काठमाडौं/उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताउनुभएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकार आबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १५ विद्यार्थी संगठनले बुझाएकोे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री वडुले उक्त जानकारी दिनुभएको हो । विद्यार्थी संगठनले आज बुधबारभित्र मूल्यवृद्धि फिर्ता गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
मन्त्री वडुले मूल्यवृद्धिको विषयमा चाँडै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संगठनलाई आन्दोलन नगर्न आग्रह पनि गर्नुभएको थियो । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले मन्त्री वडुले विद्यार्थीलाई ग्यासमा सहुलियत दिने र पेट्रोलियम पदार्थमा कर फिर्ता लिने विषयमा चाँडै नै सरकारले निर्णय गर्ने बताउनुभएको जानकारी दिनुभयो।
विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मटीतेलमा विद्यार्थीहरूलाई सहुलियत दिन माग गरेका छन् । विद्यार्थी संगठनले मूल्य फिर्ता नभए भोलि बुधबार नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । आयल निगमले गत वैशाख ३१ गते र जेठ ८ गते पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो ।
No comments:
Post a Comment