काठमाडौँ,२६ जेठ ।
खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाबारे उठेका प्रश्नहरूलाई बिट मार्ने बेला आएको बताएकी छन् । उनले मेलम्ची खानेपानी आयोजनाको भौतिक निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गरेर उद्घाटनको मिति सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको संसदलाई जानकारी गराएकी छन् ।
खानेपानी मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन र कार्यक्रमबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले भनिन्, 'मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नको हरुको बिट मार्ने बेला आएको छ । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछौं । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं भन्ने जानकारी गराउन चाहन्छु ।'
विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाले उपत्यकाबासीलाई आशा र निराशा मात्रै दिएको बताउँदै मन्त्री मगरले त्यसको अब अन्त्य हुन लागेको बताएकी हुन् । 'विगत दुई दशकदेखि मेलम्ची खानेपानीले आशाहरू सँगसँगै उब्जाएका निराशाहरू अन्त्यको समय आएको छ,' उनले भनिन् ।
मेलम्ची खानेपानीको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गर्ने र आगामी आर्थिक वर्ष २०७७/७८ मा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने मन्त्री मगरको भनाइ थियो । उनले काठमाडौं खानेपानी लिमिटेडले उक्त पानी विरतण गर्ने तयारी भइरहेको र अहिले काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको पानीलाई उपत्यकाका अन्य क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको जानकारी दिइन् । 'भौतिक काम चालु आर्थिक वर्षमै सम्पन्न हुने र त्यसको वितरण प्रणालीलाई अबको आर्थिक वर्षमा व्यवस्थित ढंगले गराउने जानकारी गराइसकेका छौं,' मन्त्री मगरले भनिन् ।
कान्तिपुरबाट।
No comments:
Post a Comment