Friday, February 28, 2025

कञ्चनपुरमा ट्रकको ठक्करबाट २१ वर्षीया युवती मृत्यु


कञ्चनपुर/१६ फागुन 
 शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा विहिवार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।
    मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन् । घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।



काठमाडौमा ६.१ रेक्टर स्केलको भूकम्प, केन्द्रविन्दु सिन्धुपाल्चोक


काठमाडौं  । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
   शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ ।
रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।  भूकम्पबाट भएको क्षतिको विवरण आउन भने बाँकी रहेको छ ।



Monday, February 24, 2025

स्कुल बसले ठक्कर दिँदा घाईते भएका रमेश तामाङको निधन

कञ्चनपुर/फागुन १२
पुनर्वासमा स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते  भएका पुनर्वास ३ निवासी रमेश तामाङको उपचारको क्रममा सोमबार  काठमाडौमा निधन भएको छ ।
   हिजो  बिहान पुनर्वास ३ राम बस्तीमा धनगढीको वेस्टर्न कृष्टल एकेडेमीको बस (सुपप्र ०१–००१ प. २१३३)ले  रमेश तामाङ (वर्ष ४४) सवार मोटरसाइकल ( से.२ प. ६३०९) लाई ठक्कर दिएको थियोे  ।
दुर्घटना हुनासाथ घाइतेका आफन्तजनले पुनर्वास ६ स्थीत पुनर्वास पोलिक्लिनिकमा लगेको भएपनि 
त्यहाँ उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको र त्यहाँपनि उपचार सम्भव नभएपछि  उहाँलाई काठमाडौको ह्याम्स हस्पिटल लगीएको थियो । 

Sunday, February 23, 2025

पुनर्वासमा स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

कञ्चनपुर/फागुन ११
पुनर्वासमा स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छ्न । आज बिहान पुनर्वास ३ राम बस्तीमा धनगढी स्थीत वेस्टर्न कृष्टल एकेडेमीको बस (सुपप्र ०१–००१ प. २१३३)ले स्थानीय व्यक्ति रमेश तामाङ (वर्ष ४४) सवार मोटरसाइकल ( से.२ प. ६३०९) लाई ठक्कर दिएको हो ।
दुर्घटना हुनासाथ बसका ड्राइभर प्रेमसिंह राना (वर्ष ३२) ले एम्बुलेन्स बोलाउँछु भन्दै बस घटनास्थलमै छाडी फरार भएको स्थानीयले बताएका छ्न ।
घाइतेका आफन्तजनले पुनर्वास ६ स्थीत पुनर्वास पोलिक्लिनिकमा लगेको भएपनि 
त्यहाँ उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको पुनर्वास पोलिक्लिनिकका सञ्चालक धोके रानाले बताउनुभयो । अहिले घाईतेको उपचार धनगढीको मायामेट्रो हस्पिटलमा भैरहेको र घाईतेको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ । त्यसैगरी बस र  ड्राइभरलाई घटनास्थलबाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा आवश्यक कानूनी कार्वाहीका लागि  राखिएको  ईलाका प्रहरी कार्यालय प्रमुख महेश विक्रम शाहीले जानकारी दिनुभयो।


Monday, February 17, 2025

पुनर्वासका नगर प्रमुख शर्मा प्रति अभद्र व्यवहार भएको भन्दै पालिका र कर्मचारीद्धारा विज्ञप्ती जारी, प्रहरीमा जाहेरी दर्ता


लाल ब. एसके
पुनर्वास/५ फागुन।
 कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा प्रति अभद्र व्यवहार गरिएको भन्दै पुनर्वास नगरपालिका र नगरपालिकाका कर्मचारीद्धारा छुट्टा छुट्टै विज्ञप्ती जारी गरिएको छ ।

मिति २०८१ फागुन २ गते शुक्रबार राति करिब ८ बजेको समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा आफ्नो घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नम्बर ९ बस्ने हरि बहादुर बोहराले नगर प्रमुख सवार गाडी रोकेर अभद्र व्यवहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त घटनाप्रति पुनर्वास नगरपालिकाले गम्भीर आपत्ति जनाउँदै शनिबार आकस्मिक बैठक बसी एक प्रेस विज्ञप्ति जारी गरेको छ । नगरपालिकाका प्रवक्ता तुलसी अर्यालको हस्ताक्षरयुक्त विज्ञप्तिमा नगर प्रमुखलाई सार्वजनिक स्थानमा रोक्ने र अभद्र व्यवहार गर्ने कार्य कानुनी र सामाजिक दृष्टिकोणले समेत अनुचित रहेको उल्लेख गरिएको छ । यस घटनाले नगर प्रमुखको गरिमा र सामाजिक प्रतिष्ठामा आँच पुगेको भन्दै दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तीमा यस्तो कुरा उल्लेख गरिएको छ : मिति २०८१ फागुन २ गतेका दिन अन्दाजी ८ को समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यू नगरपालिकावाट घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नं. ९ वस्ने हरि वहादुर वोहराले नगर प्रमुख सवार गाडी रोकि गरेको अभद्र व्यवहार प्रति यस नगरपालिका घोर भत्र्सना गर्दछ 

निजले नगर प्रमुख सवार गाडीलाई रोकि नगर प्रमुख तथा चालक प्रति गरेको अभद्र व्यवहारले कानूनी राज्यको खिल्ली उडाएको प्रतित भएको छ । निजले विगत देखि नै सामाजिक सञ्जालमा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको पुर्वाग्रहि किसिमले व्यक्तिगत चरित्र हत्या गर्ने गरी श्रव्यदृश्य तथा लिखित सामाग्रीहरु प्रेसित गर्ने गरेको समेत थियो ।

यस किसिमको क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीको व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आँच पुर्याउने हुँदा यस्ता कार्यप्रति घोर आपत्ति प्रकट गर्दै यस किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी कारवाहिका लागि कानूनी वाटो खोजिने जानकारी समेत दिन चाहान्छौं ।

हिजो अवेर सम्म नगरपालिकाको कार्यक्रममा सहभागि भई नगर प्रमुख आफ्नो घर फर्किने क्रममा अनावश्यक रुपमा योजनावद्ध ढंगले निजले वाटो छेकि गरेको अमानवीय व्यवहारको घोर भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कडा कारवाहिका लागि सम्वन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ ।

भन्दै विज्ञप्ती जारी गरिएको छ भने यता, आइतबार कार्यालय समय खुलेपछि पुनर्वास नगरपालिकाका कर्मचारीहरूको संयुक्त बैठक बसेर घटनाप्रति आपत्ति जनाउँदै छुट्टै प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरुले मेयर शर्मा घर फर्कने क्रममा राति ८ बजे अवाञ्छित र अभद्र व्यवहार गरिएको भन्दै घटनाको भत्र्सना गरेका छन् । उनीहरूले नगरपालिकाको कामकाजमा अवरोध पु¥याउने गतिविधि सह्य नहुने बताउँदै दोषीमाथि यथाशीघ्र कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् 

नगर प्रमुख शर्मामाथि अभद्र व्यवहार गरेको आरोपमा जाहेरी प्रहरीमा दर्ता भएको छ । आरोप लागेका हरि बहादुर बोहराको खोजी कार्य इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले तीव्र पारेको छ । हालसम्म उनी फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको पुनर्वास नगरपालिका र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएका छन् ।

पछिल्लो समयमा देश भर सरकारी गाडी दुरुपयोग भएको भन्दै चौंतर्फी आलोचना हुने गरेको छ । विभिन्न स्थानीय तह, प्रदेश र विभिन्न कार्यालयका सरकारी गाडी घोडा बिबाह मठमन्दिर, घरपरिवार घुम्न जाने, घास बोक्ने, दाउरा बोक्ने, बोका बोक्ने जस्ता तमाम व्याक्तिगत तथा घर्यासी कार्यमा संलग्न भएका घटनाहरु फेला पर्दै गएका छन् ।
उपमेयर भुलियो कुमारी रानाको बिबाहको भारतको पलियाबाट समान ल्याउने बेला समेत गाडीको दुरुपयोग भएको थियो । त्यति बेला पनि सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुले समेत समाचार प्रकाशन गरेका थिए।

यसै सन्दर्भमा पुनर्वासका केहि युवाहरुले गाडी दुरुपयोग भएको आरोप समाजिक संजालमा लगाउदै आएका छन् । गाडी दुरुपयोग भएको भए पनि कानुनी बाटो अपनाउने ठाउँमा यस्तो कार्य ठिक नभएको स्थानीयले बताएका छन् । सरकारी सवारी साधनको दुरुपयोग नगरिनु पर्ने उहाँहरुको सुझाव रहेको छ । गाडी दुरुपयोग भए नभएको समेत छानवीन हुनुपर्ने यस क्षेत्रका युवाहरुले माग गरेका छन् ।

केहि दिन पहिले देखि पुनर्वासका केहि युवाहरुले पुनर्वासको सरकारी गाडी दुरुपयोग भएको भन्दै नगर प्रमुख उप प्रमुख लगायत कर्मचारीहरुको विरोध गर्दै आएका थिए ।

Monday, February 3, 2025

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण

धनगढी २१ माघ ।
जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसात गर्दै धनगढीका नरेश कुँवरले आफ्नो जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् ।
लाइन्स क्लब धनगढी, नैनादेवीका सदस्य, समाजसेवी तथा व्यापारी कुँवरको ३९ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद तथा खाद्यान्न बितरण गरेका हुन् । 
लाइन्स क्लब धनगढी, नैनादेवीको आयोजना तथा लायन नरेश कुँवरको प्रायोजनामा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद ७६ हजार तथा १ लाख ३५ हजार बराबरको खाद्यान्न बितरण गरिएको क्लबका अध्यक्ष अमीत भुजनियाले बताए । 
माघ २३ देखि ३० गतेसम्म भवन निर्माण सहयोगार्थ सञ्चालन हुने महायज्ञमा जन्मदिनको अवसर पारेर लायन्सको तर्फबाट नगद ५१ हजारसमेत सहयोग गरिएको भुजनियाले जिकिर गरे ।
सामाजिक कार्य गर्दा आफुलाई खुशी लाग्ने बताउदै समाजसेवी कुँवरले घरपरिवार र साथीहरु माझ सीमित रहेर जन्मोत्सव मनाउनु भन्दा सानै र थोरै भएपनि अरुलाई सहयोग गरेर आफ्नो जन्मोत्सव मनाउन पाउँदा निकै खुशी लागेको बताए । उनले भने ‘खान पुगोस्, दिन पुगोस्, दीन दुःखी र असहायको लागि यसरी नै सहयोग गर्न पुगोस् ।’ 
यसअघि पनि समाजसेवी कुँवरले आफ्नो जन्मदिनको अवसरमा दीन दुःखी, असहायहरुलाई खाद्यन्न बितरण तथा बिभिन्न संघसंस्थाहरुमा आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन मनाउँदै आएका थिए । नरेश बझाङ बुङल क्रिकेटका संस्थापक एबं कुँवर लिकरका सञ्चालकसमेत हुन् । यतिखेर कुँवर सफल व्यवसायी, समाजसेवी एवं दातृको रुपमा सुदूरपश्चिममा परिचित छन् ।

Tuesday, January 7, 2025

एकाविहानै हल्लियो काठमाडौ,७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि


काठमाडौं । आज विहान नेपाल र भारतमा समेत हल्लाएको भूकम्पको केन्द्र बीन्दु चीन भएको अनुमान गरिएको छ । चीनमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।  भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ ।  बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । 
प्रारम्भिक जानकारीका अनुसार झापामा पनि ठूलो धक्का महशुस गरिएको छ ।  पाँच सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । कही समय भूकम्पको कम्पन गएको हो ।
भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । नेपालको पूर्वझापासम्म भूकम्पको धक्का महशुस गरिएको छ । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । 
भारतको बिहारमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल भएको प्राम्भिक अनुमान रहेको छ । विहारको मोतिहारी, समस्तीपुरलगायत बिहारका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।


Sunday, December 15, 2024

पुनर्वास ६५ बिगाह मा आयल निगम डिपो नै किन?

 हामिले १ दशक देखि सुन्दै आएको कंचनपुर पुनर्वास मा ५   ६५ बिगाह मा कृषि क्याम्पस बन्ने हो भनेर तर कृषि क्याम्पस बनाउन भनि लागाइएको माहायज्ञ बाट उठेको करोडौं रकम काहा छ?
त्यो समिति मा आवद्ध व्यक्ति हरुले यसको जबाफ दिएको खै।
केहि वर्ष अगाडि चिनिमिल आउनु हुदैन भन्दै चिनिमिल पुनर्वास मै ल्याइयो । त्यस बाट उत्पन्न हुने रसायन युक्त पेय पदार्थ बाट किसान का बालिननि नस्ट र स्वास्थ मा देखा परेको असर सहित वातावरणीय असर हाम्रो अगाडि यथावत नै छ।
पछिल्लो सम्म सम्पूर्ण निकाय मिलेर डिपो ल्याउन खोजिएको देखिन्छ।
स्थानीय तनावग्रस्त छन। काहीं कति त्यहि करोडौं रकम को चलखेल दवाउन डिपो ल्याउन लागिएको त होईन ? कहिले कति सम्पूर्ण निकाय का जनप्रतिनिधि ले आफ्नो केहि सिमित फाइदा को लागि डिपो ल्याउन लागेको त होइनन्?
यि सम्पूर्ण को जबाफ कसले दिने ।
आखिर डम्पिङ्ग साइड मात्र पुनर्वास मा निर्माण गरेर बिकास भएको देखाउन खोजिएको होईन ।
 अन्यथा डिपो निर्माण गर्न अनुमति दिने निकाय किन नगरको स्वास्थय र वातावरण  माथि खिलवाड गर्दै छ?
यसका असर हरु निम्न बुदा म  समेटेको छु।

वातावरण ,पशु र जनस्वास्थ्य मा धेरै समस्या हुने हुनाले  कृषि र आवासीय क्षेत्रहरू नजिक इन्धन भण्डारण गर्न दिनु हुदैन भन्ने चेतना धनगढी उप- महानगरपलिका र त्यहाँका वासिन्दा लाई राम्ररी थाहा छ र त्यो सम्स्या बाट गुज्रिरहेका छन् । सरकारी जमिनको  कमिले धनगढि बाट  करिब २० कि.मि  पछाडि आउछ कोहि ? त्यो पनि सुदुरपश्चिम को हुनेवाला राजधानी छोडेर !! 

 कृषिमा हुने  प्रभाव: 
    - माटो प्रदुषण: इन्धन भण्डारणबाट निस्कने वा चुहावटले माटोलाई दूषित गर्छ, बालीको वृद्धिलाई असर गर्छ र कृषि उत्पादकतालाई हानि पुर्‍याउँछ।
    - जल प्रदूषण: ईन्धन चुहावटले भूमिगत पानीमा पनि रसाउनेहुनाले पानी प्रदुषण हुन्छ जसले बाली र मानिसहरू दुवैको लागि सिँचाइ र पिउने पानीका स्रोतहरूमा असर गर्छ। 

  स्वास्थ्य चिन्ताहरू:
    - हावाको गुणस्तर: पेट्रोल वा डिजेलको भण्डारणले हावामा हानिकारक उत्सर्जनहरू छोड्ने हुनाले नजिकै बस्ने मानिसहरूको श्वासप्रश्वास र साधन हरुको आवत जावत ले दुर्घटना हुनसक्ने सम्भावना यस्तै स्वास्थ्यलाई धेरै असर गर्छ।
    - विषाक्त एक्सपोजर: इन्धनको धुवाँ वा दूषित माटो वा पानीसँग प्रत्यक्ष सम्पर्कले व्यक्तिहरूलाई स्वास्थ्य जोखिम निम्त्याउन सक्छ, जसले सम्भावित दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

   नोट- कृषि क्षेत्र वा नजिकैको आवासीय डिपो ले गर्दा कृषि र जनताको स्वास्थ्य दुवै लाई  हानि हुन्छ । 
हाम्रो पुनर्वास मा डिपो निर्माण गर्नु कदापि उचित छैन। यसको हामि सम्पूर्ण नगरबासिले घोर विरोध गर्नुपर्छ।

Friday, December 6, 2024

शिक्षकहरूको तलब मासिक रुपमा आउने


 
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

कतिपय स्थानीय सरकारले शिक्षकलाई मासिक तलब नदिएको गुनासो आएपछि शिक्षा मन्त्रालयले पत्रमार्फत् यो अनुरोध गरेको हो ।

शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षकलाई मासिक तलब खुवाउन संघीय मन्त्रालयलाई पत्र पठाएर अनुरोध गरेको जानकारी दिंदै भनिन्, ‘शिक्षकले तलब नपाउँदा विद्यार्थीको सिकाइ प्रभावित भएको छ ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमाफर्त ७५३ वटै पालिकामा पत्र पठाएर तलब मासिक रूपमा दिने अनुरोध गरेपनि शिक्षकले तलब नपाएको गुनासो गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखिएको मन्त्री भट्टराईको भनाइ छ ।

शिक्षा दिवसको अवसर पारेर असोज २ गते सार्वजनिक रूपमा सबै स्थानीय पालिकालाई शिक्षकको तलब मासिक दिन अनुरोध गरेपनि सुनुवाइ नभएको उनको गुनासो छ ।

Saturday, November 30, 2024

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ/नेपालमा सन् २०२३ मा ९१ प्रतिशत  एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । 
केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उहाँले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमति कम भइरहेको बताउनुभयो । उहाँले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएर घटेको बताउनुभयो । 
“हामीले सङ्क्रमितको पहिचान गरेर औषधि पद्धतिलाई राम्रो बनाएका छौँ”, उनले भने, “सबै सङ्क्रमित उपचारमा ल्याएका छौँ, ती उपचारमा रहेका सङ्क्रमितले औषधि खाएपछि अरुलाई सार्दैनन् र सङ्क्रमित कम हुँदै गएका छन् ।” औषधि खानेको शरीरमा भाइरसको भार न्यून हुने गरेको उनले बताए। 
उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी सङक्रमित भएका थिए । 
यस्तै एचआइभीबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । सन् २०२३ मा २३१ जनाको सङक्रमणको कारणले मृत्यु भएको छ । सन् २०१० मा एक हजार सात सय जना व्यक्तिको एड्सको कारणले मृत्यु हुने गरेको थियो । नेपालमा सन् १९९८ मा पहिलो पटक एचआइभी एड्स देखिएको थियो । 
निर्देशक डा शर्माले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताए। “अझै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उनले भने, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।”
उनले एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो । नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशिने रहेका छन् ।
तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७/१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङक्रमण रहेको पाइएको छ । 
सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार भारतमा कामदार नेपालीमा शुन्य दशमलव दुई प्रतिशत सङ्क्रमण रहेको पाइएको छ । नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पत्ती एवं जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम तथा सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।
सोही योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको रहेको छ । 
केन्द्रका निर्देशक डा शर्माका अनुसार एचआइभी सङ्क्रमिमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७४ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भइसकेको जानकारी दिए । 
हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । 
आइतबार डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३७औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।  रासस

कञ्चनपुरमा श्रीमतीद्वारा टाउकोमा ईटा प्रहार गरि श्रीमानको हत्या

कञ्चनपुर, १५ मङ्सिर ।
कञ्चनपुरमा एक श्रीमतीद्वारा टाउकोमा ईटा प्रहार गरि आफ्नै श्रीमान मारेको खुलासा भएको छ ।
बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको हो । आफ्नै घरको ट्वाइलेटमा चिप्लेर मृत अवस्थामा फेला परेको भन्ने खबर हिजो प्रहरीले प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्दको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलमा पुग्दा मृतको शव लडेको स्थानमा नभएर केही पर ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार ट्वाइलेट र बाथरुममा हेर्दा लडेको नभई हत्या गरेको अवस्थामा शव फेला परेको हो । मृतकको टाउको र तालुको विभिन्न भागमा काटिएको छ ।

घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोका लगायत स्थानमा रगतका छिटा देखिएको प्रहरीले बताएको छ । खाटमुनि रगत लागेको इट्टाको आधा भाग समेत फेला परेको छ । कोठामा रहेको दराजभित्र प्लास्टिकको सानो झोलाभित्र पुरुष र महिलाले लगाउने कपडाहरुमा समेत रगत देखा परेको छ ।

सोधपुछको क्रममा मृतकका श्रीमती ४३ वर्षीया जनककुमारी रानाले श्रीमान–श्रीमतीबिच विहिबार बिहान झगडा भएको र दिउसो श्रीमान् सुतेको अवस्थामा इँटाले उनको टाउकोमा हानी घटना आफूले घटाएको स्वीकार मृतकका श्रीमतीले गरेको प्रहरीले बताएको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले रगत लागेको इँटा २ थान, रगत लागेको मोबाइल एक थान, जेब्रा ब्याग एक थान र रगत लागेको महिला र पुरुषका कपडाहरु बरामद गरेको छ ।

Monday, November 25, 2024

भन्सार कर घटेपछि एकै दिनमा तोलामा १५ हजार ९ सयले घट्यो सुनको भाउ

काठमाडौं / १० मङ्सिर ।
सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। 

आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ। आइतबार  प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ।  अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर  २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।


  

Sunday, November 24, 2024

पेट्रोलियम डिपो बस्ती क्षेत्र नजिकै हुँदा के असर हुन्छ ?

पेट्रोलियम डिपो बस्ती क्षेत्र नजिकै हुनेले धेरै प्रकारका असर पर्न सक्छन्। ती असरहरू स्वास्थ्य, वातावरण, सुरक्षा, र सामाजिक-आर्थिक पक्षसँग सम्बन्धित हुन सक्छन्। मुख्य असरहरू यसप्रकार छन्:

१. स्वास्थ्यसम्बन्धी असर

पेट्रोलियम पदार्थको गन्ध र वाष्प (fumes) सास फेर्दा स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ।
लामो समयसम्म वाष्पको सम्पर्कमा रहँदा श्वासप्रश्वास समस्या, आँखा र छालामा जलन, र क्यान्सरजस्ता दीर्घकालीन रोगहरूको जोखिम बढ्छ।

डिपोबाट हुने फोहोर तथा चुहावटले जमिन र पानी दूषित हुन सक्छ, जसले पानीजन्य रोगहरू फैलाउन सक्छ।


२. वातावरणीय असर
आगलागी वा विस्फोटको सम्भावना उच्च हुन्छ, जसले बस्ती क्षेत्रलाई खतरामा पार्छ।
जमिनको प्रदूषणले खेतीयोग्य भूमिमा असर गर्न सक्छ।
हावा र पानीमा प्रदूषण फैलाउँदा जैविक विविधतामा असर पर्न सक्छ।

३. सुरक्षासम्बन्धी असर

पेट्रोलियम अत्यन्त ज्वलनशील पदार्थ भएकाले आगलागी र विस्फोटको जोखिम हुन्छ।
डिपोमा भएका भण्डारण ट्यांकरमा कुनै पनि सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ।
बस्ती क्षेत्र वरिपरि सुरक्षाको कमीले दुर्घटनाको जोखिम बढाउँछ।


४. सामाजिक र आर्थिक असर
दुर्घटना भएमा मानिसहरूको ज्यान जाने जोखिम हुन्छ।
स्थानान्तरणको कारण मानिसहरूले आफ्नो जमिन र घर गुमाउन सक्छन्।
डिपोको कारण नजिकको बस्तीमा बस्न असहज हुने हुँदा घरको मूल्य घट्न सक्छ।
प्रदूषणको कारण मानिसहरू बस्ती छोड्न बाध्य हुन सक्छन्।

समाधानका उपायहरू:
------------------------------
डिपो र बस्तीबीच सुरक्षित दूरी सुनिश्चित गर्नु।
अत्याधुनिक सुरक्षा मापदण्ड अपनाउनु।
प्रदूषण नियन्त्रणका प्रविधिहरू प्रयोग गर्नु।
जनचेतना कार्यक्रम सञ्चालन गरी जोखिमबारे जानकारी दिनु।
यसरी, पेट्रोलियम डिपो नजिक बस्ती हुनु जोखिमपूर्ण हुन्छ, त्यसैले यस्तो क्षेत्रलाई आवासीय क्षेत्रभन्दा टाढा राख्नु बुद्धिमानी हुन्छ।