Thursday, September 24, 2020

शुक्रबारसम्म भारी वर्षा हुने




काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार विहान (अहिले) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा अति भारी वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा अति भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

यसैबीच, आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा अति भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा हवाई तथा स्थलगत यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ । 
विभागकी मौसमविद् गंगा नगरकोटीका अनुसार पछिल्लो २० घण्टामा काठमाडौंमा ६०.५ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
नगरकोटीका अनुसार शुक्रबारसम्म लगातार वर्षा हुने र घाम लाग्ने छैन । शनिबारबाट क्रमिक रुपमा मनसुनको सक्रियता घट्दै जाने छ । यद्यपि शनिबार पनि प्रदेश–१ र प्रदेश–२ मा भने मनसुन सक्रिय नै रहने छ । 
पश्चिमी वायू र स्थानीय वायू सक्रिय हँुदा
केही क्षेत्रमा एक सातासम्म वर्षा हुने विभागको भनाइ छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेका कारण नेपालमा वर्षा भइरहेको हो । 
सामान्यतः सेप्टम्बर २३ (हिजो) नेपालमा मनसुन अन्त्य हुनु पर्ने हो । तर यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै एक साता मनसुन सक्रिय रहने छ । “सामान्य अवस्थामा सेप्टेम्बर २३ मा मनसुन सक्रिय हुन्छ भन्ने हो । तर यो पटक अझै केही समय मनसुन सक्रिय नै हुने देखियो,” मौसमविद् नगरकोटी भन्छिन्, “मनसुन अझै एक सातासम्म जारी रहन्छ ।”
३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।  
  

No comments:

Post a Comment