काठमाडौ। यो वर्षको लक्ष्मी पुजाको विद्युत माग पनि बिगतका वर्षझै घटेको छ। विगत ३ वर्षदेखि लक्ष्मी पूजाको दिनको अधिकतम विद्युत माग घट्दै आएको छ।
यो वर्ष पनि लक्ष्मी पूजाको दिन विद्युत माग ११ सय मेगावाट भन्दा बढी हुन नसकेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए l
निमित्त कार्यकारी निर्देशक शाक्य र ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिएका थिए।
लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुने भएकाले शाक्य र पुन प्राधिकरणको भार प्रेषण केन्द्रमा उपस्थित भएका थिए। पीक आवरमा बढीमा ११ सय ५० मेगावाटसम्म विद्युत खपत हुने अपेक्षा गरेका गरेपनि अन्तत करिब ११ सयको वरीपरी मात्रै विद्युत खपत भएको कार्यकारी निर्देशक शाक्यले बताए।
अघिल्लो वर्ष पीक आवरमा ११ सय २८ मेगावाट विद्युतको माग भएको थियो। त्यसैको आधारमा बढीमा ११ सय ५० मेगावाटसम्म खपत हुने अपेक्षा गरिएको थियो। तर कम विद्युत खपत गर्ने बत्तीको प्रयोग र धेरै जनाले यो वर्ष कोभिड प्रभावका कारण हर्षउल्लासका साथ दिपावली नगरेकाले विद्युत माग यो वर्ष पनि घटेको हो।
शाक्यले शनिवार मुलुक भरका स्टेशन प्रमुखसँग सम्पर्क गरी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका थिए। विद्युत माग भन्दा आपूर्ति धेरै भएकाले कुनै पनि ठाउँमा समस्या नआउने दावी गरिए पनि शनिवार साझ उपत्यकाकै विभिन्न ठाउँमा बत्ती झ्याप झ्याप आउने जाने समस्या भने रहेको थियो।
शाक्यले अब आफ्नो ध्यान क्वालिटी, सर्भिस र विद्युत महसुल घटाउनेमा केन्द्रित हुने बताएका छन्। अहिलेको चुनौति भनेकै गुणस्तर बढाउने हो। केही समय अझै व्यवस्थापनका लागि दुःख गर्नुपर्छ। त्यसपछि विस्तारै विद्युतमा आत्मनिर्भर हुन सक्ने उनको भनाई छ।
भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले पनि दिपावलीको लक्ष्मीपूजाका लागि हरेक वर्ष योजना बनाउँदै आएको भन्दै यो वर्ष पनि १३ सय २० मेगावाट विद्युत रिजर्भ राखेको बताए। प्राधिकरणको ५ सय २० मेगावाट, निजी क्षेत्रको ४ सय ६० मेगावाट र बाँकी भारतबाट आयात गरेर १३ सय मेगावाट विद्युत प्रणालीमा राखिएको उनले बताए।
उनले अरु बेला पनि प्रणालीमा १४ देखि १५ सय मेगावाटसम्म माग भयो भने सजिलै व्यवस्थापन गर्न सकिने अवस्थामा प्राधिकरण रहेको बताए।
No comments:
Post a Comment