कञ्चनपुर/१७ जेठ
तापक्रम ४३ डिग्री उकालो लागेपछि कञ्चनपुरका विद्यालयहरुमा पढाइ प्रभावित भएको छ । गर्मी छ्ल्न कतै विद्यालय बन्द गरिएको छ भने कतै पठनपाठनको समय परिवर्तन गर्न गरिएको छ । जिल्लास्थित पालिकाहरुले ती पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा तथा पठनपाठनको समय परिवर्तन गर्न भन्दै सूचना जारी गरेका छन ।
कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाले १७ र १८ गते गरी दुई दिन विद्यालयमा पठनपाठन रोक्न भनेका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा निकै समस्या भएको र अभिभावकहरुले पनि बिदाको माग गरेकाले दुई दिन विद्यालयहरु बन्द गर्न भनिएको छ । उक्त बिदा हिउँदे तथा वर्षे बिदाबाट मिलान गरिने पनि सूचनामार्फत जनाइएको छ ।
बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, दोधराचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले भने विद्यालय सञ्चालनको समय परिवर्तन गर्न भनेका छन् ।
बेलडाँडीले हिजो १६ गते सूचना जारी गर्दै सोही दिनदेखि २१ गतेसम्म बिहान १०:४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको छ । बेलौरीले आज र भोलि (१७ र १८ गते) दुई दिन ७ देखि १०:३० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ । शुक्लाफाँटाले भने १४ गते नै सूचना जारी गर्दै सोही दिनदेखि २० गतेसम्म बिहान ७ देखि १० गतेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ ।
पुनर्वासले पनि हिजो १६ गतेबाट २० गतेसम्म ७ देखि १०:४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको छ भने दोधाराचाँदनीले आजबाट २३ गतेसम्म ७ देखि १० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ ।
जिल्लाका ९ मध्ये ७ पालिकाका विद्यालयहरुमा बिदा तथा पठनपाठनको समय परिवर्तन गर्न लगाइएको छ ।