Wednesday, June 24, 2020

पुनर्वास नगरपालिकाको सातौ नगर सभा सम्पन्न, आयो ६७ करोड १० लाखको बजेट


कञ्चनपुर
, १० असार ।
पुनर्वास नगरपालिकाको सातौ नगर सभा भव्यताका साथ सम्पन्न भएको छ ।
आज एक कार्यक्रम बिच सम्पन्न सो कार्यक्रममा सभाध्यक्षका रुपमा नगर प्रमुख जीवनराज थापा, विशेष उपस्थितिमा प्रदेश सभा सदस्य तथा सुदुरपश्चिम नेकपा सचेतक तारालामा तामाङ, जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ, नगर उपप्रमुख शारदा बिष्ट, नगर प्रवक्ता भारमल सुनार, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे र सम्पूर्ण जननिर्वाचित प्रतिनिधिहरुको उपस्थिति थियोे ।
सभामा आ.ब. २०७७/७८ को लागी ६७ करोड १० लाख १७ हजार दुईसय सत्तरीको बजेट आएको छ । बजेट विशेष गरि वर्तमान समयमा विश्वमा चलिरहेको कोभीड १९ लाई मध्यनजर राखी ल्याईएको भए पनि यसले नगर भित्र गौरवका आयोजनाहरुलाई समेटेको छ भने पुराना आयोजनाहरुको निरन्तरताको लागि पनि रकम छुट्याइएको छ ।

प्याराताल लाई मुख्य पर्यटकिय क्षेत्रका रूपमा बिकास गरिने, आई.बि.आर.डि बजारमा रहेको पार्कलाई "मदनकुमार भन्डारी स्मृति पार्क" नामाकरण गरि त्यो पार्कको स्तरोन्नति गरिने,पुनर्वास नगरपालिका भित्रका कुनै पनि गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरुले चिकित्सा शिक्षा (एम.बि.बि.एस) पढ्न चाहेमा वार्षिक १ जना लाई रु. १० लाख प्रोत्साहन स्वरुप प्रदान गरिने लगायतका लोकप्रिय योजना पनि बजेटमा ल्याईएको छ । त्यसैगरि पुनर्वास नगरपालिका भित्रका दलित समुदायका विपन्न तथा जेहेन्दार उत्कृष्ट विद्यार्थीहरुले प्राविधिक शिक्षा अध्ययन गर्न चाहेमा वार्षिक ३ जना लाई रु. १ लाख का दरले छात्रवृत्ति प्रदान गरिने, नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरु मध्ये कुनै १ विद्यालय लाई "आवासीय नमुना " र १ लाई "प्राविधिक बिद्यालय" का रूपमा स्थापना गरिने, नगरपालिका भित्र "प्रदेश स्तरीय पुनर्वास रंगशाला" निर्माण गरिने,


त्रिभुवन स्वास्थ चौकी लाई २५ सैयाको अस्पतालमा रुपान्तरण गरि संचालन गरिने,
नगरको शान्ति सुरक्षा कायम गर्न,चोरीपैठारी नियन्त्रण गर्न लगायतका विभिन्न कार्यका लागि "नगर प्रहरी" गठन गरिने, "एक वडा एक कृषि प्राविधिक" र "एक वडा एक पशु प्राविधिक" कार्यक्रम लागू गरिने, कृषिजन्य उत्पादन लाई मध्यनजर गरि कृषकहरुको हितका लागि एउटा "दुध चिस्यान केन्द्र तथा शीत भण्डार" कोल्ड स्टोर को स्थापना गरिने लगायतका महत्त्वपूर्ण योजनाको लागि बजेटले रकमको ब्यवस्था गरेको छ ।

कृषि बाली तथा पशुपन्क्षी बिमा गर्न कृषकलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने, कृषि तथा पशुपालनमा आधारित उद्योगहरु लाई अनुदान तथा कृषि कर्जा दिने निति अवलम्बन गरिने, कोभिड-१९ का कारण भारत लगायत अन्य मुलुकहरू बाट फिर्ता आएका युवा हरुको सिप, क्षमता आदिको अभिलेख तयार गरि समय सुहाउँदो रोजगार दिने खालका कार्यक्रम संचालन गर्ने नीति अवलम्बन गरिने बताईएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख जीवनराज थापाले थोरै कुरा र धेरै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । एक्लै नगरपालिकाले मात्र केही गर्न नसक्ने भएकाले प्रदेश र केन्द्रमा रहेका मन्त्री तथा सांसदहरुले पुनर्वासको विकासमा चासो दिन नगरप्रमुख थापाले आग्रह गर्नुभयो ।


No comments:

Post a Comment