Sunday, August 23, 2020
कोरोना कहर बिच सुदुरमा गौरा र अटवारी पर्व मनाईदै
धनगढी । कोरोना कहर विच सुदूरमा गौरा र अटवारी पर्व मनाईदै छ । पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको विश्वास गरिन्छ । सोही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरुप गौरा पर्व मनाउने परम्परा चल्दै आएको मानिन्छ ।
गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाई पर्वको थालनी गर्दछन । यहाँका महिलाले गहु, केराउ, गहत, मास र गौरस मिसाएर तामाको भाँडामा भिजाउँछन् । यी पाँच अन्नलाई बिरुडा भनिन्छ ।
गौरापर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख साट्ने पनि गरिन्छ । गौरामा रोजगारीका लागि घरबाहिर रहेका घर फर्किन्छन् भने विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।
त्यसैगरी सुदुरमा अटवारी पर्व पनि सुरु भएको छ ।यो पर्व हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन मनाइन्छ । अटवारी मुलतः थारू समुदायका पुरुषले मनाउने भएपनि महिला पनि अटवारी ब्रत बस्ने गर्दछन् ।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेतका थारू समुदायले अटवारी पर्व मनाउने गरेका छन् । थारू समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो ।
अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । र, साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने गर्दछन् ।
अटवारी पूजामा रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन छ ।
अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको छ । यसैबीच, सुदूरपश्चिम प्रदेशमा आज अटवारी पर्वमा सार्वजनिक बिदा दिइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment