Saturday, October 13, 2018

पुर्णलक्ष्मी चलचित्र मन्दिर आईबिआरडीमा छक्कापञ्जा हेर्नेको घुइँचो




फिल्म समिक्षा

छक्का पञ्जा ३: दर्शकको पैसा असुल हुने फिल्म


फिल्मका सिक्वेलहरूलाई अरूबाट भन्दा पनि आफ्ना अघिल्ला सिक्वेलबाटै खतरा हुन्छ। तिनको चुनौती भनेकै सार्वजनिक भइसकेका सिक्वेलभन्दा एक कदम अगाडि रहने वा कम्तीमा कम नहुने भन्ने हुन्छ।

चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ बाट घरघरमा छाएको टोलीले टिभीको सानो पर्दाबाट सिल्भर स्कृनमा डेब्यू गर्दा दर्शक सुरूमा केही हच्किए। पनि पछि साथ दिए। २०७३ सालमा दिपकराज गिरी तथा दीपाश्री निरौलाको टोलीले ‘छक्का पञ्जा’ रिलिज गर्‍यो।


यसले नेपाली फिल्म बजारमा नयाँ आयतनको एउटा सम्भावना देखाइदियो। फिल्मको व्यापार असोचनीय थियो। उनीहरूले दोस्रो श्रृखंला बनाए। फिल्मले केही विवादको सामना गरे पनि दर्शकका लागि राम्रै खुराक बन्यो।

तेस्रो श्रृखंला बुधबारबाट रिलिज भएको छ। तेस्रो फिल्मले आफ्ना दुई श्रृखंलालाई उछिनेको छ। यसपटक विषय उठाएको छ-नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथिति।


फिल्मले झुलेबस्ती - ६ नामक कुनै प्रतिनिधि गाउँमा निर्वाचनलाई नेपथ्यमा राख्दै आफ्नो कथा प्रस्तुत गरेको छ।

गाउँमा विद्यालय छ- खानी डाँडा माध्यामिक विद्यालय। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्- काजी (नीर शाह)। काजीले चुनावमा टिकट पाउने पक्कापक्की हुन्छ। तर, उनको राजनीति सहज छैन। वाङ्देल (शिशिर वाङ्देल) उनको बाटोको तगारो बन्छन्। वाङ्देल गरिबका छोराछोरी पढ्ने सामुदायिक स्कुलको पछिल्लो हालतबाट खुसी छैनन्।

स्कुलमा शिक्षक छन् तर राम्रो पढाउँदैनन्। भएका नेपाली शिक्षक अंग्रेजी पढाउँछन्, जग्गाको दलाली गर्छन्। पढाउन नजान्ने जँड्याहा बाबु छोराको खेताला शिक्षक बन्छन्।

बिहे भोज पनि गाउँकै स्कुलमा हुन्छ। हेड मास्टरकी छोरी अंग्रेजी स्कुलमा पढेर अष्ट्रेलिया जाने तयारीमा छिन्।

यस्तैमा आएको चुनावमा वाङ्देलको तगारोले काजीको राजनीति धरापमा पर्छ। परिस्थितिविरूद्ध भएपछि पण्डितको सल्लाहमा आफूलाई छोडेर गएकी श्रीमतीसँग भएको छोरो (राजा) लाई गाउँ बोलाउँछन्। ८ कक्षा फेल छोरो पनि कोहीभन्दा कम्ती छैन। ऊ छक्कापञ्जाको उस्ताद हुन्छ। यस्तै फिल्ममा काजीका निजी स्कुल सञ्चालक भाइ र भाइको छोरो सानुकाजी (अनुराग कुँवर) पनि छन्।

राजा (दिपकराज गिरी) को गाउँ प्रवेशसँगै राजनीतिको वर्चश्वका लागि हुने भिडन्त नै ‘छक्का पञ्जा ३’ को कथा हो।

फिल्मले यिनै पात्ररू आ-आफ्नै स्वार्थ, मनोदशा र परिस्थितिबाट भविष्यका कर्णधार बालबालिकाको उचित शिक्षा पाउने अवसर कसरी प्रताडित हुन्छ भनेर देखाएको छ।

फिल्मको एक दृश्यमा मन्त्री भन्छन्,‘तपाईं राजनीति गर्न चाहनुहुन्छ भने विद्यालयबाट सुरू गर्नुहोस्।’

यो संवादले कसरी नेपालका सरकारी तथा सामुदायिक विद्यालय शिक्षाको मैदान कम र राजनीतिको रणमैदान बढी हुन्छ भन्ने स्पष्ट देखाएको छ।

नेपालका धेरै सामुदायिक स्कुलको हालत खानीडाँडा स्कुलले प्रतिनिधित्व गर्छ।

अरूसँगभन्दा पनि आफ्नै फिल्मसँग डराइरहेकी छु: दीपाश्री निरौला
समग्रमा फिल्मले गम्भीर मुद्दा उठाएको छ। त्यस गम्भीर विषयलाई उसले दर्शकलाई हसाउँदै व्यंग्यात्मक शैलीमा भनेको छ।

कलाकारको ठूलो भीडलाई सन्तुलनमा राख्दै फिल्मले आफ्नो कथालाई पर्दामा दर्शकको रूचिअनुसार प्रस्तुत गरेको छ। फिल्म आफ्नो विषयमा गम्भीर छ। उसले अनावश्यक बोझ दर्शकलाई थोपरेको छैन।

सामुदायिक विद्यालयको अवस्थासँग जानकारले यसमा आफूलाई पनि पाउँछन्। ठूलो लगानीका बाबजुद नेपाली सामुदायिक विलालय किन पछाडि परेको छन् भन्ने विषयलाई फिल्ममा उत्कृष्ट तरिकाले पस्किएको छ।

फिल्म हेरिरहँदा दर्शकले मनोरञ्जनका साथमा देशमा के भइरहेको छ त्यससँग पनि साक्षात्कार गर्ने अवसर मिल्छ।

फिल्मका सबै कलाकारहरूले जो सानो-ठूलो भूमिकामा छन् उनीहरूले आफ्नो पात्रलाई सटिक निभाएका छन्। कोही पनि कलाकार कोहीभन्दा कम लाग्दैनन्।

केदार घिमिरे ‘माग्ने बुढा’ को टाइमिङ दर्शकलाई विशेष मन पर्छ। त्यस्तै जितु नेपाल, बुद्धि तामाङ, अनुराग कुँवर, नीर शाह, शिवहरि पौडेल आदिले आफ्नो भूमिकालाई न्याय गरेका छन्।

फिल्ममा गमलीको भूमिकामा अभिनय गर्ने नव कलाकार अहाना पोखरेलको काम राम्रो छ, दर्शकको मन जित्छ।

यसैगरी लेखनको कोणबाट दिपकराज गिरीको मिहिनेत यस फिल्म अझ बढी देखिन्छ। उनले पात्रहरूको भीडलाई सन्तुलन मिलाएर लेखेका छन्। यद्यपी एक्का दुक्का ठाउँमा उनी चिप्लेका छन्।

फिल्मको अन्त्यमा सबै पात्र एकै ठाउँमा आउँदा दुई पात्र ‘लाला’ दीपाश्री निरौला र स्वस्तिमा खड्का हराउँछन्। त्यसमा ध्यान नदिएको देखिन्छ।

यस्तै दिपकले जितु नेपाल र केदार घिमिरेसँग मिलेर लेखेको संवादले दर्शकलाई पेट मिचिमिचि हाँस्न बाध्य पार्छ। यसपटक उनले बढी हँसाउने भन्दा पनि परिस्थितिजन्य संवादमा जोड दिएका छन् जसका लागि उनको तारिफ गर्नैपर्छ।

यसका अलावा सम्पादनमा पनि उतिसारो खोट लगाउने ठाउँ छैन।

फिल्मकी निर्देशक दिपाश्रीले निर्देशनको कोणबाट राम्रो काम गरेकी छन्। यद्यपी फिल्मलाई चम्किलो बनाउने नाममा उनले भरेको झुलेबस्तीको क्यानभास फिल्म हेरिरहँदा अलि ठूलो भएझैं लाग्छ।

फिल्मको अन्तिम दृश्यमा वाङ्देलले बुके दिएको दृश्य गलत लाग्छ। गाउँघरमा बुकेको चलन छैन।

ती यस्ता त्रूटिबाहेक उनको निर्देशनले फिल्मको कथालाई न्याय गरेको छ। उनी के देखाउन चाहन्थिन् त्यो उनले देखाएकी छन्। उनले फिल्ममा महिला पात्रलाई बलियो स्थान दिएकी छन्।

पर्दामा दिपिका र दिपकराजको उपस्थितिबाट यसलाई सहज महशुस गर्न सकिन्छ।

समग्रमा फिल्म राम्रो बनेको छ। दर्शकका लागि मनोरञ्जनात्मक साथमा सामाजिक बेथितिसँग पनि साक्षातकार गराउन फिल्म सफल छ।

यस श्रृखंलाले पनि आफ्ना अघिल्ला श्रृखंला झैं हलमा दर्शकको ओइरो लाउनेमा दुई मत छैन। गम्भीर फिल्म शैली मन पराउनेका लागि यो फिल्म होइन।





Mahindra
sanima bank
ntc




Friday, October 12, 2018

निर्मला हत्या प्रकरण : एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति उखुबारी पुग्यो


कञ्चनपुर – निर्मला पन्तको घटनाको अनुसन्धानमा खटिएका प्रहरीमाथि छानबिन गरिरहेको एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनास्थलको अवलोकन गरेको छ ।
शुक्रबार महेन्द्रनगर पुगेको छानबिन समितिले अनुसन्धानमा खटिएका आधा दर्जन बढी अनुसन्धान टोली, प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग भेटघाट तथा छलफल गरेको थियो ।
सुरक्षा प्रमुखलगायतसँगको छलफलपछि समितिले निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको उखुबारीको अवलोकन गरेको हो ।
घटनास्थल पुगेपछि छानबिन समितिका संयोजक बस्नेतले निर्मलाको साइकल र किताब भेटिएको ठाँउ, शव भेटिएको उखुबारी र घटनाको प्रकृति, शवको अवस्थालगायत विषयमा जानकारी लिनुभएको थियोे ।
छानबिन समिति गठन भएको झण्डै एक महिनामा कञ्चनपुर पुगेको समितिले घटनास्थल र शवको प्रकृतिका बारेमा सुक्ष्म रुपमा जानकारी लिएको छ ।
घटनास्थलको अवलोकनपश्चात समितिले निर्मलाको परिवारसँग भेटघाट तथा सोधपुछ गरेको थियो । समितिले निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ । समितिले शनिबार नागरिक समाज, पत्रकार, अधिकारकर्मीलगायतसँग छलफल गर्ने कार्यक्रम समेत तय गरेको छ ।
अनुसन्धान र छानबिनका बारेमा छानबिन समितिले शनिबार मात्रै जानकारी दिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । समितिले थप सोधपुछ र अनुसन्धान गरिरहेकाले सबै कुरा बुझेर शनिबार मात्रै आफ्नो भनाई राख्ने उहाँले बताउनुभयो ।
निर्मलाको हत्याको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको आक्षेप लागेपछि नेपाल प्रहरीले गएको भदौ ३१ गते अनुसन्धानमा खटिएका प्रहरीमाथि नै अनुसन्धान तथा छानबिन गर्नका लागि एआईजी बस्नेतको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको थियो ।
यसअघि, सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमा समेत पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको छानबिन समितिले असोज ९ गते गृहमन्त्रीलाई छानबिन समितिको प्रतिवेदन पेस गरिसकेको छ ।

Wednesday, October 10, 2018

शिरीष र परिको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक हुँदै

काठमाडौं ।
     द भोइस अफ नेपाल टेलिभिजन गायन प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरिरहेका नव गायक दिनेश न्यौपानेको स्वरमा सजिएको ‘छट्पटी’ बोलको गीतको म्युजिक भिडियोमा शिरीष र परिको रोमान्स देख्न पाइने भएको छ ।
मोडल तथा नृत्यकार शिरीष गौतम अनि उदयमान मोडल परि जोशीद्वारा अभिनित त्रिकोणात्मक प्रेम कथामा बनेको यस म्युजिक भिडियोको सुटिङ सुदुरपश्चिम प्रदेशका विभिन्न रमणीय ठाँउहरुमा खिचिएको छ ।
सिनेमेटोग्राफर तथा इडिटर रणधिर श्रेष्ठले छायांकन गरेको यस म्युजिक भिडियोमा ड्रोन क्यामेराको समेत प्रयोग गरिएको छ । अत्याधुनिक प्रविधिलाई प्रयोग गरि धेरै मेहनतका साथ बनाईएको म्युजिक भिडियो अत्यन्तै गुणस्तर बनेको मोडल गौतमले दाबी गरेका छन ।
यस म्युजिक भिडियोलाई चलचित्र निर्देशक जि.बि. आग्रीले निर्देशन गरेका हुन ।  पछिल्लो समय श्रीमतीले प्रेमीसंग मिलेर श्रीमानको हत्या गरेको घटनाहरु एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका बेला निर्देशक आग्रीले यस्तै प्रकारको घटनालाई ५ मिनेटको त्रिकोणात्मक प्रेम कथामा समेटेका छन ।
खराब श्रीमतीले चाहेमा प्रेमीसंग मिलेर श्रीमानको हत्या सम्म गर्न पछि पर्दैनन् भन्ने सन्देश यस म्युजिक भिडियोले दिने निर्देशक आग्रीले बताए ।
निर्देशक आग्री पछिल्लो समय काठमाडौ देखि भारत हुँदै सुदुरपश्चिममा आफ्नो पकड जमाएका निर्देशक मानिन्छन् । सिनेमेटोग्राफर तथा इडिटर रणधिर श्रेष्ठले गीत दसैंको अवसर पारेर सार्वजनिक हुने बताए । 

Friday, October 5, 2018

निर्मलाकी आमाकाे प्रश्न: प्रमाण मेटाउने मान्छे कसरी निर्दाेष हुन्छ ?

काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले अब आफूले न्याय पाउने सम्भावना मरेको गुनासो गरेकी छिन् ।

आइतबार घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका निलम्बित एसपी, उनका छोरा तथा स्थानीय मेयरका भतिजाको डिएनए रिपोर्टमा घटना संलग्न नभएको नतिजा आएपछि दुर्गाले यस्तो अभिव्यक्ति दिएकी हुन् । 

१० साउनमा साथीको घरमा गएकी निर्मला ११ साउनमा गाउँकै उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसयता सरकारले घटनाको छानबिन गर्न विभिन्न समिति बनायो । तर, अहिलेसम्म कुनै पनि छानबिन समितिले घटनाका दोषी भेट्न सकेका छैनन् । 

सबैभन्दा पहिले स्थानीय दिलिप सिंह विष्टलाई प्रहरीले दोषी भन्दै पक्राउ गरेको थियो । उनको डिएनए परीक्षणमा पनि उनको संलग्नता नभएपछि उनलाई छोडियो । दिलिपलाई पक्राउ गरेलगत्तै स्थानीयको चर्को विरोधपछि एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले निलम्बन गर्यो ।  उनीमाथि शंका गर्दै स्थानीयले उनको डिएनए परीक्षण गरिनु पर्ने माग राखेका थिए ।

यो बीचमा २८ भदौमा निर्मलाकी आमा दुर्गादेवी पन्तले काठमाडौंमा सार्वजनिक कार्यक्रममा रुँदै याचना गरेकी थिइन्– सरकारले मलाई न्याय दिओस्, के म नेपाली नागरिक होइन र ?

आइतबार निलम्बित एसपी डिल्लिराज विष्ट, विष्टका छोरा र भिमदत्त नगरका मेयरका भतिजाको डिएनए परीक्षणको नतिजा आएसँगै दुर्गादेवीले आफूले अब न्यायको आश मारेको बताएकी छिन् । 

आइतबार साँझ फरकधारसँग कुरा गर्दै उनले भनिन्, ‘अब न्याय पाइएला जस्तो छैन, यो देश हामीजस्ता नागरिकको होइन रहेछ ।’

उनले १ असोजमा प्रधानमन्त्रीलाई भेट्न गएको सम्झना पनि स्मरण गरिन् । ‘त्यही भेटमा आश मरेको थियो,’ उनले भनिन्, ‘निर्मलाका बुवालाई प्रधानमन्त्रीको अगाडी बोल्नै दिइएन । हामीसँग जानुभएका अधिकारकर्मीलाई पनि बोल्न दिइएन ।’

अर्कोतिर अहिले अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा नै पत्रकार सूर्य थापालाई दिएको अन्तर्वार्तामा पनि निर्मला हत्याकाण्डबारे कुरा गरेका छन् । त्यो अन्तर्वार्तामा उनले निर्मलाका हत्यारा भेटेर कारवाही गर्न १२ वर्षसम्म पनि लाग्न सक्ने बताएका छन् । 

हामीले यो कुरा निर्मलाकी आमालाई सुनायौँ । त्यसपछि स्तब्ध हुँदै दुर्गाले भनिन्, ‘सरकारले नै अपराधी बचाउन काम गरेको छ, एसपीले यहाँ प्रमाण मेटाउने काम गरे, उता सरकारले बेवास्ता गरेको छ ।’ 

उनीसँग प्रश्न छ, ‘अहिले अनेक कुरा गरिएको छ, तर घटनाको प्रमाण मेटाएको मान्छे कसरी निर्दोष हुन्छ ?’

दुर्गाले डिएनए परीक्षणमाथि पनि आशंका पोखिन् । ‘हामीले अन्दोलन गर्यौँ, न्याय चाहियो भन्यौँ,’ उनले भनिन्, ‘यिनीहरुले भने, डिएनए परीक्षण गरेको जस्तो गरिदिउँ न त भन्ने आशयमा डिएनए परीक्षण भयो, नत्र पहिले नै गरिन्थ्यो नि ।’ डिएनए परीक्षण भनेर सरकारले झुक्याएकोमा निर्मलाकी आमाको दुखेसो छ ।

‘ल, उनीहरु कोही अपराधी होइनन्,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘मेरी छोरी त अब फर्किन्न, सरकार र सरोकार पक्षले अपराधी पत्ता लगाउनु पर्दैन ?’

फरकधारसँगको कुराकानीमा उनले प्रश्न गरिन्, ‘सरकारले न्याय दिँदैन भने न्याय माग्न कहाँ जाऔँ ?’