Friday, August 28, 2020
गौरीफन्टा नाका कञ्चनपुरको जिम्मामा, डोके बजार क्षेत्रको व्यवस्थापन पुनर्वासले हेर्ने
कञ्चनपुर, १२ भदौ ।
सञ्चार माध्यमहरुमा लामो समयदेखि कैलालीको गौरीफण्टा भन्सार भनेर पढदै र सुनिदै आएकोमा अब त्यो नपढिने र नसुनिने भएको छ । गौरीफन्टा
नाका स्थापना भएदेखि नै गौरीफन्टामा सुरक्षा दिदै आएको कैलालीको सुरक्षा टोली बुधबार त्यहाँबाट फिर्ता भएको छ । बुधबारदेखि गौरीफन्टा नाका र त्योसंगै जोडिएको डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको छ ।
गौरीफन्टा नाका र र सीमा क्षेत्रमा खटिएको कैलालीको सशस्त्र प्रहरी र प्रहरीको ठाउँमा कञ्चनपुरले बुधबारदेखि आफ्नो सुरक्षा टोली तैनाथ गरेको हो ।
कञ्चनपुरको भूभागमा पर्ने भएपनि डोकेबजार क्षेत्रमा हालसम्म कैलालीको प्रहरी र सशस्त्र प्रहरीले ड्युटी गर्दै आएको थियो ।
दुबै जिल्लाका सीमाना ‘क्लियर’ गर्ने दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहमतीपछि कञ्चनपुरको सीमाना भित्र पर्ने डोके बजार र गौरीफन्टा नाकाबाट कैलालीको सुरक्षा टोली फिर्ता भएको हो ।
आफ्नो भूभागमा फिर्ता भएसंगै यसअघि डोकेबजारमा रहेको होल्डिङ सेन्टरको सुरक्षा तथा व्यवस्थापन गर्दै आएको कैलालीको सुरक्षा टोलीले मोहना पुल छेउमा कैलालीकै सीमामा होल्डिङ सेन्टर स्थापना गरेको छ । अव भारतबाट आउने नेपालीहरुको व्यवस्थापन यहीबाट हुनेछ ।
लकडाउन भएयता कैलालीका प्रमुख जिल्ला अधिकारीको समन्वय र प्रयासमा झण्डै अढाई लाख नेपाली गौरीफन्टा नाका भएर धनगढी भित्रिएका थिए ।
अहिलेसम्म गौरीफन्टा नाकामा कुनै समस्या हुदा कैलालीका प्रमुख जिल्ला अधिकारीले लखिमपुर खिरी जिल्लाका सुरक्षा अधिकारीसंग संवाद र समन्वय गरेर सबै समस्या हल गर्दै आएका थिए ।
तर अव त्यो जिम्मेवारी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको हुनेछ ।
सीमामा दुई जिल्लाका सुरक्षाकर्मी तैनाथ हुदा त्यसले आवातजावत गर्ने सर्वसाधारण र मालवाहक सवारी साधनहरुलाई भने झञ्झट हुनेछ ।
सीमामा पहिले जाँच कञ्चनपुरको सुरक्षा टोलीले गर्नेछ । र त्यहाँ निस्किएका सर्वसाधारण र मालवाहक साधनलाई पुल वारी आईसकेपछि कैलालीको सुरक्षा टोलीले पुनः जाँच गर्ने छ । दोहोरो जाँचले सर्वसाधारणहरुलाई भने सास्ती हुनेछ ।
अस्तिसम्म भारतबाट आउने सर्वसाधारणहरु डोके बजारबाटै बस तथा सवारी साधनमा चढेर गन्तव्य जान पाउथे । तर हिजोदेखि भने भारतबाट आउने हरेक व्यक्ति पैदल पुल तरेर भन्सार कार्यालय छेउमा स्थापना गरिएको होल्डिङ सेन्टरमा बस्नु पर्नेछ । साना नानी र भारी सहित भारतबाट आउने नेपालीहरुले पैदल र चर्को घाममा पुल पार गर्नुपर्ने झञ्झट त शुरु भयो नै । लकडाउन बाहेकको अन्य समयमा दुई जिल्लाका सुरक्षा निकायको चेकजाँचको झञ्झट समेत व्यहोर्नु पर्ने भएको छ ।
भारतबाट आएका नेपालीहरुलाई डोकेबजारबाट बस तथा सवारी साधनहरुले गन्तव्य पुर्याउने गरेका थिए । अबदेखि धनगढीबाट सवारी साधनहरु डोकेबजार जान पाउने छैनन । सबै सवारी साधनहरु पुल वारी नै रोकिनेछन् ।
यसअघि भारतबाट आउने नेपालीहरुलाई डोकेबजार क्षेत्रमा होल्डिङ सेन्टरको स्थापना गरी कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको समन्वय र पहलमा खाना, पानी, यातायातको व्यवस्था मिलाईएको थियो । अबदेखि त्यसको सम्पूर्ण जिम्मेवारी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको हुनेछ ।
हालसम्म भारतबाट आएका कुनै व्यक्तिबाट अबैध सामान तथा लागु पदार्थ भेटिएको अवस्थामा कैलालीको प्रहरीले मुद्दा चलाउथ्यो । र त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कैलालीको प्रहरीले नियन्त्रणमा लिन्थ्यो । अबदेखि सीमामा कुनै अपराधिक क्रियाकलाप तथा अबैध सामान ओसारपसार लगायतका कानुन विपरितका क्रियाकलापमा संलग्न भएको पाईएमा कञ्चनपुरको सुरक्षाकर्मीले नियन्त्रणमा लिई कञ्चनपुरमै मुद्दा चलाउनेछ ।
हालसम्म गौरीफन्टा नाकामा कैलालीको प्रहरी र सशस्त्र प्रहरीसंगै धनगढी उपमहानगरपालिकाको स्वास्थ्य टोली भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि खटिएको थियो । अव धनगढीको स्वास्थ्य टोली त्यहाँबाट फिर्ता हुनेछ । र त्यहाँ कञ्चनपुरकै स्वास्थ्य टोली खटिने भएको छ । डोकेबजार क्षेत्र कञ्चनपुरको पुनर्वास नगरपालिकाको मातहतमा छ । हालसम्म डोकेबजार क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य, सुरक्षा र व्यवस्थापनमा धनगढी उपमहानगरपालिकाले सहयोग समन्वय गर्दै आएको थियो । तर अव त्यो जिम्मेवारी पुनर्वास नगरपालिकाको हुनेछ ।
पहिले गौरीफन्टा नाकामा समस्या हुदा कैलालीका प्रमुख जिल्ला अधिकारी नाकामा पुगेर समस्याका बारेमा जानकारी लिई त्यसको समाधानका लागि खिरी जिल्लाका सुरक्षाअधिकारीसंग संवाद गर्थे । र हरेक पटक दोहोरो संवादबाट सबै समस्याको सहजै समाधान निस्किएको थियो । अव गौरीफन्टा नाकामा कुनै समस्या उत्पन्न भएमा कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीले समाधान गर्नुपर्ने छ ।
पूर्ण रुपमा कैलालीमा निर्भर गौरीफन्टा नाकाको सम्पूर्ण सुरक्षा र प्रशासनिक जिम्मेवार कञ्चनपुरले लिएपछि सीमामा आवात जावत गर्नेहरुले सास्ती खेप्नु पर्ने भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले डोकेबजार क्षेत्र आफ्नो मातहतमा नरहेकोले त्यहाँबाट कैलालीका सुरक्षा टोली फिर्ता भएको बताए ।
गौरीफन्टा नाका र डोकेबजार सदरमुकाम महेन्द्रनगरबाट टाढा छ । टाढाबाट दृष्टि पुरयाउन हामीलाई पनि गाह्रो थियो । त्यही कारण कैलालीले त्यहाँको सुरक्षा हेर्दा हामीलाई पनि सजिलो भएको थियो, प्रजिअ खतिवडाले भने, तर कानुनी रुपमा त्यो हाम्रो अधिकार क्षेत्र भित्र भएकोले आफैले हेर्ने निर्णय गरेका हौ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले कैलालीका प्रमुख जिल्ला अधिकारीसंगको छलफलपछि हिजोदेखि गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा कञ्चनपुरबाट सुरक्षा टोली खटाएको बताए ।
कैलालीमा जारी गरिएको निषेधाज्ञाले डोकेबजारमा काम गरेन । त्यहाँ निषेधाज्ञा नहुदा चहलपहल यथावत रहेको र त्यसले संक्रमण फैलाउने जोखिम बढेको भन्ने गुनासो आयो । अहिलेसम्म कैलालीले हेरेपनि त्यो भूभाग कञ्चनपुरको हो, प्रजिअ खतिवडाले भने, हिजोदेखि त्यो भूभाग र नाका हामीले हेर्न थालेका छौ । कञ्चनपुरले हेर्ने कुरा स्वाभाविक हो । कुनै असमझदारी भएर होईन ।
पश्चिम टुडेबाट।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment