Thursday, June 10, 2021

नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ आज हुने



काठमाण्डौं / सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८  विरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ। गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएकाे थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ समयमा अभावका कारण बिहीबारलाई राखिएको हो।
सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन्।  अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन्। अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका छन्।

गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउलान ?

पोखरा/ गण्डकी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ । आज सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्ने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
गण्डकीमा ६० जना प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतको लागि ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ । कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ जना सदस्य छन् ।
चार वटै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । तर राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले भने पार्टीको निर्णय नमान्ने बताइसक्नुभएको छ । जनमोर्चाका एक जना सदस्यले साथ नदिए पनि स्वतन्त्र सदस्य राजीव गुरुङले विपक्षी गठबन्धनलाई समर्थन गरेमा एमालेबाहेकको सरकार गठनको सम्भावना रहेको छ ।

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ २७ गते बिहीवार,हेर्नुहोस् दैनिक राशिफल



आजको पञ्चाङ्ग,  वि.सं. २०७८ ज्येष्ठ २७ गते बिहीवार तदनुसार ई. सं. २०२१ जुन १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे,  ज्येष्ठ कृष्णपक्षको  अमावस्या तिथि, दिउँसो ०३:४३ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, रोहिणी नक्षत्र, दिउँसो ११:४५ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, मध्यरात्रीपछि १२:५७ बजेसम्म, त्यसपछि मिथुन राशिमा, धृति योग, बिहान ०८:२२ बजेसम्म, त्यसपछि शूल योग, नाग करण, दिउँसो ०१:४९ बजेसम्म त्यसपछि किंस्तुघ्न करण,आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : ईशान, वारशूल  : दक्षिण, कालराहु : दक्षिण, नक्षत्रशूल : पश्चिम,  आज : श्री शनि जयन्ती, श्री बटसावित्री व्रत, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, आजको मूहुर्त : दैलो राख्ने,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २८ गते : दशहरा स्नान प्रारम्भ, गोसाइँ कुण्ड स्नान प्रारम्भ, चन्द्रोदय (चन्द्रदर्शन), मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दैलो राख्ने, पुराणश्रवण, २९ गते : त्रिपुष्कर योग बेलुका ०४।०० बजेदेखि ०६।३६ बजेसम्म, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), ३० गते : कौशिकी उत्पत्ति, महाराज छत्रशाल जन्मजयन्ती (कृष्णप्रणामीहरूको पर्व),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ कामको लागि नयाँ अवसर आउने छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ । दूरदराज वा लामो दूरीको यात्राबाट लाभ लिन सकिने छ । विवादको योग पनि छ, त्यसैले मुखलाई नियन्त्रणमा राख्नुहोला । घरायसी वातावरणमा केही समस्या देखिन सक्छन् । राती बाह्रौं भावमा चन्द्रमा जाने भएकाले अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विष्णवे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मनमा उमङ्ग र उत्साह देखिने छ । तर प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा असमझदारी बढ्ने छ । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

काममा बाधाअड्चन हुनाले तथा आर्थिक समस्याले सङ्कट उत्पन्न गराउन सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा रुचि देखिंदैन । स्वास्थ्यस्थितिमा सामान्य समस्या देखा पर्न सक्छन । राती अबेर सातौं भावमा चन्द्रमाको प्रवेश हुने हुँदा मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया÷प्रेमको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका नीलो वा आकाशे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कडा मिहिनेतपछि अन्त्यमा सफलता मिल्नेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्न उत्ति राम्रो देखिंदैन, किनभने तृतीय भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिन सक्दैनन् । कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । बन्दव्यापारमा सामान्यतया राम्रै छ । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Saturday, May 29, 2021

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुँदै, वृद्धभत्ता र कर्मचारीको तलब बढ्न सक्ने


काठमाडौ । संसद विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रस्तुत हुँदैछ । 
स्रोतका अनुसार कोरोना महामारीबीच आगामी आवका लागि ल्याइने बजेटको सिलिङ १६ खर्ब हाराहारी रहेको छ । 
बजेटमार्फत वृद्धभत्ता र कर्मचारीको तलब बढ्न सक्ने राजधानी दैनिकले खबर छापेको छ।  यस्तै निजी क्षेत्रमैत्री कर नीति, अर्थतन्त्र पुनर्स्थापनाका लागि विशेष कोषजस्ता विषय बजेटमा समेटिने समाचारमा उल्लेख छ । 

राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको उपलक्ष्यमा ४३० जनाको कैद मिनाहा

काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।
गणतन्त्रलाई जनता विजय भएको पर्वको रुपमा मनाउन आग्रह गरिए पनि कोरोना महामारीका कारण अक्सिजन समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाका कारण जनतामा उत्साह छैन । सत्ताको लुछाचुडीका कारण गणतान्त्रिक व्यवस्था नै धरापमा परेको टिप्पणीसमेत हुने गरेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Saturday, February 6, 2021

पश्चिमी वायुका कारण देशभर वर्षा र हिमपात


काठमाडौं, माघ २४ । लामो समयपछि हिउँदमा शुक्रबार देशव्यापी रूपमा वर्षा र हिमपात भएको छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । भारत हुँदै आएको पश्चिमी वायुले एक दिनका लागि नेपालमा वर्षा र हिमपातको अवस्था सिर्जना गरेको हो ।

नेपालको सुदूरपश्चिम हुँदै भित्रिएको यस मौसमी प्रणाली शनिबार पूर्वी भेगसम्म फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि नै सुरु भएको बदलीले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा शुक्रबार हल्का वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात गराएको छ ।
मनाङ, हुम्ला, जुम्ला, कर्णाली भेगमा लेकहरू बिहीबार रातिदेखि नै हिमपात जारी छ । हिमपातसंगैको बर्षाले हिमाली भेगका किसानले लगाएको हिउँदे खेतीमा सकारात्मक असर पर्नेछ ।

Saturday, January 16, 2021

भारतीय रक्षामन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता, सीमा विवादबारे कुरै आएन

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार बिहान भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
नेपालले आफ्नो भूभागका रुपमा दावी गर्दै आएको धार्चुला–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको सडक भारतका रक्षामन्त्री सिंहले गत वैशाखमा उद्घाटन गरेपछि दुई देशबीच सीमा विवाद थप जटिल मोडमा पुगेको थियो ।
शनिबार भएको भेटमा मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री सिंहसँग सीमा विवादबारे चर्चा नगरेको स्रोत बताउँछ ।
भारतीय रक्षामन्त्री सिंहले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता लगत्तै केही तस्वीरसहित ट्वीट गरेका छन् । भेटवार्ताका तस्वीरसहित उनले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग अद्भूत भेटवार्ता भएको जनाएका छन् ।
उनले दुई देशबीचको सम्बन्धलाई ब्याख्या गर्दै नेपाल–भारत सम्बन्ध दुई सरकारबीचमात्र सीमित नरहेर दुई देशका जनताबाट सञ्चालित रहेको जिकिरसमेत गरेका छन् । तर सीमा विवादको प्रसंगलाई उनले कतै उल्लेख गरेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अघि सार्वजनिक रुपमै ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाली भूभाग नै हो’ भन्दै ती भूभाग फिर्ता ल्याउन पहल हुने जानकारी दिएका थिए । तर परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा सीमा विवादका बारे छलफल नै नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Friday, January 15, 2021

पुनर्वास ६ का वडासदस्य पृथ्वी गुरुङको निधन


कञ्चनपुर, माघ २ ।
पुनर्वास नगरपालिका ६ का वडासदस्य पृथ्वी गुरुङको निधन भएको छ । बुटवलको एक अस्पतालमा उपचाररत गुरुङको आज बिहान एघार बजेतिर मृत्यु भएको हो ।
करीब दुई हप्ता अघि पुर्व पश्चिम राजमार्गको गोरुसिंगे नजिकै मोटरसाइकल दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए  ।
पैंतालीस वर्षीय गुरुङ   नेपाली काङ्ग्रेसका तर्फबाट विजयी वडानम्बर छ का एकमात्र वडा सदस्य थिए । यसका साथै नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि समेत थिए ।
सबैसँग मिल्नसक्ने हँसिला स्वभावका गुरुङको उपचारार्थ पुनर्वासका युवाहरुले सहयोग रकम जुटाईरहेका थिए ।

भाईरल भिडियोमा ठेला खोसिएकी मञ्जु को हुन ?



काठमाडौं : हिजोदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नगर प्रहरीहरु सडकबाट जवरजस्ती केही रित्ता ठेला र फलफूल बोकेको साइकल उठाएर गाडीमा हालिरहेको देख्न सकिन्छ। त्यही भिडियोमा केही मानिसहरु नगर प्रहरीको व्यवहारलाई लिएर आक्रोश पोखिरहेको हेर्न सकिन्छ। उनीहरु भनिरहेका छन्, 'छाडिदिनुस् एक चोटिलाई, उनीहरुको सामान किन समातेको? गरिबलाई गरिखान नदिने है?' 
नगर प्रहरीले पेट पाल्ने साथी आफ्नो ठेला खोसेर लगेपछि त्यही भिडियोमा एकजना महिला गहभरि आँसु पार्दै गरेको देखिन्छिन्। गहका आँसु पुछ्दै उनी नगर प्रहरीसँग बिलौना गरिरहेकी हुन्छिन्। तर उनको आँसु र रुवाइले नगर प्रहरीलाई छुँदैन। जबरजस्ती उनको ठेलासहितका सामान नगर प्रहरीले मिनी ट्रकमा हालेर लैजान्छन्। 
हेर्दा हेर्दै गरिखाने भाँडो लुटिएपछि ती महिला भक्कानिँदै केही भन्न खोज्छिन्, तर उनको बोली फुट्दैन अनि दुई हातले आँसु पुछ्न थाल्छिन्। ‘यस्तो पनि हुन्छ, हामी हिँड्या भए, बेच्या भए एउटा कुरा ! घरमा राखेको ठेला पनि किन समातेको?’ उनले बोलेको यति मात्रै बुझिन्छ।
ठेला खोसिएपछि रोइरहेकी ती महिलालाई कसैले ढाडस दिएको सुनिन्छ, 'दिइहाल्छन् आमा, नरुनुस्।' 
सुकेधाराको त्यो घटना
यो भिडियो सुकेधारा चोकमा कैद गरिएको हो।  मंगलबार दिउँसो ३ बजेतिर पुगेका नगर प्रहरीले ती महिलासहित सडकमै आफ्नो जीविका चलाउनेहरूमाथि बाघले बाख्रो झम्टिएको शैलीमा झम्टिन्छ। नगर प्रहरी सामु निरीह बाख्रो जस्तै बनेर बिलौना गर्ने महिला हुन्, ६० वर्षीया मञ्जु कुँवर थापा। ठेला खोसिँदा बिलौना गरिरहेकी मञ्जुलाई कसैले भनेका थिए, नगर प्रहरीले ठेला दिइहाल्छ, अब नरुनुस्।  
नगर प्रहरीले लगेको ठेला खोजी गर्दै उनी बुधबार सुनधारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय पुगिन्। ठेला पाउने आशमा महानगरको कार्यालय पुगेकी उनले  त्यहाँ पनि कर्मचारीको अपमान सहनुपर्यो। उनले  त्यहाँ बरु जरिवाना तिर्छु, मेरो गरिखाने ठेला दिनुस् भनेर कयौँ पटक बिन्ती बिसाइन् तर कर्मचारीहरुले उनको कुरा सुन्न त परको कुरा अनुहारै हेर्न चाहेनन्। 
‘जरिवाना तिरेर भए पनि ठेला फिर्ता पाउने सोचेर ऋण काढेर महानगरको कार्यालयमा पुगेकी थिएँ,’ फरकधारसँगको सम्पर्कमा उनले भनिन्, ‘फोन चलाइरहेका कर्मचारीहरुले मेरो कुरै सुनेनन्, हुन्‍न, मिल्दै, मिल्दैन भनेर मलाई फर्काइदिए।’ अनेक बिलौना गर्दा पनि उनी खाली हात झन् निराश भएर घर फर्किइन्।
मञ्जुको आफ्नो भन्‍नु नै त्यही  ठेला थियो, जसले केही आम्दानी गरिदिएर पेट पाल्न सघाएको थियो। त्यही ठेला किनेर व्यापार गर्न थालेको पनि धेरै भएको थिएन। काठमाडौंमा पेट पाल्नै गाह्रो भएपछि दशैँअघि नौ हजार रुपैयाँमा त्यो ठेला जोडेकी थिइन्। उनले त्यही ठेलामा बिहान–बेलुका सागसब्जी बेचेर जीविका चलाइरहेकी थिइन्। ठेला नै खोसिएपछि अब उनीसँग केही बाँकी छैन। आशा भरोसा दुवै भएको ठेला नै खोसिएपछि उनीसँग अब दुई छाक टार्ने चिन्ताको पहाड मात्रै बाँकी छ।
भक्तपुरमा २०१६ सालमा जन्मिएकी थिइन् मञ्‍जु। उनले जीवनमा धेरै उतारचढाव र अनेक हन्डर खेपेकी छन्। जीवनको उत्तरार्द्धसम्म आइपुग्दा उनको जीवनले कयौँ कहाली लाग्दा र कठिन मोड-घुम्तीहरू छिचोलेको छ। कुनै मोडमा त उनलाई अब त्यहाँ भन्दा अघि बढ्न सक्दिनँ भन्‍ने पनि लाग्थ्यो। तर, उनले त्यस्ता कयौँ घुम्ती छिचोलिन्, मरि जाँदा दुनियाँ हाँस्छ त्यसैले बाँच्नुको पनि त विकल्प थिएन। 
मञ्जु २३ वर्षकी हुँदा उनको जीवनको पहिलो मोड सुखद खबर लिएर आयो। यो मोडमा उनले एकजना युवक भेटिन्, उनैले सपनाको सुन्दर संसार देखाए। मञ्जुलाई उनले देखाएको संसार निकै सुन्दर लाग्यो। एक दिन तिनै युवकले प्रस्ताव राखे-मेरो संसारको रानी बनाउँछु, के तिमी रानी बन्न तयार छौ? उनले निर्धक्क हुन्छ मात्रै भनिनन्, ती युवकसँगै जीवन बिताउने कसम पनि खाइन्। उनले सोचिन्, 'अब म यो संसारमा खुसी हुनेछु, मेरा सपना पनि पूरा हुनेछन्।'
 
वाचा अनुसार ती युवकले मञ्जुलाई उनको संसारमा खुसी दिने कोसिस गरे। उनले पनि रमाउने प्रयास गरिन्। जीवन संघर्षमय भए पनि उनीहरु खुसी थिए। उनीहरुको समागमबाट तीन सन्तान जन्मिए। सन्तान आएसँगै  उनीहरुको संसार अझै सुन्दर भयो।
सन्तानको पनि आगमनपछि रमाइरहेकी मञ्जुको जीवनमा २१ वर्षअघि दु:खको कालो बादल मडारियो। श्रीमान् उनीसहित आफ्ना छोराछोरीलाई अलपत्र पारेर अर्कै संसार बनाउनतिर लागे। बुझ्दै जाँदा उनले थाहा पाइन्, आफूलाई सुन्दर संसारको सपना देखाउने त्यही मान्छेले अर्को बिहे पो गरेका रहेछन्।
त्यो घटनाले उनी विक्षिप्त, उनको मन मुटु टुट्यो। तर, जति नै चोट लागे पनि मान्छेसँग बाँच्नुको विकल्प पनि त छैन। जीवनमा छुटेर गइसकेको कुराको हिसाब गरेर फाइदा पनि त छैन नि। हाम्रा जीवनका हिसाबकिताब कहिल्यै मिल्दैनन्, उनलाई यस्तै लाग्यो। ‘मेरो नियति नै यस्तै रहेछ भन्ने सोचेर जीवनको बाँकी बाटो एक्लै हिँडे,’ उनी सुँक्कसुँक्क गर्न थालिन्। 
आफूलाई सुन्दर संसार देखाउने मान्छे अन्तै लागेपछि तीन छोराको लालनपालनमा उनले कठोर संघर्ष र मिहिनेत गरिन्। उनले आजसम्म पनि संघर्ष गर्न छाडेकी छैनन्। जीवनको उकाली चढ्दै गर्दा कहिले अरुको खेतमा काम गरिन् त कहिले घर निर्माणस्थलमा मजदुरी। पछिल्लो डेढ वर्षयता त्यही काम पनि पाउन छाडेको थियो। काम पाए पनि बुढ्यौलीले गाँजेको उनको शरीरले धान्न छाडेको थियो।
तीन छोरामध्ये दुईजना बिहे गरेर आफ्नो गृहस्थी गरिरहेका छन्। अहिले उनीसँग एकजना छोरा छन्। कोभिड-१९ महामारी बन्नुअघिसम्म उनी होटलमा काम गर्थे। कोभिड-१९ संकट चुलिएसँगै उनले पनि जागिर गुमाए। छोराको पनि जागिर गएपछि उनलाई जीविकोपार्जन गर्न गाह्रो भएको थियो। 
'त्यसपछि बाँच्न त केही त गर्नै पर्ने थियो,’उनले सुनाइन्, ‘धेरै सोचेपछि एउटा ठेला किनेर बिहान बेलुका सागपात बेच्ने जुक्ति लगाएँ।’पाँच महिनायता त्यही ठेला सडकमा गुडाउँदै तरकारी बेचिरहेकी थिइन्। तरकारी किन्‍न उनी बिहान २ बजे नै कालिमाटी तरकारी बजार पुग्थिन्। तरकारी किनेर फर्किसकेपछि बिहान ९ बजेसम्म त्यसलाई बेच्न थालेकी थिइन्।
 
दिउँसोको समयमा उनी घरमै आराम गर्थिन् तर बेलुका भएपछि उनी चोकमा राखिएको त्यही ठेलासँग मितेरी लगाउँदै सडकमा निस्किन्थिन्। यसरी बिहान–बेलुका तरकारी बेच्दा उनलाई केही पैसा नाफा बच्थ्यो। उनी र छोराको जीवन सहारा नै  त्यही ठेला थियो।
बिहान तरकारी बेचिसकेपछि त्यो ठेला उनले सडक छेउमा राख्थिन् भने बेलुका साथीको घरमा। मंगलबार पनि उनले ठेला सुकेधारा चोक नजिकै आफ्नो ‘छाप्रो’अगाडिको सडकछेउमा राखेकी थिइन्। ‘मेरो ठेलाले सवारी आउन जान बाधा पुर्‍याएको पनि थिएन,’ उनले भनिन्, ‘तर प्रहरीहरूले झम्टिँदै गाडीमा हालेर लगिगए।’ 
उनले ठेला गुडाउँदा सडकमा गाडीलाई अवरोध भए नभएको ख्याल गर्ने सुनाइन्। भन्छिन्- म सधैँ सजग भएर व्यापार गर्थेँ, सडकमा गाडीहरुलाई अवरोध हुन नदिन सचेत थिएँ।' आफ्नो गल्ली नहुँदा पनि महानगरले ठेलागाडा खोसेकोमा उनको चित्त दुखेको छ म फाटेको छ। तर अझै पनि उनले आफ्नो गरिखाने भाँडो फर्किने आश मारेकी छैनन्
यसो भन्छ महानगर
काठमाडौं महानगरपालिकाको कार्यालयले भने मञ्जुले लगाएको आरोपलाई निराधार भनेर खण्डन गरेको छ। काठमाडौं महानगर प्रहरी प्रमुख धनपति सापकोटाले सार्वजनिक ठाउँमा राखिएका सवारीसाधन र ठेलागाडा मात्रै नियन्त्रणमा लिइएको बताएका छन्।
‘हामीले सार्वजनिक ठाउँमा राखिएका सवारीसाधन र ठेलागाडा मात्रै नियन्त्रणमा लिन्छौं। सुकेधारामा पनि त्यही गरिएको हो। उहाँको घरैमा गएर गाडा जफत गरेको होइन,' उनले सुनाए। महानगरको चेतावनीलाई नमानेपछि उनलाई कारवाही गर्न बाध्य भएको सापकोटाले बताए। 
तर मञ्जु भने बुढेसकालमा गाडा ठेल्दै व्यापार गर्नु आफ्नो बाध्यता भएको बताउँछिन्। ‘सरकारले काम दिएको भए यो उमेरमा गाडा ठेल्ने रहर मलाई कहाँ हुन्थ्यो र?,’ मञ्जुले भनिन्,‘सरकार काम पनि दिँदैन, केही गर्न खोज्दा पनि रोजीरोटीको साधन नै खोसेर लैजान्छ।'
जीविका चलाउने त्यही एउटा ठेला पनि खोसिएपछि निकै पिर परेको छ, मञ्जुलाई। अब के गरेर, कसरी जीवन चलाउने भन्ने सुर्ताले थिचिरहेको छ, उनलाई। ‘गरिबलाई सबैले हेप्दा रहेछन्', उनले भावुक बनेर सुनाइन्, 'गरिबको त सरकार नहुने रहेछ।

 

आजको राशिफल/आज २०७७ माघ २ गते शुक्रबार, यस्तो छ तपाइको आजको राशिफल



आज २०७७ माघ २ गते शुक्रबार, यस्तो छ तपाइँको आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्ने छैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ ।
वृष : वृष राशि भएकाहरूका लागि आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।
मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज आशानै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय राम्रो रहेकाले उपयोग गर्न सके लाभ मिल्नेछ । यात्रा भने सावधान भएर गर्नु अत्यन्तै राम्रो हुनेछ ।
कर्कट : आज कर्कट राशिका लागि लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।
सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि समय ज्यादै फाइदाको रहेको छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज आँखामा एक्कासी समस्या आउन सक्नेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । चिसोले स्वास्थ्यमा गडबडी आउने सक्ने देखिन्छ । समय खराब रहेकाले सबै प्रकारले सतर्क भई हिंड्नुहोला । आज टाढाको यात्रा, नयाँ मित्रसंगको भेटघाटन समेत विफल हुने देखिएको छ ।
तुला : तुला राशि भएकाहरूका लागि आज जो कसै व्यक्तिले धोका दिने प्रयास गर्नेछन् । आफ्नो क्षमता अनुसार जे काम गर्नुछ एक्लै गर्नुहोला । जसमाथि तपाईंले ठूलो विश्वास गर्नुभएको छ ति व्यक्तिहरूबाट नै काम बिग्रनेछन्, विशेष सतर्क रहनुहोला । समग्रमा भन्नुपर्दा हाज समय शुभ रहेको छैन । प्रत्येक काममा व्यर्थैमा लगानी गर्नुभन्दा गरिरहेको पेशालाई यथावत नै रहन दिनु उचित हुनेछ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम् लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । आदर–सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, प्रयास गर्नुहोला । समय शुभ रहेकाले समयको महत्व बुझेर अघि बढेमा लाभ मिल्नेछ । यात्रा पनि शुभ रहनेछ ।
धनु : धनु राशिका लागि आज चिसो र पखालालाले ठूलो दु:ख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । यात्रामा पनि शुभ समय रहेको छैन ।
मकर : मकर राशि भएकाहरूका लागि आज सबै प्रकारले शुभ रहेको छ । पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ ।, टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ ।
कुम्भ : कुम्भ राशिका लागि आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । समय खराब छ, आज उत्तर दिशाको यात्रा ठीक छैन ।
मीन : मीन राशि भएकाहरूका लागि आज स्वास्थ्य ठीकठाक रहनेछ । गर्न खोजेका केही काम सफल, केही असफल हुनेछन् तैपनि कडा परिश्रम गर्नुभएमा निश्चित रुपमा केही नहुनुभन्दा राम्रै हुनेछ । तपाईं महिला पुरुष जो भए पनि आज नराम्रो आरोप लाग्न सक्छ । त्यसकारण जो कसैसंग लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । समय मध्यम छ, टाढाको यात्रामा पनि खासै उपलब्धि देखिंदैन ।

Sunday, January 10, 2021

जिबि आग्रीको निर्देशनमा नयाँ म्युजिक भिडियो "सुन्तलीका दाना"युटुबमा रिलिज


-सुनिलकुमार लो
पछिल्लो समय सुदुरमा थुप्रै   म्युजिक भिडियो बनाएर चर्चामा आएका निर्देशक जि.बि आग्रीले फेरि नयाँ म्युजिक भिडियो लिएर आएका छ्न ।' 'सुन्तलीका दाना" बोल रहेको गितको रोमाण्टिक म्युजिक भिडियोले दर्शकको मन जित्ने कुरामा निर्देशक आग्री ढुक्क छ्न ।

अविनास थापाको रचना, भीम बिसिको संगित रहेको उक्त गीतमा सरु गौतम र सुशान्त श्रेष्ठले आवाज दिएका छ्न ।
त्यसैगरी भिडियोमा केशव,अञ्जु विश्वकर्मा र शुशिलजङ्ग कुंवरको सुन्दर नृत्य र अभिनय रहेको छ । डिबि रौलेले छायांकन गरेको भिडियो ओएसआर
डिजिटल नामक युटुब च्यानलबाट हेर्न सकिन्छ ।

Friday, January 8, 2021

हेर्नुस् , पुनर्वासमा प्रधानमन्त्री केपी ओलिको कदमको विरोधमा मोटरसाइकल रयाली यसरी निस्कियो (फोटो फिचर)

हेर्नुस् , पुनर्वासमा प्रधानमन्त्री केपी ओलिको कदमको विरोधमा मोटरसाइकल रयाली यसरी निस्कियो (फोटो फिचर)

धनगढीमा प्रधानमन्त्रीको सुरक्षाका लागि राजा रानी खटाईयो


धनगढी,पुस २४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाको लागि प्रहरीले तालिम प्राप्त कुकुर को  प्रयोग गरेको छ ।
संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका राजा र रानी नाम दिइएका कुकुर प्रयोग गरिएको हो।
धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ।
नेकपा विभाजन भएपछि ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली श्री एयरलाइन्सको विमान मार्फत धनगढी आएका हुन् ।
नेकपाले धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि जनसभा सुरु हुने जनाएको छ ।