Monday, September 7, 2020

आज निजामती सेवा दिवस : जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभयो । विसं २०१३ मा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो ।
उहाँले कर्मचारीलाई राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटामा अग्रसर हुनसमेत आग्रह गर्नुभयो । सन्देशमा उहाँले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्नेसमेत कामना गर्नुभएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्रसेवकप्रति यस अवसरमा प्रधानमन्त्रीले सम्मानसमेत प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । “तानाशाही शासनविरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नुपरेको पीडा र गर्नुपरेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका सङ्घर्ष सकारात्मक र प्रशंसायोग्य नै छन्”, उहाँले सन्देशमा भन्नुभएको छ, “ तपाईंहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका छन् र तपाईंहरुका मागहरु पनि पूरा भएका छन् । ”
नेपालका विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक शासन व्यवस्थामा कर्मचारीको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको सन्देशमा बताउनुभएको छ । लोकतन्त्रका लाभको वितरण नागरिकसम्म पु¥याई जनताको सेवा गर्न तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
निजामती कर्मचारीमाथि लाग्ने गरेका तमाम आरोपलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रुपान्तरण गर्नु जरुरी रहेकामा उहाँले जोड दिनुभएको छ ।निजामती सेवाका संरचनालाई सङ्घीय शासन व्यवस्थानुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभएको छ ।
कोभिड–१९ लगायत समयसमयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता विपद्का अवस्थामा कर्मचारीले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएकोे छ । मुलुकभर सोमबार निजामती सेवा दिवस मनाइँदै छ ।रासस

No comments:

Post a Comment