Sunday, April 23, 2023

बेलौरीमा मान्छे मार्ने बाघ सदर चिडियाखानामा राखियो


 

कञ्चनपुर / बेलौरीबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ।
बेलौरी नगरपालिका–पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले जानकारी दिए। पोथी बाघ अन्दाजी पाँच वर्षको रहेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार शुक्लाफाँटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ सदर चिडियाखाना ल्याएको हो। यो बाघले ८ वैशाखमा पचुईकी ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो। घटनाको २२ घन्टापछि मात्र बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघविज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभाष श्रेष्ठसहितले हात्ती परिचालन गरी डार्ट गरेर नियन्त्रणमा लिएका थिए।

चन्द मृत फेला परेकी थिइन्। भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रनजिकै रहेको यहाँ एक महिनाअघि मात्र बाघको आक्रमणमा परी एक भारतीय र एक नेपालीको ज्यान गइसकेको छ।

नेपालमा सन् २००९ मा १२१ बाघ रहेकामा हाल यो संख्या ३५५ पुगिसकेको छ। शुक्लाफाँटा र वरपरको क्षेत्रमा मात्र ३६ बाघ रहेको अनुमान छ। तराई क्षेत्रमा रहेको लालझाडी–मोहना, वसन्ता र ब्रह्मदेव जैविक मार्गमा बाघको विचरण बढिरहेको छ। नेपाल र भारत दुवै देशमा फैलिएको तराई भूपरिधि क्षेत्रमा बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्वका घटना पनि बढेका छन्।

Saturday, April 22, 2023

बाघ आक्रमणमा बेपत्ता भएकी बेलौरीकी गंगा चन्द मृत फेला


कञ्चनपुर, ९ बाघ आक्रमणमा बेपत्ता भएकी बेलौरीकी गंगा चन्द मृत फेला परेकी छिन । 
बेलौरी नगरपालिका ८ पचुईकी ४२ बर्षिया गंगा चन्दलाई आक्रमण गर्ने बाघ शुक्रबार बिहान ८ बजेतिर फेला परे संगै गंगा पनि मृत फेला परेकी छिन । श्रृखलाबद्ध रुपमा मानिस माथि आक्रमण गर्दै आएको बाघलाई नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ विज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभास श्रेष्ठ सहित हात्ती परिचालन गरिएका थिए ।

महिला बेपत्ता पार्ने बाघ नियन्त्रणमा,महिलाको खोजतलास जारी


कञ्चनपुर ,९ बैशाख ।
बेलौरीमा महिला बेपत्ता पार्ने बाघलाई नियन्त्रणमा लिईएको छ । बेहोस पार्ने ईन्जेक्सन(डार्ट) दिई बाघलाइ नियन्त्रणमा लिईएको हो । शुक्रबार बिहान बेलाैरी नगरपालिका ८ की ४२ वर्षीया महिला गंगा चन्दलाई नजिकैकाे खप्टि नालामा  घाँस काट्न गएको बेला बाघले आक्रमण गरि बेपत्ता बनाएको थियोे ।  आक्रमण पश्चात् स्थानीय सहित सुरक्षाकर्मी दिनभर खाेजतलासमा खटिएको थियोे । तर झन्डै 
आज बिहान ८ बजे करिब २१ घण्टा पछि प्रहरीले बाघ नियन्त्रणमा लिएको छ । भने महिलाकाे अत्तोपत्तो  छैन् - ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक सन्दिप चन्द्र शाहले भने - " यतिबेला बाघलाई इन्जेक्सनले लठ्याइकाे छ - थप अप्रेसन जारी छ, हामी फिल्डमै छाैं ।"

शाहले  थपे - विषेश सुरक्षा टाेली सहित रातभर चार हात्ती लगाएर खाेजीकाे गरेका थियौं, प्रविधिक कठिनाइले आज बिहान मात्रै बाघलाई नियन्त्रणमा लिन सकियाे ।"
उनले यसपछि बेपत्ता महिलाको सुक्ष्म ढंगले खाेजी गरिने बताए ।
तर यता स्थानीयले महिलाको अनुसन्धानमा ढिलासुस्ती र फितलो भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

Friday, April 21, 2023

बेलाैरीमा बाघको आक्रमण परि एक महिला बेपत्ता


कञ्चनपुर, ८ बैशाख ।
  बेलौरीमा बाघको आक्रमणमा परी एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा बेलौरी नगरपालिका ८ कि ४२ वर्षीय गंगा चन्द रहेको प्रहरीले जनाएको छ ।

महिला आज बिहान करिब ११ बजेतिर खप्टिपुल नजिकै खेतबारीमा घाँस काट्न गएकी थिइन् । ड्रोन क्यामराबाट हेर्दा बाघ र महिला झाडीमा देखा परेका छन् । तर अहिलेसम्म बाघ नियन्त्रण लागि माथिको आदेश भन्दै प्रहरी अलमलमा छ ।

बाघ नालाको झाडीमा सुतेको अवस्थामा क्यामरामा देखिएको छ । उक्त ठाउँलाई स्थानीयले घेरेका छन् ।

अहिले सम्म कुनै पहल नभएको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।
  यस्तै, यसअघि गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी पुनर्वास नगरपालिका– १० की ३३ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो। त्यसको एक सातापछि बेलौरीसँग सीमा जोडिएको भारतीय बस्तीमा पनि बाघको आक्रमणबाट एक भारतीय महिलाको मृत्यु भएको थियो । भने महिना दिन नबित्दै फेरी यो घटना घटेको छ ।




Friday, April 14, 2023

पुनर्वासमा काेभिड–१९ डिजिटालाईजेशन कार्य शुरु




 
 कञ्चनपुर/पुनर्वास नगरपालिकाले कोभिड–१९ रोकथामका लागि लगाएको खोपको डिजिटालाईजेशन अभियान सुरु गरेको छ ।
माहामारी नियन्त्रणका लागि सरकारले ल्याएका विभिन्न खोपको रेकर्ड कागजमै हुँदा असहज भएकाले यसको सहजताका लागि डिजिटालाईजेशन अभियान सुरु गरिएको हो ।
बिहिबार पुनर्वास नगरपालिका–६ वडा कार्यालयको सभाहलमा जनप्रतिनिधि, संस्थाका प्रतिनिधि र सामाजाजिक परिचालकहरु बीच भएको समिक्षा कार्यक्रममा अहिले सम्म गरिएको काम, देखिएका समस्या र गर्नुपर्ने समन्वयका विषयमा बृहत छलफल गरिएको थियो ।
पुनर्वासमा जम्मा ६१ हजार ६ सय २८ जनसंख्यामा नोभेम्बर १५ देखि हालसम्म २४ हजार जनाको कोभिड–१९ डिजिटालाईजेशन भईसकेको र ५० हजार जनाको डिजिटालाईजेशन गर्ने लक्ष्य रहेको जनाईएको छ ।
कार्यक्रममा नगर प्रमुख तोय 
प्रसाद शर्माले देशभरमा ९ पालिका छनौट मध्ये सुदुरपश्चिममा पुनर्वास नगरपालिका कोभिड–१९ डिजिटालाईजेशनमा दोस्रो पालिका बनेको र यस अघि धनगढी उपमहानगरपालिकालाई छनौट गरिएको बताउनुभयो । उहाँले यस अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध भई लाग्ने समेत सुनाउनुभयो ।
खटिएका कर्मचारीलाई सहज रुपमा माग गरिएका कागजात दिई कोभिड–१९ डिजिटालाईजेशनलाई सफल बनाउन अहम भुमिका निर्वाह गरिदिन सम्पूर्ण जनप्रतिनिधि र स्थनीयहरुमा युएनडिपि सुदुरपश्चिमकी प्रमुख बैजन्ती गिरीले अनुरोध गर्नुभएको थियो ।
त्यस्तै निड्स नेपालका निर्देशक भवराज रेग्मीले जनप्रतिनिधि प्रति जनताका आशा थुप्रै रहेको कुरालाई जाड्दै कोभिड–१९ डिजिटालाईजेशन पुरा गर्न सके नगर विकासमा टेवा पुग्ने बताउनुभयो ।
यस अभियानले नगरपालिका भित्र के कतिले खोपको मात्रा लगाएको भन्ने अपडेट अनलाईनमै दिने र आवश्यक परेको अवस्थामा सहज तरिकाले हेर्नसकिने कार्यक्रम निर्देशक बिनोद कडाराले बताउनुभयो ।
युएनडिपिको आर्थिक सहयोग, नेपाल पर्यावरण तथा शिक्षा समाज कञ्चनपुरको आयोजना र पुनर्वास नगरपालिकाको साझेदारीमा पुनर्वास नगरपालिकाका ११ वटै वडाहरुमा सामाजिक परिचालका खटाई सो अभियान निरन्तर चलिरहेको कार्यक्रमका फोकल पर्शन रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
यसैगरी सामाजिक परिचालकहरुलाई कोभिड क्यू आर सम्बन्धी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी बासु जोशीले प्रोजेक्टर मार्फत प्रशिक्षण दिनुभएको थियो ।

Monday, April 10, 2023

पुनर्वास ईसाई समाजद्वारा ईष्टर सण्डेको अवसरमा वृहत र्‍याली तथा सभाको आयोजना

कञ्चनपुर/ पुनर्वास ईसाई समाजद्वारा ईष्टर सण्डेको अवसरमा आइतबार वृहत र्‍यालीको आयोजना गरिएको छ ।
पुनर्वासका क्रिश्‍चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी येशु ख्रीष्‍ट मृत्युबाट जीवित हुनुभएको बाइबलको सत्यतालाई स्मरण गर्दै पुनरूत्थान महोत्सव मनाएका हुन्।
   पुनर्वास भरीका चर्चबाट हजारौँको संख्यामा सहभागीता रहेको  इसाई समुदायले येशु ख्रीष्टको पुनरुत्थान दिवस ‘ऐतिहासिक पुनरुत्थान दिवस -२०७९’  शान्ति यात्रा गरि भव्यताको साथ मनाएका छन्।
 पुनर्वास नगरपालिका भित्रका ४२  मण्डलीहरु बाट करीब १ हजार ५ सय  बढी ईसाई धर्मावलम्बीहरु प्रतिभानगर टाउन बजारमा  उपस्थित भएर शान्ति पदयात्रामा सहभागी भएका थिए।
 येशू ख्रीष्ट पुनरूत्थान भएको घोषणा  सभालाई सम्बोधन गर्दै पास्टर हेमराज न्यौपानेले बाइबलमा उद्धार मुक्ति को बारेमा स्पष्ट रुपमा उल्लेख गरेका कुरा ऋगवेद र स्वेतवेदले समेत पुष्टि गरेको जिकिर गर्नुभयो।  यसैगरी ईसाई समाजका सल्लाहकार रेभ पास्टर राजकुमार तामाङले येशू ख्रीष्‍ट आइतबारका दिन विहानै मिर्मिरेमा चिहानबाट पुनरूत्थान हुनुभएको बताउनुभयो ।
 
त्यसैगरी आईबीआरडीको खुल्ला मञ्चमा सम्पन्न  कोणसभामा पास्टर दिल बहादुर तामाङले धर्मशास्त्रले पुष्टि गरेझैं येशू तेस्रो दिनमा फेरि उठ्नुभयो। अर्थात्, उहाँ निस्तार चाडको अघिल्लो दिन मर्नुभयो, त्यो शनिबार चिहानमा हुनुहुन्थ्यो, र अर्को दिन पुनरुत्थान हुनुभयो। किनभने ख्रीष्ट उठेको छ, हाम्रो विश्वास दृढ छ र परमेश्वर आफैले प्रमाणित गरेको बताउनुभयो। ख्रीष्ट येशूको पुनरुत्थान विषयमा प्रचार गर्दै पास्टर दिल तामाङले येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानले मानव जातीको निम्ति मुक्तिको ढोका खोली दिएको बताउनुभयो। येशू ख्रीष्ट सबै जातिको लागि प्रेम र प्रेरणाको स्रोत भएको उनले बताए।

 ईसाई समाज शाखा पुनर्वासका अध्यक्ष बल बहादुर तामाङ ज्यूको सभापतित्व, ईसाई समाज जिल्ला कार्यसमितिका अध्यक्ष सन्तोष सोनामको प्रमुख आतिथ्यमा शुरु गरिएको शान्ति यात्राको आतिथ्यमा पुनर्वासभरीका  पास्टरहरुको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रमलाई ईसाई समाज शाखा पुनर्वासका सचिव शमसेर तामाङले  सञ्चालन  गर्नुभएको थियो।


Thursday, April 6, 2023

जातीय छुवाछुतका घटना नहुने किसिमको अभियान सञ्चालन गर्न माओवादी सांसदद्धारा सरकारको ध्यानाकर्षण


-लाल बहादुर एसके
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बराईलीले जातीय छुवाछुतका घटना आइन्दा नहुने किमिसको अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा उनले देशका विभिन्न ठाउँमा जनप्रतिनिधिबाटै जातीय छुवाछुतका घटना भइरहेका बेला यस्ता घटना नहुने किमिसको अभियान सरकारलाई सञ्चालन गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सांसद बराईलीले भगवानपुर गाउँपालिकाका अध्यक्ष योगनारायण यादवले भोजमा गरेको छुवाछुतको र कास्किको माछापोखरी गाउँपालिका ५ का वडा सदस्य रामजी लामिछानेले दलित समुदायका व्यक्तिमाथी गरेको जातीय छुवाछुतको घटना पनि स्मरण गराउदैँ नेपालको संविधानको धारा २४ को उपधारा ५ ले छातीय छुवाछुत गर्नेलाई सामाजिक अपराध मानेको भन्दै यस्ता सामाजिक अपराध गर्नेलाई हदैसम्मको कानूनी कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, भगवानपुर गाउँपालिकाका अध्यक्ष योगनारायण यादवले भोजमा गरेको छुवाछुतको व्यवहारको प्रकरण सेलाउन नपाउदैँ कास्किको माछापोखरी गाउँपालिका ५ का वडा सदस्य रामजी लामिछानेले परिवारकै बर्तबन्धमा आफ्नो छुट्टै भोजमा नारायण परियार आए भनेर उनलाई ज्यादती गर्दै भोजका सामग्री घोप्ट्याउदैँ डेढ लाख जरिवाना तिर्नसमेत जबरजस्ती गरे । यस्ता किसिमका जातीय विभेदका घटना देशव्यापी रुपमा भइरहेका छन् । नेपालको संविधानको धारा २४ को उपधारा ५ ले यस्ता विभदेकारीलाई सामाजिक अपराध मानेको छ । यस्ता सामाजिक अपराध गर्नेलाई हदैसम्मको कानूनी कारवाही गर्ने र यस्ता किसिमका घटना आइन्दा नहुने किसिमको अभियान सञ्चालन गर्न म नेपाल सरकारलाई सभामुखमार्फत ध्यानाकर्षण गर्दछु ।’

Wednesday, April 5, 2023

लालझाडी स्वास्थ्य शाखाद्वारा एकदिने बहुनिकाय अन्तरक्रिया कार्यक्रमको आयोजना


-लाल बहादुर एस के
कञ्चनपुर/२१चैत ।
लालझाडी गाउँपालिका स्वास्थ्य शाखाले किटजन्य रोग नियन्त्रण तथा निराकरणका लागि मंगलबार एकदिने बहुनिकाय अन्तरक्रिया  कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम  लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने किटजन्य रोग नियन्त्रण कार्यक्रमको  प्रशिक्षकको रुपमा कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोग शाखाका अधिकृत सिद्धराज भटृ रहनुभएको थियो । कार्यक्रममा लालझाडी गाउँपालिकाका छवटै वडाका वडाअध्यक्षहरुको उपस्थिति थियो । त्यस्तैगरी गाउँपालिका भित्र रहेका स्वास्थ्यका कर्मचारीहरुलाई कार्यक्रममा सहभागिता गराइएको थियो ।  केही स्थानीयरुपमा स्वास्थ्य सेवा दिइरहेका स्थानीयहरुलाई पनि सो कार्यक्रममा सहभागी गराइएको थियो । कार्यक्रमका प्रशिक्षक भटृद्वारा सो कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै  २०२५ सम्ममा औलो रोगलाई न्यूनीकरण गर्दै निर्मूल पार्ने उद्देश्यले सो कार्यक्रमको गरीएको बताए । 
त्यसैगरी लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कार्यक्रमका सञ्चालक
खगेन्द्र चौधरीले  स्वास्थ्य क्षेत्रमा हुने औलो रोग (मलेरीया) टाइफाइड, झाडा पखाला लगायतका विषयमा आफू गम्भिर भएर लागिरहेको र गाउँपालिका भित्रमा रहेका ६ वटै वडामा ल्याब सहितको  स्वास्थ्य सेवा पुर्णरुपमा निशुल्क  दिइरहेको बताए । प्रमुख चौधरीले आउँदा दिनहरुमा पनि यस्ता किसिमका स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सेवाहरु बारे आफ्नो तयारी रहेको र स्वास्थ्य सेवा बाटो गर्नुपर्ने काममा आफु कटिवद्ध  रहेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम बारे पनि  प्रमुख चौधरीले जानकारी गराउनुभएको थियो । 

Friday, March 24, 2023

पुनर्वासकि एक महिलाको बाघको आक्रमणमा परि मृत्यु


कञ्चनपुर, १० चैत्र ।
पुनर्वासकि एक महिलाको  बाघको आक्रमणमा परि  मृत्यु भएको छ । शुक्रबार बिहान करिब ९.३० बजेतिर पुनर्वास १० नजिकको नेपाल–भारत सीमामा पर्ने भारतको दुधवा नेशनल पार्कमा सो घटना घटेको हो । मृत्यु हुनेमा 
पुनर्वास नगरपालिका–१० मदनटोलकी
बत्तिस  वर्षीया कलसा सार्की रहेको प्रहरीले जनाएको छ ।
  दुधवा नेशनल पार्कमा सात जनाको महिलाहरुको समूह घाँस दाउरा गर्न जंगल भित्र गएको र  सोही क्रममा मृतक सार्कीमाथि बाघले आक्रमण गरेको जनाईएको छ । सार्की माथी आक्रमण भएको खबर गाउँमा पुगे लगत्तै स्थानीय युवा यादव सिंहको नेतृत्वमा गएको युवा टोलीले होहल्ला गरि आगो बालेर बाघलाई लखेटेको र घटनास्थलबाट करिब पचास मिटर पर बाघ देखिएको युवा सिंहले बताए ।
घटनास्थल भारतीय क्षेत्रमा परेकाले मृतकको शव भारतीय सुरक्षाकर्मीको कब्जामा रहेको र  अहिले आवश्यक कानूनी प्रक्रिया पूरा गरि नेपाल प्रहरीलाई जिम्मा लगाउने कार्य भईरहेको र शव बुझे पश्चात पोष्टमार्टमका लागि बेलौरी लगीने 
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
  अहिले भारतीय सुरक्षाकर्मीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सवडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थलमा पुगेका छन्। 






Monday, March 20, 2023

स्ववियु निर्वाचन: कञ्चनपुरमा नेविसंघ, अनेरास्ववियु र अखिलको दुई–दुई जित

 
कञ्चनपुर। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित  कञ्चनपुरका ६ वटा क्याम्पसको स्ववियु चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ।

तीन मुख्य विद्यार्थी संगठनहरुले दुई–दुई क्याम्पसमा जित निकालेका छन्।

नेकपा (एमाले) निकट अनेरास्ववियुले गुलरियाको कञ्चन बहुमुखी क्याम्पस र बेलडाँडीको रौलेश्वर आदर्श जनता क्याम्पसमा जित निकाल्दा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बेलौरीको रामपुर र पुनर्वासको जनता बहुमुखी क्याम्पसमा विजयी भएको छ।

यस्तै कांग्रेस निकट नेपाल विद्यार्थी संघ बेलौरीस्थित महाकाली र झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएको छ।

बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसको सभापतिमा नेवि संघका निरज भण्डारी विजयी भए।

१ सय ६७ मत ल्याउँदै भण्डारी सभापतिमा विजयी भएका हुन। उनका निकटतम् प्रतिद्वन्द्वि नेकपा (एमाले) निकट अनेरास्ववियुकी हिरामोती चौधरीले १ सय १८ मत मात्र प्राप्त गरिन्।

सचिव र कोषाध्यक्षमा भने अनेरास्ववियुका उम्मेदवारले जित निकाले। सचिवमा अनेरास्ववियुकी यशोदा रेग्मी र कोषाध्यक्षमा रमेश जोशीले बाजी मारे।

सदस्यहरूमा नेवि संघका अस्मिता बिष्ट र बन्दना कुमारी विष्ट विजयी भए। यस्तै अनेरास्ववियुका राहुल कुमार बोट, अखिल क्रान्तिकारीका प्रदिप कुमार बोट, अखिल क्रान्तिकारीकै आरती राना (गोला प्रथाबाट) पनि विजयी भए।

आइतबार सम्पन्न स्ववियु चुनावमा महाकाली बहुमुखी क्याम्पसका ५ सय ७२ मतदाता मध्ये ४ सय ७४ जनाले मत खसालेका थिए।

यस्तै कञ्चनपुरको पुनर्वासस्थित जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का मनोज साउँद सभापतिमा बिजयी भएका छन्। 

१ सय १५ मत ल्याउदै सभापतिमा साउँद विजयी भएका हुन। उनका प्रतिद्वन्द्वि एमाले निकट अनेरास्ववियुका सकुन्तला मल्लले ९५ मत पाएकी थिइन्।

यस्तै सचिव र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार बिजयी भए। सुशील कुँवर सचिव र लक्ष्मी सिंह ठकुरी कोषाध्यक्षमा विजयी भएका छन्।

यस्तै सदस्यहरूमा नेवि संघका प्रदीप ठकुल्ला, विपना चन्द, अनेरास्ववियुका प्रवेश पौडेल, सुरज विक र विमला थापा बिजयी भएका छन्।

२ सय ९१ मतदाता मध्ये २ सय १० मत खसेको निर्वाचन समितिले जनाएको छ।

यस्तै कृष्णपुरको गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पसको स्ववियु चुनावको नतिजा पनि सार्बजनिक भएको छ। नेवि संघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई तोड्दै अनेरास्ववियुका देवसिंह साउँद सभापतिमा विजयी भएका छन्। अन्य पदहरुमा मिश्रित नतिजा आएको छ।

झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेवि संघको प्यानलै विजयी भएको छ। सभापतिमा कृष्णराज जोशी विजयी भएका हुन्।

बेलडाँडीस्थित रौलेश्वर आदर्श बहुमुखी क्याम्पसको स्ववियु चुनावका अनेरास्ववियुले सभापतिलगायत अधिकांस पदमा विजय हासिल गरेको छ।

सभापतिमा अनेरास्ववियुका दिलेन्द्र प्रसाद बडू विजयी भए।

बेलौरीस्थित रामपुर बहुमुखी क्याम्पसको स्ववियु चुनावका अखिल (क्रान्तिकारी) को प्यानलै विजयी भएको छ।

कूल २५ मा १५ मत ल्याउदै क्रान्तिकारीकी उम्मेदवार सरस्वती तिरुवा सभापतिमा विजयी भएकी थिइन्। 

त्रिवि अन्तर्गतका १५ क्याम्पसमध्ये ६ वटामा मात्र हिजो स्ववियु चुनाव भएको थियो। बाँकी क्याम्पसहरुमा तालाबन्दीका कारण चुनाव हुन बाँकी छ।
 


Monday, March 13, 2023

कैलाली कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक विदा



 

कञ्चनपुर/ राना थारू समुदायकाे खखडेहरा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले फागुन ३० गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
आइतबार बसेकाे प्रदेश सरकारकाे मन्त्रीपरिषदकाे बैठकले फागुन ३० गते एक दिन खखडेहरा पर्वकाे अवसरमा एक दिन कञ्चनपुर र कैलालीमा सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

विशेष गरेर कैलाली र कञ्चनपुरमा वसाेवास गर्ने रानाथारू समेदायले मनाउने खखडेहरा पर्वकाे अवसरमा राजपत्रमा चैत्र १ गते विदा दिने भनियता पनि साेलाई संसाेधन गरि फागुन ३० गतेका दिन विदा दिने निर्णय भएकाे प्रदेश सरकारले एक ससचना मार्फत जनाएकाे छ ।

पर्वकाे अवसरमा कैलाली कञ्चनपुरका राना थारू समुदायले विभिन्न कार्यक्रम गरि मनाउने तयारी रहेकाे रानाथारू समाज कञ्चनपुरले जनाएकाे छ ।

 

Friday, March 3, 2023

पुनर्वासमा खैरो हेरोईन सहित एक युवा समातिए



कञ्चनपुर, १९ फागुन ।
पुनर्वासमा खैरो हेरोइनसहित एक युवा समातिएका छन । 
पुनर्वास ११ अमर बस्तीको टाउके बजारबाट अवैध लागुपदार्थ खैरो हेरोइनसहित प्रहरीले विहिवार एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी सहायक निरीक्षक रमेश नाथको कमाण्डमा खटिएको टोलीले बिहीबार राति पुनर्वास नगरपालिका–११ टाउके बजार नजिकै नेपाल–भारत सिमा नाकाबाट १८ दशमलव ३० ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–६ दुम्ली बस्ने ३५ वर्षीय उमेश सिंह विष्ट रहेका छन्। विष्टलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।
 

Wednesday, March 1, 2023

कञ्चनपुरकाे लालझाडीमा खखडेहरा महाेत्सव हुने


कञ्चनपुर, फागुन १६ । 
राना थारु समुदायकाे विशेष महत्त्वपूर्ण चाड खखडेहरा पर्वकाे उपलक्ष्यमा कञ्चनपुरकाे लालझाडीमा दुई दिने खखडेहरा महाेत्सव लाग्ने भएकाे छ । राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा महाेत्सव हुन लागेको हाे ।
       मंगलवार पत्रकार सम्मेलन गर्दै मञ्चले साे कुराकाे जानकारी दिएकाे हाे । मञ्चले लालझाडी गाउँपालिका ३ नन्द गाउँकाे खेल मैदानमा महाेत्सव हुने र राना थारु कला संस्कृतिकाे संरक्षण तथा प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले महाेत्सवकाे आयाेजना गर्न लागिएको मञ्चका अध्यक्ष नारायण रानाले बताए । कार्यक्रममा रानाथारु साँस्कृतिक झाँकि प्रदर्शन , स्थानिय कलाकारकाे नृत्य तथा गायन प्रस्तुति , जनचेतनामूलक नाटक , रानाथारु समुदायको खानाको परिकार  आदिकाे प्रदर्शनी रहने आयाेजकले जनाएको छ । हाेलि पर्वकाे अन्त्य सँगै मनाईने खखडेहराकाे छुट्टै महत्व रहेकाे छ । गाउँ समाजमा राेग ब्याधी, महामारी लगायत भुत प्रेतलाई भगाउने र खुशीयाली साटासाट गरी खखडेहरा पर्व मनाउने गरिन्छ । यस वर्ष रानाथारु समुदायले फागुन ३० र चैत १ गते खखडेहरा पर्व मनाउदैछन ।