्रहण, कहाँ कहाँबाट देखिनेछ खग्रास ?



काठमाडौ , असार ६ ।
भोलि असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन सूर्यग्रहण लाग्दैछ ।
यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ। ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने विज्ञहरुको भनाई छ ।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ। आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धो समेत हुन सक्छ। सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।
ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न। सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो। ग्रहणका बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। नदी तट वा गङ्गामा गई ग्रहणको स्नान गरी शुद्घ हुने गर्दछन्।
तान्त्रिकहरु मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेको समयलाई उपयुक्त मान्छन्। त्यसैले ग्रहणका समयमा मन्त्रको साधना समेत गर्दछन्। ग्रहणसम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ। रोमनहरु ग्रहणका बेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन्। प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए। सूर्यग्रहणका बेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ।
सूर्यग्रहण नेपालमा बिहान १०ः५५ देखि शुरु भई अपराह्न २ः२४ बजे समाप्त हुने छ। मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने छ। ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ। त्यसदिन दुईपटक बिहान भएको पो हो कि भन्ने जस्तो महशुस हुने खगोलविदहरुले बताएका छ्न ।
धर्मशास्त्र अनुसार सूर्यग्रहण मेष, सिंह, कन्या एवं मकर राशि भएका मानिसले मात्र हेर्न हुने समितिका सदस्य सचिव तथा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए। वैज्ञानिक मतमा भने सूर्यग्रहण जो सुकैले सुरक्षित तरिका अपनाएर हेर्न हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई बताउँछन्।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो। खगोलविद्का लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो। वैज्ञानिक तथा खगोलविद् सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन्। साना बालबालिकाका लागि विज्ञानमा रुचि पैदा गराउन यस्ता घटना उपयोगी हुन्छन्। नेपालबाट करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिन्छ।

No comments:

Post a Comment