Wednesday, November 13, 2024

"खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भनेपछि रविलाई बढाईयो कडा सुरक्षा

भैरहवा, कार्तिक १८
"खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि रवि लामिछानेलाई थप सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि माथिको आदेशमा रुपन्देही प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको  हो ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो दिन पनि कडा सुरक्षाबीच सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको छ ।

पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान लिइएको थियो । बुधबार दोस्रो दिन बयानलाई निरन्तरताका लागि बिहान १० बजे लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको हो ।


उनलाई प्रहरीले घेरा बनाएर पत्रकार र समर्थकमाझ नदेखिने गरि कडा सुरक्षासहित बयानका लागि लगिएको हो ।

सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृत नै खटिएर नेपाल र सशस्त्र प्रहरीको घेरामा बयान कक्षसम्म पुर्‍याइएको छ ।
प्रहरीको गाडीभित्र रहेका लामिछानेलाई परिसरभित्रै गाडी राखी भित्री बाटोबाट बयान कक्षसम्म लगिएको थियो । लामिछाने बाहिर नदेखियुन् भन्न लागि बयान कक्षसम्मको बाटोलाई प्रहरीको घेरा बनाइएको थियो ।

मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि माथिको आदेशमा रुपन्देही प्रहरीले घेरा हालेर लगेको हो ।

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले हरेक जिल्लामा लामिछानेबिरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए।

‘जति जिल्लामा उजुरी दर्ता हुन्छ, त्यहीँको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, एकै प्रकृतिको कसुरमा एकै चरणमा अनुसन्धान भए पनि गाभ्न मिल्दैन,’ उनले भने ।

स्थानअनुसार प्रमाण फरक–फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनले बताए । अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरू लगायतको उपस्थितिमा सवा १० बाट बयान सुरु भएको छ ।

पहिलो दिन केही प्रश्न सोधिएको थियो । यसअघि त्यही कसुरमा उनका साझेदार तथा पूर्वडीआईजी छविलाल जोशीसँग पनि बयान लिएको थियो । छविसँग ५६ वटा प्रश्न गरिएको थियो ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप बयान लिन यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएको बताए ।

‘रविविरुद्ध परेको सहकारी ठगीसम्बन्धी कसुरमा पहिलो दिन ३ घण्टा ३५ मिनेट बयान लिइएको थियो । प्रारम्भिक बयान भयो , लेखबद्ध गर्ने काम बाँकी छ, बयान गर्दै जाँदा कहिले सकिन्छ भन्न सक्ने अवस्था छैन ’, उनले भने ।
     पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
     जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो ।
     रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
    बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
     रुपन्देही ल्याएसँगै रास्वपा र सहकारी पीडित दुवै पक्षले प्रदर्शनको गरिरहेका छन् । सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा वरिपरि प्रशासन निषेध गरी बयान जारी राखेकोले विरोध प्रदर्शन पनि भइरहेको छ ।

Friday, November 8, 2024

ईन्धन डिपोमा आगलागी हुने डरले धनगढीवासी रातभर निदाउँदैनन, पुनर्वासको पैसट्ठी विगाहमा ईन्धन डिपो सार्ने प्रयास जारी

कैलाली/२३ कार्तिक ।
धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ ।
स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्छन् । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठुल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ ।
“घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ”, माधवीले भने, “डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ ।” केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ ।

डिपो अगाडि नै रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन् ।

नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंह सम्झन्छन् ।

चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाउछन् । “कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित छौँ”, उनी भन्छन्, “आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन् ।”

केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपेको बताउछन् ।

“डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयो भने आसपास मात्र नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ”, प्रमुख हमालले भने, “लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ, दुर्घटनाको जोखिम छ, बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ ।” डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटकपटक आग्रह गरिएको बताउँदै उनले निगमका तर्फबाट पनि डिपो सार्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिए ।

पुनर्वासमा डिपो सार्ने योजना, कार्यान्वयनमा ढिलाइ
निगमले डिपो स्थानान्तरण गर्ने योजना तर्जुमा गरे पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन ।

निगमका उपनिर्देशक प्रदीप यादव पनि डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउछन् । “घना बस्तीका बीचमा डिपो छ, यसलाई स्थानान्तरण गर्नैपर्छ”, उपनिर्देशक यादवले भने । सुरक्षा मापदण्डअनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ । निगमले यसअघि समिति गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोजेको थियो ।

धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीशप्रसाद जैसी बताउछन् । हाल डिपो रहेको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा ‘लोडअनलोड’ गर्न पनि समस्या भएको उनले बताए।

हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गर्ने सरकारको योजना छ । भण्डारण क्षमता बढाउन निगमलाई चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ । निगमको धनगढीस्थित डिपो कुल एक विगाह आठ कठ्ठामा फैलिएको छ ।

उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुई वटा ‘भर्टिकल ट्याङ्क’ र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।
उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्नेछ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।