Sunday, August 25, 2024

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

 काठमाडाैँ/९ भदौ
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रवार न्यायाधीश डा.मनोजकुमार शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्रलाई व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएसँगै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
सरकारले पहिलो चरणमा साउन १ गतेदेखि लागु हुने गरी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

Tuesday, August 20, 2024

टिकटक फुकुवा गर्ने सरकारको तयारी




काठमाडौं, ४ भाद्र।
लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारले तयारी गरेको छ । टिकटकले नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिबद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बनेको हो । चार दिनअगाडि मात्रै इमेलमार्फत टिकटकको प्रतिवद्धता पत्र प्राप्त भएको मन्त्रालयले जनाएको छ । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले पत्रमा हस्ताक्षर गरेका छन् ।नेपाल सरकारको सबै ऐनकानून पालना गर्न हामी कमिटेड छौं भन्ने पत्र आएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक छन् । उनकै ग्रीन सिग्नल पाएर सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ।  नेपाल सरकारको ऐन-कानूनहरु पालना गर्ने शर्तमा टिकटक खुलाउन तयार रहेको जवाफी पत्र पनि मन्त्रालयले पठाएको छ ।

मन्त्रालयका अनुसार टिकटकलाई सूचीकरणका लागि तीन महिनाको समयावधि सरकारले दिएको छ । प्रतिबन्ध भने केही दिनमै फुकुवा हुने जनाइएको छ । प्रतिबन्ध लागेदेखि नै नेपालमा टिकटकले निरन्तर फुकुवाका लागि प्रयास गरिरहेको थियो । यसअघि पनि पत्र पठाएर नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएको थियो ।

Friday, August 9, 2024

पशुपति कोटिहोममा दलित समुदायका प्रथम आचार्य कृष्ण दमाईलाई भव्य स्वागत तथा अभिनन्दन

काठमाडौं । दलित समुदायका प्रथम आचार्य  कृष्ण दमाईलाई पशुपति कोटिहोममा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका दमाईलाई पशुपतिनाथ स्थित वनकालीमा सञ्चालन भइरहेको ऐतिहासिक विशाल कोटी होम यज्ञमा विहिवार भव्य स्वागत तथा अभिनन्दन गरिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरमा बस्दै आएका कृष्णले २०६४ सालमा कञ्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण, शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण गरेपछि दमाईं आचार्यको पढाइ पूरा गर्न दाङ पुगेका थिए । दलित समुदायमाथिको विभेदविरुद्ध संस्कृत विषय अध्ययनमा जुटेर आचार्य पुरा गरेका हुन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्ने दलित समुदायका कृष्ण प्रथम आचार्य गुरुदेव बन्न पुगेका हुन् । पशुपति कोटिहोम तथा नेपाल माहात्म्य परिवारले वहाँको उज्ज्वल भविस्यको कामना गर्दै यज्ञमा भव्य स्वागत तथा अभिनन्दन गरेको थियो ।
कृष्णलाई कोटिहोममा अभिनन्दन गर्दै गुरुले काखमा च्याप्दा भावुक हुदै भन्नु भयो “४ कक्षामा पढ्दा गाउँमा जातीय विभेद खेप्नु परेपछि संस्कृत पढेर पुराण वाचन गर्ने इच्छा त्यतिबेलै पलाएको बताउदै अझै थुप्रै कार्य गर्नबाकी रहेको बताए ।”
पशुपतिनाथ स्थित वनकालीमा सञ्चालन भइरहेको ऐतिहासिक विशाल कोटी होम यज्ञको अवसरमा धार्मिक कथा प्रवर्चन, ऐतिहासिक विशाल कोटी होममा धार्मिक गुरुहरू द्वारा कथा प्रवर्चनका साथै सत्संग सुरु गरिएको हो ।
कथा सुन्न र यज्ञको दर्शन गर्न धार्मिक पर्यटकहरूको दैनिक भिडभाड बढ्न थालेको छ । यज्ञकै अवसरमा श्रीराम कथा प्रवचन हुने भएको छ । कोटी होम यज्ञको परिसरमा साउन १६ गते देखि ३२ गतेबाट राम कथा प्रवचन सुरु भएको छ ।
मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन भएको हो । उक्त महायज्ञ साउन महिना भरि चल्ने आयोजक मानव सेवा फाउन्डेशनले जनाएको छ । मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

Wednesday, July 24, 2024

पुनर्वासको भकुण्डामा मर्सिकोर र एनएनएसडब्लुए द्वारा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास सम्पन्न


-किशोर तामाङ 
कञ्चनपुर, ०९साउन ।
 पुनर्वासको भकुण्डामा मर्सिकोर र एनएनएसडब्लुएद्बारा मंगलबार बाढीमा आधारित कृत्रिम नमुना अभ्यास सम्पन्न गरिएको छ ।
पछिल्लो एक दशक यता वर्षातमा आउने बाढीले वर्षेनी ठूलो धनजनको क्षति गर्ने गरेको छ । त्यस्तो क्षतिलाई न्यूनीकरण गर्नका लागि कञ्चनपुरको पुनर्वासमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको  छ ।
प्राकृतिक विपद्हरूलाई रोकथाम गर्न नसके पनि पूर्वतयारको माध्यमबाट विपद्को असरलाई न्यून गर्न सकिन्छ भन्ने  उद्देश्यका साथ विगतको बाढीको अनुभवलाई आत्मसात् गर्दै आगामी दिनहरूमा भैपरि आउने बिपदको समयमा कसरी पूर्व तयारीका कार्यहरू गर्न सकिन्छ भन्ने  दिगो ब्यवस्थापन का लागि बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको  हो ।
मर्सिकोर नेपाल र  नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना एमरेड  अन्तर्गत  पुनर्वास नगरपालिका  वडा नम्बर १ भकुण्डामा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास गरिएको थियो । 
परियोजनाले कञ्चनपुर जिल्लाका पुनर्वास नगरपालिकाका विभिन्न ४ वटा समुदायमा बाढी उत्थानशीलताको क्षेत्रमा कार्य गरिरहेको  र सोही कार्यको निरन्तरता दिदै  पहिलो पटक पुनर्वासको भकुण्डा नजिकैको दोदा नदीमा  बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास कार्यक्रममा एन एन एस डब्लु ए का विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यासमा सहजीकरण प्रशिक्षक जनक लेखकले गर्नुभएको थियो । 
नमुना अभ्यासपछि आयोजित समीक्षाका क्रममा नेपाल रेडक्रस सोसाइटी पुनर्वास शाखाका सचिव  रूपेश खरेलले  समुदायका व्यक्तिहरूले उक्त अभ्यासबाट विपद्को तीन चरणमा गर्नुपर्ने कार्यको बारेमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिनुभएको थियो ।  

 त्यस्तै पुनर्वास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनलाल रानाले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व अभ्यासले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विपद्को समयमा प्रभावित समुदायको व्यवस्थापनमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । 

बाढीमा आधारित कृत्रिम नमुना अभ्यासका क्रममा आयोजित औपचारिक कार्यक्रममा मर्सिकोर नेपालका बिपद उत्थानशील सल्लाहकार लक्ष्मी अवस्थीले  विपद् व्यवस्थापनका क्षेत्रमा समेत क्रियाशील रहेको यस संस्थाले  थुप्रै ठाउँहरूमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताउनु भयो  । पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचार लगायतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाइ भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । विगतदेखि निरन्तर सिकाइको क्रम जारी रहँदा सिकेका विषयवस्तुलाई आवश्यक परेको समयमा व्यवहारमा लागु गर्न सक्नुलाई नै उपलब्धिका रूपमा लिन सकिने उहाँको भनाइ छ । विपद्को समयमा समुदायकै व्यक्तिहरू उद्धार कार्यका खटिनु पर्ने हुँदा पूर्व तयारी अवस्थामै रहन उहाँले आग्रह गर्नुभयो ।

बाढी आउनु पूर्वको मौसमी विवरण, पूर्व सूचना प्रणाली, जनसमुदायले अपनाउनु पर्ने सतर्कता, बाढी आउँदा ध्यान दिनु पर्ने कुरा, प्रभावितहरूको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण र पुनर्स्थापन तथा व्यवस्थापन जस्ता गतिविधिहरू नमुना अभ्यासका रूपमा प्रस्तुत गरिएका थिए । 
उक्त कृतिम नमुना अभ्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन ओमनाथ ढकाल , नेपाल रेडक्रस सोसाइटी शाखा पुनर्वास का सचिव रूपेश खरेल,स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय समुदायका नागरिकहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू र  पत्रकार समेतको उल्लेख्य सहभागितामा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास गरिएको हो ।

Monday, July 15, 2024

स्पेनले जित्यो युरोकप २०२४ को उपाधि


स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ।
जर्मनीको बर्लिनमा सोमबार राति भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो।
इंग्लिस टिमलाई पराजित गर्न निको विलियम्स र मिकेल ओयरजबालले एक/एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको ४७ औं मिनेटमा लामिन यमालको पासमा निको विलियम्सले गोल गर्दै स्पेनलाई सुरूवाती अग्रता दिलाएका थिए।
अग्रता लिएसँगै इंग्लिस टोलीमाथि स्पेनिस टोली हाबी देखिएको थियो।
७३ औं मिनेटमा कोल पाल्मरले बराबरी गोल फर्काएपछि इंग्ल्याण्ड खेलमा फर्किएको थियो। पाल्मर ७० औं मिनेटमा कोबी मायनुलाई सब्सिच्युट गर्दै मैदान प्रवेश गरेका थिए।
उनले ज्युड बेलिङ्घमको सुन्दर पासमा सानदार गोल गरे।
बराबरी गोल फर्काएपछि इंग्ल्याण्ड आक्रामक र स्पेन केहीबेर रक्षात्मक देखिएको थियो। 
८६  औं मिनेटमा मार्क कुकुरेलाको पासमा मिकेल ओयरजबालले गोल गरेपछि स्पेन उपाधि नजिक पुगेको थियो।
अन्तिम समयमा इंग्ल्याण्डले गोल गर्ने प्रयास गरेपनि ड्यानी ओल्मोले हेडमार्फत सानदार बचाउ गरेपछि स्पेनले युरोकपको उपाधि जितेको हो।  
स्पेनले जारी युरोकपमा अपराजित रहँदै उपाधि जितेको हो।
समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै नक आउट चरणमा प्रवेश गरेको स्पेनले नक आउटमा जर्जिया र क्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो।
स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनल पुगेको थियो।
युरोकपमा स्पेनको यो चौथो उपाधि हो।  यसअघि सन् १९६४, २००८ र २०१२ मा स्पेनले युरोकपको उपाधि जितेको थियो।इंग्ल्याण्डले पहिलोपटक युरो च्याम्पियन बन्ने मौका गुमाएको छ। 

Friday, July 12, 2024

सिमलताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता


चितवन /२८ असार ।
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा दुई बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।
नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ ।
घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन् । उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।
उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आउँदै गरेको उनले बताइन् । सो खण्ड अन्तर्गतको कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताइन् ।
‘अहिले घटनास्थलमा उद्धार कार्य सुरु गर्न सक्ने अवस्था छैन । सडकको माथिबाट आएको लेदो सहितको पहिराले बसलाई त्रिशूलीमा मिसाएको हो । लेदो सहितको पहिरो भएकाले काम गर्न कठिन भइरहेको छ ।’ उनले भनिन्, ‘बसका यात्रुहरूको अवस्था अज्ञात छ । उद्धार कार्यका लागि गोताखोर बोलाइएको छ । गोताखोरह पनि पहिरोका कारण अड्किएका छन् । काली खोलामा ठुलो पहिरो खसेकाले गोतखोरहरु घटनास्थल पुग्न सकेका छैनन् । गोताखोर नभई उद्धार कार्य सुरु गर्न सकिन्न ।’
काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जल बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् ।

Monday, July 8, 2024

भिषण वर्षाको ताण्डव:पुनर्वासको रातोखोले तालमा डुबेर दुई किशोरीको मृत्यु, एक वेपत्ता


-लाल ब. एसके 
कञ्चनपुर, २४ असार
चारदिनदेखि लगातारको भिषण बर्षाको कञ्चनपुरमा जताततै ताण्डव मच्चाईरहेको छ । भिषण बर्षातले नदीखोला नालामा आएको वाढीबाट हजारौँ घर परिवार डुवानमा परिरहेका बेला पुनर्वासको रातोखोले तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले पुनर्वास नगरपालिका ५(ग)गाँउको रातोखोले तालमा डुबेर दुई किशोरीको मृत्यु भएको बताए । पन्तका अनुसार १५ बर्षिया लक्ष्मी बोगटी, १६ बर्षिया सृजना बोगटीको मृत्यु भएको छ । भने आरती बोगटी वेपत्ता भएकी छिन ।
 वेपत्ता आरतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । भने आरती बोगटी वेपत्ता भएकी छिन । वेपत्ता आरतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।  तीनै जना गाँउकै गौरीशंकर माध्यामिक विद्यालयमा अध्ययनरत छन ।

कञ्चनपुरको दक्षिणी क्षेत्र डुबानमा


कञ्चनपुर/दोदानदीमा आएको बाढीले कञ्चनपुरका दर्जनौँ गाउँबस्ती डुबानमा परेका छन्। चार दिनदेखि अविरल परिरहेको भीषण वर्षाले दोदानदीमा बाढी आएपछि बस्ती डुबानमा परेका हुन्।

गएरातिदेखि दोदानदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौँ गाउँबस्ती डुबानमा परेका छन्। दोदानदी गाउँ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास– ५ सिमरी, रातोपुल, पुनर्वास– २ मोतीबस्तीका सयौँ घर डुबानमा परेका छन्।

दोदानदी गाउँ पस्दा पूर्व–पश्चिम र हुलाकी राजमार्गसमेत अवरुद्ध भएको छ।

दोदाबाट विस्थापित भएका घरपरिवारलाई पुनर्वास– ५ चन्द्रवाला आधारभूत विद्यालयमा राखिएको छ। पुनर्वास नगरपालिका विपत् व्यवस्थापन संयोजक होमनाथ ढकालले बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सारिएको बताए।

Wednesday, July 3, 2024

एमालेका आठ मन्त्रीद्वारा राजिनामा


काठमाडौँ/१९ असार 
 नेकपा एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष केहीबेर अघि राजीनामा दिएका छन्। चार महिनाअघि दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाली कांग्रेससँग सहमतिपछि आज सरकारबाट बाहिरिएको हो।
संसद्‌को दोश्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको छ। कांग्रेस र एमालेले सोमबार राति आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति गरेका थिए। 
ओलीले बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेलगत्तै एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्। 

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिए।

Sunday, June 30, 2024

सुदूरपश्चिममा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी

धनगढी/१६ असार 
 सुदूरपश्चिममा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिईएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चार मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर विना विभागीय ५ मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय भने यथावत् राखिएको छ । भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए ।

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ। जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

मुख्यमन्त्री सोडारीले अक्कल बहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Saturday, June 29, 2024

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने


  
काठमाडौं/१५ असार 
 माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा 'एनजी' ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।

यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो । यसअनुसार एक लाख १५ हजार आठ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य भएका थिए । तर शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई यसअनुसार व्यवस्था गर्न भनिएको छ । केन्द्रले लागू गरेको निर्देशिकामा दुई विषयसम्म ननग्रेडिङ ल्याएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुई विषयभन्दा बढीमा ननग्रेडिङमा परे चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउने व्यवस्था रहेकोमा यो व्यवस्थासमेत संशोधन हुने मन्त्रालयले जनाएको छ ।

परीक्षा बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने समयतालिका प्रकाशित गरिसकेको छ । मन्त्रायलको यो निर्णयपछि परीक्षाको समय तालिकामासमेत संशोधन गर्ने तयारी छ ।

ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको तयारी र आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालयलाईसमेत निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । यस वर्षको एसईईमा सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीको एनजी आएको छ ।  

बेलौरीको विज्डम एकेडेमीमा नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु



 कञ्चनपुर, १५ असार । 
 बेलौरीस्थित विज्डम एकेडेमीमा शुक्रबारबाट औपचारिक रूपमा नेपाली सेनाले दिने राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ । रुद्रध्वज गणका सेनानी (मेजर) नवीन सिंह बोहराको उपस्थितिमा शुक्रबारबाट विज्डम एकेडेमीमा एनसीसी तालिम प्रशिक्षणको औपचारिक रूपमा सुरुवात गरिएको विज्डम एकेडेमीका प्रिन्सिपल गोविन्द सिंह थाहाले जानकारी दिनुभयो । तालिममा विद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ जनाको सहभागिता रहेको छ । 
विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्य ज्ञानका साथै एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइने छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात् फाइरिङ पनि सिक्दछन् । ७९ दिनको तालिमपछि २१ दिनको क्याम्प तालिम हुन्छ । क्याम्पका लागि बाँकेको कोहलपुरमा लगिने बताइएको छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज, उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकाससम्मको तालिम लिन सकिने छ । सिनियर डिभिजन तालिममा घोडचढी, स्विमिङ, हाइकिङ र क्लाईम्बिङसम्म सिकाइन्छ । ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुने तालिमलाई ४० दिन र २१ दिनको क्याम्प तालिमलाई १६ दिनको राखिएको छ ।

सुदूरका अठार स्कुलमा सेनाको सेवा दल तालिम सुरु ।।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका अठार सामुदायिक तथा संस्थागत विद्यालय छनौट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम सुरु गरेको छ । सुदूरपश्चिम पृतना अत्तरिया तेघरीले दिएको जानकारी अनुसार सिसम् ५० राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम सुरु गरिएको हो । सेनाको सुदूरपश्चिम पृतनाले दिएको जानकारी अनुसार यहाँबाट सिफारिस भई छनौट भएका विद्यालयहरूमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सुरुवात गरेका हुन् । कञ्चनपुरका ६, कैलालीमा ३, डडेलधुरा र दार्चुलामा दुई दुई  डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ ।

युवा वर्गलाई अनुशासित, वफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयहरूमा सञ्चालन गर्दै आएको छ । जुनियर डिभिजन तालिममा छनौट भएका हरेक विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ । श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जङ्ग ठकुरीले कञ्चनपुरका पाँच विद्यालयका तालिम सञ्चालन भइसकेको र छनौटमा रहेको थप एक विद्यालयको तालिम केही दिनमा सुरु हुने जानकारी दिनुभयो । सेनाले दिएको जानकारी अनुसार २०२२ सालदेखि मुलुकमा नेपाली सेनाले विद्यार्थीहरूलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजार भन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ ।
-नेपाल बोधबाट साभार

Friday, June 28, 2024

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बसमा एक यात्रुको मृत्यु


कञ्चनपुर/१४ असार ।
महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ ।
भारतबाट घर फर्किदै गरेका बैतडीका दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशीको बसमै मृत्यु भएको हो । उनी रोजगारी गरेर भारतबाट घर फर्कदै थिए ।
महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा जोशी अत्तरियाबाट चढेका थिए ।
जोशी पाटन आइपुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो । अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जोशीको मृत्युको कारण खुलेको छैन । बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस