Thursday, April 24, 2025

डाक्टरहरुको आन्दोलन कडा हुँदै, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा

काठमाडौँ / बैशाख ११
नेपाल चिकित्सक संघले २४ घण्टाभित्र माग सम्बोधन नभए स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा गरेको छ ।
     हिजो बुधबार एक विज्ञप्ति जारी गर्दै संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने लगायतका माग सहित २८ दिनदेखि चिकित्सकहरु सडक आन्दोलनमा छन् । 
    तर,सरकारले हालसम्म पनि माग सम्बोधनका लागि तदारुकता नदेखाएपछि संघले २४ घण्टाभित्र माग पुरा गर्न भनेको हो ।  माग पुरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघले घोषणा गरेको छ । 
    चिकित्सक संघले आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्णमा आग्रह समेत गरेको छ । चिकित्सक संघले यसअघि पनि माग सम्बोधनका लागि गत चैत्र ३१ मा ७२ घण्टे अल्टिमेटम दिएको थियो ।  

Saturday, April 19, 2025

प्रधानमन्त्रीसँगको वार्ताले निस्केन निकास,आन्दोलन लम्बिने संकेत

काठमाडौँ/६ बैशाख 
हिजो शुक्रबार प्रधानमन्त्री र आन्दोलनरत शिक्षक प्रतिनिधिबिच भएको वार्ता निष्कर्षविहिन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको छलफलमा शिक्षक आन्दोलन र समस्या समाधानका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै आउने प्रतिबद्धता जनाए पनि शिक्षकहरु आश्वस्त हुन सकेका छैनन् । उनीहरुले आन्दोलनलाई निरन्तरता दिने अडान लिएका छन् ।

छलफलमा महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।

विद्यालय शिक्षा विधेयक २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर शिक्षकहरुले चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

शैक्षिक हडतालसहित आन्दोलित शिक्षकहरुले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।
शिक्षकहरुको आन्दोलनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षण अनिश्चित बन्दै गएको छ ।
सरकारले संसदको शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि यही वैशाख १२ गते सङ्घीय संसदको अधिवेशन आह्वान गरेको छ ।
सरकारले संसदको यही अधिवेशनबाट शिक्षा विधेयक पारित हुने भन्दै विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन आह्वान गर्दै आएको छ । तर शिक्षकहरुले विगतमा भएका सहमतिअनुसार विधेयक पारित भएपछि मात्र विद्यालय फर्कने अडान लिएका छन् ।
 

Friday, April 18, 2025

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

काठमाडौं/५ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् ।
विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।
प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आव्हान गरेको थियो ।
  प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी रहेका छन् ।

Sunday, April 13, 2025

टाउन बजारमा आगामी बुधबारदेखि हाटबजार लाग्ने


कञ्चनपुर, ३१ बैशाख ।
टाउन बजारमा आगामी बुधबारदेखि हाटबजार लाग्ने भएको छ । 
पुनर्वास नगरपालिका वडानम्बर ६ स्थित प्रतिभानगर टाउन वजारकाे खुल्ला मञ्चमा  नयाँ वर्ष २०८२ सालकाे पहिलो बुधबारदेखी प्रत्येक बुधबार  साप्ताहिक रुपले  हाटबजार लाग्ने भएको हो ।
 टाउन बजारका व्यवसायी र कृषकहरुकाे  माग बमोजिम पुनर्वास उद्याेग वाणिज्य संघले अनुमती मागेपछि  पुनर्वास नगरपालिका वडानम्बर ६  को वडा कार्यालयले हाटबजारको लागि अनुमती दिएको थियो ।
 पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले फेसबुक मार्फत यस सम्बन्धमा जानकारी दिनुभएको छ र समयमै अनुमती प्रदान गर्नुभएकोमा पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामालाई धन्यवाद दिनुभएको छ ।
  साथै उहाँले उक्त हाटवजारमा आफ्नाे कृषिजन्य उत्पादन ल्याएर बिक्रि, वितरण गर्न सम्पुर्ण व्यवसायी तथा कृषकहरुलाई अनुराेध गर्नुभएको छ ।

Saturday, April 12, 2025

अब एसईई नहुने,कक्षा दशको परीक्षा स्कूलले गर्ने

 काठमाडौँ, ३० चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयक माथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो ।
‘आधारभूत त माध्यमिक गरी दुई तह छ । १ देखि ८ सम्म स्थानीय तहले गर्ने । माध्यमिक तहको राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको छ । एसईई नगर्ने पनि सहमति भएको छ’, शिक्षा समिति स्रोतले भन्यो ।
विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने भएकाले १० को परीक्षा स्कुलस्तरमै गर्न सहमति जुटेको हो ।
  विधेयकमाथि कतिपय सांसदले एसईई प्रदेशमा हस्तान्तरण गर्न संशोधन हालेका थिए । प्रदेशलाई दिने विषयमा पनि उपसमितिमा छलफल भएको थियो । तर, एसईई नराख्न उपसमितिमा सहमति जुटेको हो ।
त्यसैगरी जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने पनि सहमति जुटेको छ । उपसमिति सदस्यका अनुसार ईसीडीलाई २ वर्षको बनाउने पनि सहमति जुटेको छ । तर, उपसमितिमा सहमति भएका विषय सार्वजनिक गरिएको छैन । सबै विषयमा टुंगो लगाएर फुल समितिमा पेस गर्ने उपसमितिको तयारी छ ।
विधेयकमाथि उपसमितिमा लगातार छलफल भइरहेको छ । प्रदेश प्रदेशबाट आएको सुझाव, सांसदको संशोधन,विज्ञका सुझाव सबैलाई एकीकृत गरेर दफावार छलफल भइरहेको उपसमितिले जनाएको छ । आज शनिबार पनि उपसमितिको बैठक बस्दै छ । शिक्षकहरूले ऐन जारी गर्न माग गरेपछि उपसमितिले द्रुत गतिमा छलफल गरिरहेको हो । उपसमिति सदस्यका अनुसार शिक्षकका विषयमा छलफल गर्न बाँकी छ ।
‘सरकार र शिक्षकबीच वार्ता जारी छ । पोहोर भएका सहमति पनि छन् । फेरि केही नयाँ कुरा थप घट होला भनेर सरकार र शिक्षकको सहमति कुरिरहेका छौं’, उपसमितिका एक सदस्यले भने ।
   सरकार र शिक्षक महासंघबीच वार्ता भए पनि सहमति जुटेको छैन । गत २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।

Friday, April 11, 2025

तन्ना र चटपटे बेचिरहेका नेपाली सुरक्षाकर्मीले ट्र्याक गरी समाते दुर्गा प्रसाईंलाई



  
काठमाडौ /२९ चैत ।
काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई आजै काठमाडौं ल्याउने तयारी भएको छ। भारतीय प्रहरीले आसामको गुवाटीबाट विहिवार नियन्त्रणमा लिएर नेपालको सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याउने तयारी भएको हो। उनी भारतको आसाम राज्यमा फेला परेका थिए।  

विगत एक सातादेखि प्रसाईंको खोजीमा भारतको आसामस्थित गुवाटीमा तन्ना र चटपटे बेचिरहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो। उनलाई बिहीबार साँझ आसामबाट नेपालतर्फ हिँडाइएको थियो।

‘दुर्गा प्रसाईंको खोजीमा गएका नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेका थिए, भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिन सफल भएको हो,’ नेपाल प्रहरीका उच्च अधिकारीले भने। प्रसाईं पक्राउ परेपछि गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, विशेष व्यूरो प्रमुख डिआइजी सिद्धिविक्रम शाहबिच आकस्मिक बैठक बसेको थियो।  

उनलाई नेपाल ल्याएर आजै काठमाडौं जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि समय लिने तयारी भइरहेको छ। काठमाडौं ल्याएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा पेस गर्नेछ।

उनीमाथि तीनकुनेमा भएका हिंसात्मक घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। उनीमाथी ज्यान मुद्दा, चोरी तथा डकैती, निजी सम्पत्तिको तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी, ड्यूटीमा रहेका प्रहरीमाथि आक्रमण, संगठित अपराधमा अनुसन्धान हुने भएको छ। नेपाल ल्याएपछि प्रसाईंलाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।  

राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए। अर्बौँको सम्पत्ति तोडफोड, आगजनी र लुटपाटबाट भएको थियो।  

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए। त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्याएका थिए।

घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन्। कमाण्डर घोषित प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ। प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।


Friday, February 28, 2025

कञ्चनपुरमा ट्रकको ठक्करबाट २१ वर्षीया युवती मृत्यु


कञ्चनपुर/१६ फागुन 
 शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा विहिवार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।
    मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन् । घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।



काठमाडौमा ६.१ रेक्टर स्केलको भूकम्प, केन्द्रविन्दु सिन्धुपाल्चोक


काठमाडौं  । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
   शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ ।
रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।  भूकम्पबाट भएको क्षतिको विवरण आउन भने बाँकी रहेको छ ।



Monday, February 24, 2025

स्कुल बसले ठक्कर दिँदा घाईते भएका रमेश तामाङको निधन

कञ्चनपुर/फागुन १२
पुनर्वासमा स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते  भएका पुनर्वास ३ निवासी रमेश तामाङको उपचारको क्रममा सोमबार  काठमाडौमा निधन भएको छ ।
   हिजो  बिहान पुनर्वास ३ राम बस्तीमा धनगढीको वेस्टर्न कृष्टल एकेडेमीको बस (सुपप्र ०१–००१ प. २१३३)ले  रमेश तामाङ (वर्ष ४४) सवार मोटरसाइकल ( से.२ प. ६३०९) लाई ठक्कर दिएको थियोे  ।
दुर्घटना हुनासाथ घाइतेका आफन्तजनले पुनर्वास ६ स्थीत पुनर्वास पोलिक्लिनिकमा लगेको भएपनि 
त्यहाँ उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको र त्यहाँपनि उपचार सम्भव नभएपछि  उहाँलाई काठमाडौको ह्याम्स हस्पिटल लगीएको थियो । 

Sunday, February 23, 2025

पुनर्वासमा स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

कञ्चनपुर/फागुन ११
पुनर्वासमा स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छ्न । आज बिहान पुनर्वास ३ राम बस्तीमा धनगढी स्थीत वेस्टर्न कृष्टल एकेडेमीको बस (सुपप्र ०१–००१ प. २१३३)ले स्थानीय व्यक्ति रमेश तामाङ (वर्ष ४४) सवार मोटरसाइकल ( से.२ प. ६३०९) लाई ठक्कर दिएको हो ।
दुर्घटना हुनासाथ बसका ड्राइभर प्रेमसिंह राना (वर्ष ३२) ले एम्बुलेन्स बोलाउँछु भन्दै बस घटनास्थलमै छाडी फरार भएको स्थानीयले बताएका छ्न ।
घाइतेका आफन्तजनले पुनर्वास ६ स्थीत पुनर्वास पोलिक्लिनिकमा लगेको भएपनि 
त्यहाँ उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको पुनर्वास पोलिक्लिनिकका सञ्चालक धोके रानाले बताउनुभयो । अहिले घाईतेको उपचार धनगढीको मायामेट्रो हस्पिटलमा भैरहेको र घाईतेको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ । त्यसैगरी बस र  ड्राइभरलाई घटनास्थलबाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा आवश्यक कानूनी कार्वाहीका लागि  राखिएको  ईलाका प्रहरी कार्यालय प्रमुख महेश विक्रम शाहीले जानकारी दिनुभयो।


Monday, February 17, 2025

पुनर्वासका नगर प्रमुख शर्मा प्रति अभद्र व्यवहार भएको भन्दै पालिका र कर्मचारीद्धारा विज्ञप्ती जारी, प्रहरीमा जाहेरी दर्ता


लाल ब. एसके
पुनर्वास/५ फागुन।
 कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा प्रति अभद्र व्यवहार गरिएको भन्दै पुनर्वास नगरपालिका र नगरपालिकाका कर्मचारीद्धारा छुट्टा छुट्टै विज्ञप्ती जारी गरिएको छ ।

मिति २०८१ फागुन २ गते शुक्रबार राति करिब ८ बजेको समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा आफ्नो घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नम्बर ९ बस्ने हरि बहादुर बोहराले नगर प्रमुख सवार गाडी रोकेर अभद्र व्यवहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त घटनाप्रति पुनर्वास नगरपालिकाले गम्भीर आपत्ति जनाउँदै शनिबार आकस्मिक बैठक बसी एक प्रेस विज्ञप्ति जारी गरेको छ । नगरपालिकाका प्रवक्ता तुलसी अर्यालको हस्ताक्षरयुक्त विज्ञप्तिमा नगर प्रमुखलाई सार्वजनिक स्थानमा रोक्ने र अभद्र व्यवहार गर्ने कार्य कानुनी र सामाजिक दृष्टिकोणले समेत अनुचित रहेको उल्लेख गरिएको छ । यस घटनाले नगर प्रमुखको गरिमा र सामाजिक प्रतिष्ठामा आँच पुगेको भन्दै दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तीमा यस्तो कुरा उल्लेख गरिएको छ : मिति २०८१ फागुन २ गतेका दिन अन्दाजी ८ को समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यू नगरपालिकावाट घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नं. ९ वस्ने हरि वहादुर वोहराले नगर प्रमुख सवार गाडी रोकि गरेको अभद्र व्यवहार प्रति यस नगरपालिका घोर भत्र्सना गर्दछ 

निजले नगर प्रमुख सवार गाडीलाई रोकि नगर प्रमुख तथा चालक प्रति गरेको अभद्र व्यवहारले कानूनी राज्यको खिल्ली उडाएको प्रतित भएको छ । निजले विगत देखि नै सामाजिक सञ्जालमा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको पुर्वाग्रहि किसिमले व्यक्तिगत चरित्र हत्या गर्ने गरी श्रव्यदृश्य तथा लिखित सामाग्रीहरु प्रेसित गर्ने गरेको समेत थियो ।

यस किसिमको क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीको व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आँच पुर्याउने हुँदा यस्ता कार्यप्रति घोर आपत्ति प्रकट गर्दै यस किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी कारवाहिका लागि कानूनी वाटो खोजिने जानकारी समेत दिन चाहान्छौं ।

हिजो अवेर सम्म नगरपालिकाको कार्यक्रममा सहभागि भई नगर प्रमुख आफ्नो घर फर्किने क्रममा अनावश्यक रुपमा योजनावद्ध ढंगले निजले वाटो छेकि गरेको अमानवीय व्यवहारको घोर भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कडा कारवाहिका लागि सम्वन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ ।

भन्दै विज्ञप्ती जारी गरिएको छ भने यता, आइतबार कार्यालय समय खुलेपछि पुनर्वास नगरपालिकाका कर्मचारीहरूको संयुक्त बैठक बसेर घटनाप्रति आपत्ति जनाउँदै छुट्टै प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरुले मेयर शर्मा घर फर्कने क्रममा राति ८ बजे अवाञ्छित र अभद्र व्यवहार गरिएको भन्दै घटनाको भत्र्सना गरेका छन् । उनीहरूले नगरपालिकाको कामकाजमा अवरोध पु¥याउने गतिविधि सह्य नहुने बताउँदै दोषीमाथि यथाशीघ्र कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् 

नगर प्रमुख शर्मामाथि अभद्र व्यवहार गरेको आरोपमा जाहेरी प्रहरीमा दर्ता भएको छ । आरोप लागेका हरि बहादुर बोहराको खोजी कार्य इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले तीव्र पारेको छ । हालसम्म उनी फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको पुनर्वास नगरपालिका र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएका छन् ।

पछिल्लो समयमा देश भर सरकारी गाडी दुरुपयोग भएको भन्दै चौंतर्फी आलोचना हुने गरेको छ । विभिन्न स्थानीय तह, प्रदेश र विभिन्न कार्यालयका सरकारी गाडी घोडा बिबाह मठमन्दिर, घरपरिवार घुम्न जाने, घास बोक्ने, दाउरा बोक्ने, बोका बोक्ने जस्ता तमाम व्याक्तिगत तथा घर्यासी कार्यमा संलग्न भएका घटनाहरु फेला पर्दै गएका छन् ।
उपमेयर भुलियो कुमारी रानाको बिबाहको भारतको पलियाबाट समान ल्याउने बेला समेत गाडीको दुरुपयोग भएको थियो । त्यति बेला पनि सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुले समेत समाचार प्रकाशन गरेका थिए।

यसै सन्दर्भमा पुनर्वासका केहि युवाहरुले गाडी दुरुपयोग भएको आरोप समाजिक संजालमा लगाउदै आएका छन् । गाडी दुरुपयोग भएको भए पनि कानुनी बाटो अपनाउने ठाउँमा यस्तो कार्य ठिक नभएको स्थानीयले बताएका छन् । सरकारी सवारी साधनको दुरुपयोग नगरिनु पर्ने उहाँहरुको सुझाव रहेको छ । गाडी दुरुपयोग भए नभएको समेत छानवीन हुनुपर्ने यस क्षेत्रका युवाहरुले माग गरेका छन् ।

केहि दिन पहिले देखि पुनर्वासका केहि युवाहरुले पुनर्वासको सरकारी गाडी दुरुपयोग भएको भन्दै नगर प्रमुख उप प्रमुख लगायत कर्मचारीहरुको विरोध गर्दै आएका थिए ।

Monday, February 3, 2025

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण

धनगढी २१ माघ ।
जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसात गर्दै धनगढीका नरेश कुँवरले आफ्नो जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् ।
लाइन्स क्लब धनगढी, नैनादेवीका सदस्य, समाजसेवी तथा व्यापारी कुँवरको ३९ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद तथा खाद्यान्न बितरण गरेका हुन् । 
लाइन्स क्लब धनगढी, नैनादेवीको आयोजना तथा लायन नरेश कुँवरको प्रायोजनामा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद ७६ हजार तथा १ लाख ३५ हजार बराबरको खाद्यान्न बितरण गरिएको क्लबका अध्यक्ष अमीत भुजनियाले बताए । 
माघ २३ देखि ३० गतेसम्म भवन निर्माण सहयोगार्थ सञ्चालन हुने महायज्ञमा जन्मदिनको अवसर पारेर लायन्सको तर्फबाट नगद ५१ हजारसमेत सहयोग गरिएको भुजनियाले जिकिर गरे ।
सामाजिक कार्य गर्दा आफुलाई खुशी लाग्ने बताउदै समाजसेवी कुँवरले घरपरिवार र साथीहरु माझ सीमित रहेर जन्मोत्सव मनाउनु भन्दा सानै र थोरै भएपनि अरुलाई सहयोग गरेर आफ्नो जन्मोत्सव मनाउन पाउँदा निकै खुशी लागेको बताए । उनले भने ‘खान पुगोस्, दिन पुगोस्, दीन दुःखी र असहायको लागि यसरी नै सहयोग गर्न पुगोस् ।’ 
यसअघि पनि समाजसेवी कुँवरले आफ्नो जन्मदिनको अवसरमा दीन दुःखी, असहायहरुलाई खाद्यन्न बितरण तथा बिभिन्न संघसंस्थाहरुमा आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन मनाउँदै आएका थिए । नरेश बझाङ बुङल क्रिकेटका संस्थापक एबं कुँवर लिकरका सञ्चालकसमेत हुन् । यतिखेर कुँवर सफल व्यवसायी, समाजसेवी एवं दातृको रुपमा सुदूरपश्चिममा परिचित छन् ।

Tuesday, January 7, 2025

एकाविहानै हल्लियो काठमाडौ,७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि


काठमाडौं । आज विहान नेपाल र भारतमा समेत हल्लाएको भूकम्पको केन्द्र बीन्दु चीन भएको अनुमान गरिएको छ । चीनमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।  भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ ।  बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । 
प्रारम्भिक जानकारीका अनुसार झापामा पनि ठूलो धक्का महशुस गरिएको छ ।  पाँच सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । कही समय भूकम्पको कम्पन गएको हो ।
भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । नेपालको पूर्वझापासम्म भूकम्पको धक्का महशुस गरिएको छ । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । 
भारतको बिहारमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल भएको प्राम्भिक अनुमान रहेको छ । विहारको मोतिहारी, समस्तीपुरलगायत बिहारका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।