Friday, September 25, 2020

कुलमानलाई कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छु : ऊर्जामन्त्री


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आफूले कुलमान घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको बताएका छन् । उनले त्यसबारे छलफल भइरहेको पनि बताए । यस्तै, उनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । कुलमान हटेपछि बारम्बार बिजुली जाने गरेको छ । यसबाट सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
कतै फेरि चलखेल त भइरहेको छैन भन्ने सम्मका आशंका समेत हुन थालेको छ । सर्वसाधारणले कुलमानलाई पुनः नियुक्ति गर्न समेत जोडदार माग गरिरहेका छन् । तर सरकारले अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सम्बन्धमा निर्णय गर्न सकेको छैन । यता, बारम्बार लोडसेडिङ हुन थालेपछि ऊर्जामन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिएको बताएका छन् । “जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्”, मन्त्री पुनले भने, “नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं” मन्त्री पुनले भने ।
मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही व्यक्तिले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै त्यस्ता प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए । “समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र केही नियोजित गुनासा आएका छन्”, मन्त्री पुनले भने, “जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।”
उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने बताए । यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिए । मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने–जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे ।
रासस

No comments:

Post a Comment