Thursday, June 4, 2020

कहिलेसम्म मरिरहने नबराजहरु ??

-हिमेश थापा
अहिले हामी २१औं शताब्दीमा हिडिरहेका छौ। यहाँसम्म आइपुग्दा मैले सोचेको थिए,जातीय भेदभाव धेरै हद सम्म कम भैसकेको छ। तर रुकुमको घटनाले फेरि पनि सोच्न बाध्य बनायो। अझैपनि यो कुरिति, कुसंस्कार हटेको रहेनछ। याे घटनाले मनमा दलदल आगो बलिरहेको छ भने मन छियाछिया भएर भतभति पोल्दै छ। कस्ता ह्र्दय, नभएका मानवहरु ? यतिसम्म मानवता हराएका मानवहरु पनि अझै हाम्रो समाजमा रहेछन् । संसार कहाँबाट कहाँ पुगि सक्यो, हामी भने त्यहि जातभात मै अल्झीरहेका छौ। कुवाको भ्यागुता कुवा मै भने झै अवस्था छ । विश्व परिवेश हेर्ने हो भने समाजमा कति धेरै परिवर्तन भइसक्याे। तर हामीकहाँ याे साधारण सोचाइमा पनि परिवर्तन हुन सकेकाे छैन।
म विद्यालय मा पढने बेला देखीनै जातीयता,भेदभाव र छुवाछूतको विरुद्ध आवाज बुलन्द गरिरहन्थे,कहिले पनि मेरो मस्तिष्कमा यो त्यो जात यो जात भनेर आएन । किनभने सधै सोच्थे, समाजमा जम्मा दुइ किसिम जात छन, एउटा महिला र एउटा पुरुष । विद्यालय स्तरबाट मैले जातीय भेदभाव, छुवाछुत, कुरिति, बालविवाह,जाँडरक्सी, जुवातास र केही स्वास्थ्य सम्बन्धि सडक नाटक पनि गरे । मेरो टिमको प्रस्तुतिबाट धेरैले आफू परिवर्तन भएको अनुभव पनि बाँड्नु भएको थियो।
आजभोली हाम्रो ठाउँमा मैले महसुस गरे अनुसार दाइजो प्रथा, छुवाछुत, जाँडरक्सी, जुवातास र बालविवाह धेरै हदसम्म कम भएको छ । जातिय विभेद पनि कम हुदै गएको छ । म कंचनपुर पुनर्वास नगरपालिकाको बासिन्दा हु। उहिले दलितहरूलाई छुन दिँदैनथे कतिपयले। आज भोलि त्यस्तो भने छैन। अन्य स्थानीय तहको तुलनात्मक तरिकाले हेर्ने हो भने हाम्रो पुनर्वासमा भने जातीय भेदभाव धेरौ कम छ । यो ठाउँका धेरै जसो व्यक्तिहरु शिक्षित भएका कारण यो कम हुदै गएको छ । तर जातीय भेदभाव भने अहिले पनि छ। के यो निर्मूल पार्न साँच्चै यति कठिन किन भएको होला त?
कति पुस्ता बितिसक्याे, बाउ-बाजे, बराजुको पालामा त अशिक्षित भए र त्यसो गरे भनेर चित्त बुझाउने पाटो भयो, तर अहिलेको युगमा पनि यस्ता अपराध भइरहेकै छन्। के सम्पुर्ण मानव साँच्चै अशिक्षित भएरै हो त? मलाई त लाग्दैन याे अशिक्षाले मात्रै भएकाे हाे भनेर। जंगलमै बस्ने राउटेलाई सोध्नुभयो भने पनि,”हामी सबै एक हौ सबै मानव हौ” भन्छन्। आखिर कहिलेसम्म चपेटामा पर्ने दलितहरू? कति सम्म सहने यस्ता जघन्य अपराधहरू? कहिले सम्म यसरि नवराज बिक झै अरुथप नवराजहरुले आफ्नो प्राण त्याग्ने दलित भए बापत ? मलाई त लाजै लाग्छ,यी सब सुन्दा र देख्दा। आफुलाई देखेर आफैलाइ घृणा उत्पन्न हुन्छ, जातीयताको जघन्य अपराध हुने समाजमा आफुलाई पाउँदा ।
हामी नयाँ काम, रोचक, नमूना काम भन्छौ, तर यस्ता साना साना झिना मसिना कुरामा अल्झे पछि, के हाम्रो समाजले फट्को मार्ला त? साँच्चै देश विकास होला त? साँच्चै हाम्रो देश समृद्धिको बाटोमा जाला त ? "सुखी नेपाली र समृद्ध नेपाल" जुन सरकारको नारा छ, यो नारामा मात्रै सिमित हुने त हैन ? आफैबाट सुरु गरौ,आफ्नो घरबाट । किनभने हामी शिक्षित युवाहरूले आफ्नो परिवारका सदस्य, आमाबुवालाई, परिवारका सम्पुर्ण सदस्यलाइ सम्झाइ बुझाइ गरौं। प्रेम,विवाह पनि जातका आधारमा गर्ने चलनको जबसम्म अन्त्य हुदैन, तबसम्म यस्ता घटनाहरू सुन्नमा आइरहनेछन्। आउनुहोस्, अब ढिलो नगरौ । समृद्ध नेपाल निर्माण गर्नु छ भने जातिय भेदभाव सधैको लागी अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न अघि बढौं । सभ्य समाज निर्माण गर्न सामाजिक सञ्जालमा मात्र होइन व्यवहारमा पनि उतारौ ।
जय देश,जय स्वाभिमान ।

No comments:

Post a Comment