Monday, April 23, 2018

३ महिनाका लागि प्रदेश ७ को बजेट प्रस्तुत

धनगढी, कैलाली
प्रदेश नं ७ को सरकारले चालु आर्थिक बर्षको ३ महिनाका लागि पहिलोपटक आइतबार अल्पकालिक
बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादूर बोहराले १ अर्ब २ करोडको अल्पकालीन बजेट
प्रदेश सभा बैठकमा  प्रस्तुत गर्नु भएको हो ।

सबै क्षेत्रको समानुपातिक विकास गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने , विकास प्रक्रियामा अपनत्वबोध गराउन जनसहभागिता सुनिश्चित गराउने , संघीयता कार्यान्वयनका लागि कानूनी तथा संस्थागत संरचना निर्माण, अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालिन आवधिक योजना निर्माण गर्ने बजेटको प्राथमिकताको विषय भएको मन्त्री बोहराले बताउनु भयो ।

कृषिमा आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, विकासका पूर्वाधारहरुको प्रारुप तय गर्ने, जल, जंगल, जमिन, जडिबुटी, उद्योग र पर्यटनको वैज्ञानिक विकास गर्ने ,गरिबी न्यूनीकरण गर्न लक्षित कार्यक्रम गर्ने , आर्थिक असमानता हटाई समावेशी विकास गर्ने र प्रचुर सम्भावना भएका क्षेत्र पहिचान गर्ने पनि चालु बजेटको प्राथमिकताको क्षेत्र भएको मन्त्री बोहराले उल्लेख गर्नु भयो ।

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने मूल नाराका सहित ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ सञ्चालन गरिने मन्त्री बोहराले बताउनु भयो  । मन्त्री  बोहराले ९ वटै जिल्लामा शित भण्डार स्थापना गर्ने र कृषि कार्यको लागि चालु आवमा ५० लाख बिनियोजन गरेको बताउनु भयो  ।

पाँच वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाइने, ‘फोहरमुक्त स्वच्छता, प्रदेश नं. ७ को प्रतिवद्धता’ कार्यक्रम सञ्चालन गरिने बोहराले बताउनु भयो ।
संसद बैठकपछि बजेटवारे आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले बिनियोजित बजेट प्रदेशको ऐतिहासिक, विकासको जग र जनमुखी भएको दावी गर्नुभयो । सानो आकारको बजेट भएपनि प्रदेशका बासिन्दाहरुले तत्काल अनुभुती गर्ने योजानाहरु रहेको मन्त्री बोहराले बताउनु भयो ।

Monday, April 16, 2018

राष्ट्रिय विद्यार्थी भर्ना अभियान शुरु


धनगढी । कैलालीसहित देशभरी आइतबारदेखि राष्ट्रिय विद्यार्थी भर्ना अभियान कार्यक्रम शुरु भएको छ । अभियानको प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिका–७, मनिहरास्थित सरस्वती माध्यामिक विद्यालयमा विद्यार्थीलाई भर्ना गरेर शुरु गरेका हुन् ।
मुख्यमन्त्री भट्टले सोही स्थानकी नम्रता रानालाई कक्षा १ मा भर्ना गरेर अभियानको शुभारम्भ भएको जानकारी दिए । उनले विद्यार्थी रानालाई आवश्यक पाठ्यपुस्तक दिएर राम्ररी र मेहनत गरेर पढ्न आर्शिवाद दिए ।
‘जीवनमा सफल व्यक्ति बन्नु छ भने आंशिक ज्ञान लिएर हुँदैन, उच्च शिक्षा हासिल गर्न जरुरी छ’ मुख्यमन्त्री भट्टले भने ‘विद्यालयमा भर्ना मात्र हुनु ठूलो कुरो होइन । नियमित कक्षामा बसेर शिक्षकबाट नयाँ–नयाँ ज्ञान लिन जरुरी छ ।’ मुख्यमन्त्री भट्टले प्रदेश नम्बर ७ मा अधिकाँस व्यक्तिहरू गरिब भएका कारण बिचमै विद्यालय छाड्न बाँध्य भएको स्मरण गर्दै भने ‘म पनि धेरै पढ्न चाहन्थे तर, गरिबीकै कारण बिचमै विद्यालय छोडेर भारतमा रोजगारी गर्न जानु पर्यो ।’ उनले प्रदेशमा विचमै विद्यालय छोड्ने प्रवृति रोक्न प्रदेश सरकारले विशेष नीति ल्याउने बताए । उनले आगामी आर्थिक वर्ष २०७५/७६ को प्रदेश बजेटले शिक्षामा बढी जोड दिने आश्वासन दिए ।
उनले शिक्षामा सुधार ल्याउन सरकारले ठूलो लगानी गरेको भएपनि उपलब्धी सोचे जती आउन नसकेको बताए । मुख्यमन्त्री भट्टले अभिभावक, शिक्षक र राज्यको कमजोरीका कारण शिक्षामा लगानी अनुसारको सुधार हुन नसकेको बताउँदै ‘अभिभावकहरू आफ्ना नानीलाई विद्यालय पठाउन्छन्, तर विद्यालयको गतिविधिबारे जानकारी राख्दैनन्, शिक्षकहरू कमीकमजोरीमाथि समीक्षा गर्दैनन् भने राज्यले विद्यालयलाई व्यवस्थित गर्न सकेको छैन ।’ उनले शिक्षक, कर्मचारी, जनप्रतिनिधिहरूले आफना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरेर आम नागरिकमा सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन आग्रह गरे ।
यस्तै, सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले कक्षा १ मा देवकी रानालाई टीका लगाएर पाठ्यपुस्तक दिँदै विद्यालयमा भर्ना गराएका थिए । सो अवसरमा बोल्दै मन्त्री सोडारीले अझै पनि सतप्रतिशत विद्यार्थी भर्ना अभियानमा आउन नसकेको बताए । ‘शिक्षा मन्त्रालयको तथ्यांकअनुसार अझै दुई प्रतिशतभन्दा बढी बालबालिका विद्यालय भर्ना अभियानमा समेटिन सकेका छैनन्’ उनले भने ‘प्रदेशमा सतप्रतिशत विद्यार्थीलाई विद्यालयमा ल्याउन पहल गर्ने छु ।’ उनले प्रदेशमा एक व्यक्ति पनि शिक्षाबाट वञ्चित भए शिक्षामा गरेका योग्दानहरू सफल नहुने बताए । उनले विद्यालय र शिक्षाको सुधारमा प्रदेश सरकारले पहल गर्ने बताए ।
यस्तै, मन्त्री सोडारीले धनगढी उपमहानगरपालिका–२ स्थित शारदा माध्यामिक विद्यालयमा पुगेर भारतबाट धनगढी पुगेकी अनिशा विकलाई कक्षा १ मा भर्ना गराए भने सोही विद्यालयका नरेश विकलाई कक्षा ५ मा भर्ना गराएका थिए ।
यस्तै, धनगढी–५, पञ्चोदय उच्च माध्यामिक विद्यालयमा प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले गंगा र जमुना रोकायालाई भर्ना गराए । उनले शिक्षाको सुधारबाट मात्र प्रदेश समृद्धिको कल्पना साकार हुने बताए ।
मुख्यमन्त्री, सभामुख तथा मन्त्रीले भर्ना गराएका अभिभावकहरूले आफना बालबालिकालाई नियमित विद्यालय पठाउने, विद्यालयको क्रियाकलापमा पनि निगरानी राख्ने, कुनै पनि बहानामा बिचमै बालबालिकालाई विद्यालय छोड्न नदिने प्रतिवद्धता गरेका थिए ।
‘हामी सबैको ईच्छा, अनिवार्य नि:शूल्क आधारभुत शिक्षा’ भन्ने मुल नाराका साथ शुरु भएको अभियान १४ गतेसम्म सञ्चालन हुने छ । अभियानअन्र्तगत विद्यालय, स्थानीय तह, जिल्ला शिक्षा कार्यालय, सामाजिक विकास मन्त्रालयले विद्यार्थीलाई विद्यालयमा भर्ना गराउन विभिन्न क्रियाकलाप गर्ने छन् । कैलाली जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले विगतका वर्षहरूभन्दा फरक शैलीमा भर्ना अभियानको शुभारम्भ गरिएको बताए । उनले प्रत्येक वडा तथा घरमा रहेका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय जनप्रतिनिधि, शिक्षाका कर्मचारी, शिक्षकहरूले आ–आफनै किसिमले क्रियाकलाप सञ्चालन गर्ने छन् । उनले विशेषत विद्यालय स्रोत केन्द्रहरूले पर्चा पम्पलेट, घरदैलो, आम सभा, माईकिङ लगायतका क्रियाकलाप १४ गतेसम्म गर्ने र वैशाख भरीनै विद्यालयमा भर्ना अभियान सञ्चालन गर्ने बताए ।

Thursday, April 12, 2018

अबैध घरेलु मदिरा बरामद गरि नष्ट

विशाल पाण्डेय
सुखड
कैलालिको घोडाघोडी नगरपालिका २ साढेपानी
बनघर बाट अबैध घरेलु मदिरा तथा मदिरा  बनाउन प्रयोग गरिने  कच्चापदार्थ बरामद गरि नष्ट  गरिएको छ ।

निमित्त प्रहरी प्रमुख बिदुर चन्दको नेतृत्वमा खटिएको टोलिले बुधबार होटल तथा घरहरू बाट करिब २०० लिटर घरेलु मदिरा बनाउने कच्चापदार्थ र मदिरा बरामत गरि नस्ट गरिएको छ । 

बरामद भएको अवैध घरेलु मदिरा र त्यसमा प्रयोग हुने कच्चा पदार्थ बरामद गरी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि , स्थानिय बुद्धिजीवी ,सर्वसाधारण तथा  पत्रकारहरुको
रोहवरमा नष्ट गरिएको हो ।

प्रहरीले कच्चापदार्थ , ३ वटा ड्रम , ५ वटा गेलेन र मदिरा बनाउन प्रयोग गरिने भाडा समेत नियन्त्रणमा लिएको थियो ।

प्रदेश सातको नीति तथा कार्यक्रम प्रस्तुत


धनगढी । प्रदेश नम्बर ७ को सरकारको अल्पकालीन नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको बुधबारको बिहीबारको बैठकमा प्रदेश सरकारको अल्पकालीन नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
प्रदेश सरकारले अल्पकालीन नीति तथा कार्यक्रममा जलविद्युत, जडिवुडी र वन सम्पदाको विस्तारलाई समृद्धिको प्रमुख आधारका रूपमा प्रस्तुत गरेको छ ।
सरकारले प्रदेश नम्बर ७ मा कर्णाली, महाकाली, पश्चिम सेती, बुढीगंगा सहितका एक दर्जन बढी नदीसहितको जलस्रोतलाई समृद्धिको प्रमुख आधारका रूपमा राखेको छ । त्यस्तै, खप्तड, बडिमालिका, अपि, साइपाल, शुक्लाफाँटा, घोडाघोडी ताल सहितका थुप्रै प्राकृतिक पर्यटकीय सम्पदा तथा बझाङ, बाजुरा र दार्चुलाको जडीबुटी भण्डार तथा कैलाली र कञ्चनपुरको घना वनजंगललाई समृद्धिका बलिया आधारका रूपमा प्रस्तुत गरेको छ ।
प्रदेशको अल्पकालीन नीति तथा कार्यक्रममा कृषिलाई अर्को प्रमुख प्राथमिकताको क्षेत्रका रूपमा प्रस्तुत गरिउको छ । सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ– परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेति, माटो सुहाउँदो उत्पादन भन्ने नारासहित अनुत्पादक कृषि क्षेत्रलाई आधुनिकीकरण, प्रविधियुक्त एवं व्यावसायिकरण गर्न प्रदेश सरकारले समन्वयमा आधारित विषयगत क्षेत्रगत मुख्यमन्त्री कृषि कार्यक्रमलाई प्राथमिकतामा राखिने छ ।’
नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्वमा आधारित खाद्य सुरक्षा, कृषि सिंचाईं, उन्नत वीऊबिजन, जैविक तथा रसायनिक मल, माटो परीक्षण, चिस्यान र शीतभण्डार केन्द्र, कृषि सहकारी, सबै किसिमका सहकारी संस्थाको अभिलेखीकरण, क्षमता विकास, अनुगमन एवं मूल्यांकन, कृषि उपजको बजार व्यवस्था समेतका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ । सरकारले व्यावसायिक पशुपालन एवं मासु, माछा, अण्डा, दूग्धजन्य पदार्थ, फलफूल र छाला तथा प्वाँखको प्रवद्र्धनका लागि आवश्यक कार्य अघि बढाउने घोषणा गरेको छ ।
त्यस्तै, युवाहरूलाई स्वदेश मै रोक्न प्राविधिक एवं व्यावसायिक शिक्षा तथा सीपमूलक तालिमलाई प्रोत्साहित गरी रोजगारी र स्वरोजगारीका लागि टेवा पुर्याइने योजना अघि सारिएको छ ।
नीति तथा कार्यक्रमार्फत सरकारले व्यावसायिक, सीपमूलक, प्राविधिक लगायतका शिक्षाको गुणस्तर कायम गर्न विशेष नीति ल्याउने उल्लेख गरेको छ । त्यस्तै, खुला विश्वविद्यालयबारे नेपाल सरकारको नीति अवलम्बन गरिने पनि घोषणा गरिएको छ ।
सरकारले छुवाछूत तथा छाउपडी, बोक्सी लगायतका लैंगिक हिंसा तथा सामाजिक सांस्कृतिक कुरीति र कानुनद्वारा बर्जित कुप्रथालाई प्रदेशको आर्थिक समृद्धिको बाधकका रूपमा चित्रण गरेको छ । सरकारले भनेको छ– त्यस्ता कुप्रथाको अन्त्य गर्न सरोकारवालाहरूलाई प्रोत्साहित गरी प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू सहित गाउँवस्ती र शहरमा सामाजिक रूपान्तरण अभियान चलाइने छ । प्रदेश सरकारले सामाजिक तथा सांस्कृतिक कुप्रथा अन्त्य गर्न कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने दृढता व्यक्त गरेको छ ।
सरकारले नीति तथा कार्यक्रममार्फत चेलीबेटी, वालबालिका बेचविखन, मानव ओसारपोसार कार्य रोक्न विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ । त्यस्तै, दलित समुदायको चौतर्फि विकासको लागि उनीहरूको परम्परागत पेशा, सीप, कला र दक्षतालाई सुदृढीकरण गर्दै आधुनिकीकरण गर्ने नीति अवलम्बन गरिने छ ।
प्रदेश सरकारले मुक्तकमैया, हलिया, हरुवाचरुवा, भूमिहीन, विपन्नवर्ग, किसान एवं वादी समुदायलाई नेपाल सरकारले गरेको प्रमाणीकरण र वर्गीकरणको आधारमा व्यवस्थित गरी रोजगार तथा अन्य आयआर्जनका कार्यक्रममा सहभागी गराउने घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा नेपाल सरकार, स्थानीय तह वा अन्य कुनै पनि निकायले सञ्चालन नगरेका वा सञ्चालन गरिए पनि स्रोतको अभावमा पुरा हुन नसकेका र दोहोरो नपर्ने अवस्थाका आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग पुर्याउने नीति लागू गरिने र विकट एवं पछि परेका क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँचका लागि नजिक र सुलभ तरिकाबाट स्वास्थ्य सेवा प्रदान गर्न मुख्य र सहायक स्वास्थ्य क्षेत्र पहिचान गरी स्वास्थ्य सेवा उपलब्ध गर्ने नीति तथा योजना तर्जुमा गरिने पनि बताएको छ ।
त्यस्तै, कार्यक्षेत्रमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहित गर्ने, युवा तथा खेलकुदलक्षित कार्यक्रमलाई सहयोग गर्ने, प्रदेशलाई पूर्ण साक्षर बनाउने लक्षका साथ कार्यक्रम अघि बढाउने घोषणा गरिएको छ ।
सरकारले ‘फोहोरमुक्त स्वच्छता, सात प्रदेशको प्रतिवद्धता’ नारालाई साकार पार्न तत्कालै स्थानीय तह, समुदाय र सरोकारवालाहरूको सहभागितामा अभियान चलाउने बताएको छ ।
१८ बुँदे नीति तथा कार्यक्रममा हिमाली तथा दुर्गम पहाडी भेगबाट तीव्र बसाइसराई तथा अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गर्न ग्रामीण केन्द्रित एकीकृत विकास योजना लागू गरिने, सडक, विद्युत, सूचना प्रविधि, बसपार्क तथा यातायात व्यवस्था जस्ता भौतिक पूर्वाधार विकासको क्षेत्रमा आवश्यक स्रोतको व्यवस्था गरिने उल्लेख छ ।
सरकारले ‘बचत गर्ने बानी बसालौं’ अभियान अन्तर्गत ‘एक व्यक्ति, एक खाता’ कार्यक्रमलाई प्रोत्साहित गरी आम नागरिकलाई बचत गर्न प्रेरित गर्ने, प्रदेशका सबै ८८ वटा स्थानीय तहमा बैंकिङ तथा वित्तीय सेवा विस्तार गर्ने घोषणा गरेको छ ।
सरकारले तराई, पहाड र हिमाल सहितको प्रदेश नम्बर ७ मा रहेका विभिन्न जाति, जनजाति, थारू, रानाथारू, अल्पसंख्यक, सीमान्तकृत लोपोन्मुख वर्ग तथा समुदायका भेषभूषा, भाषा एवं संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि कानुन, निर्माण गरी कार्यान्वयन गर्ने नीति अवलम्वन गरिने बताएको छ ।
नीति तथा कार्यक्रममा जलवायु अनुकूलन कार्यक्रम र वायु तथा ध्वनी प्रदूषण नियन्त्रणमा जोड दिने उल्लेख छ । ‘घर घरमा उज्यालो’ पुर्याउन प्रदेश नम्बर ७ मा रहेका नदीनालाहरूमा विद्युत उत्पादन गर्न सम्भव भएका स्थानको पहिचान गरी साना, मझौला तथा ठूला जलविद्युत आयोजनाको छनोटका लागि अध्ययन, अनुसन्धान र अन्वेषण गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा नेपालसँग सीमा जोडिएका भारततर्फका मुख्य नाकाहरू, मोहना–धनगढी, गड्डाचौकी–महेन्द्रनगर, डडेल्धुरा, दार्चुला, झुलाघाट–बैतडी र चीनसंग सीमा जोडिएको टिंकर (दार्चुला) तथा बझाङको उरै नाकालाई व्यवस्थित बनाउन संरचनात्मक सुधारमा सहयोग पुर्याइने लक्ष्य राखिएको छ ।
विपद्पीडित र संकटासन्न अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई तत्काल आवश्यक सहयोग पुर्याउन ‘मुख्यमन्त्री विपद राहत कोष’ स्थापना गरिने पनि सरकारले घोषणा गरेको छ ।
प्रदेश सरकारले अस्थायी राजधानी रहेको कैलालीको धनगढीस्थित जिल्ला प्रशासन कार्यालयको भौतिक, मानव संशाधन विकास एवं अभिलेख व्यवस्थापनका लागि आवश्यक श्रोत जुटाई नमुना जिल्ला प्रशासन कार्यालयको रूपमा रूपान्तरण गर्ने बताएको छ ।
त्यस्तै, सञ्चार क्षेत्रको हक अधिकार, सुरक्षा तथा प्रोत्साहनका लागि सञ्चारमैत्री कानुन निर्माण गरिने र गैरसरकारी संस्थाहरूको नियमन तथा अनुगमन गरी कार्यक्षमताको आधारमा प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले प्रदेश स्तरको राजश्व नीतिकर तथा गैरकर राजश्व असुल उपर गर्ने, खर्च व्यवस्थापन गर्न, आवश्यक कानुन बनाउने र सार्वजनिक खर्चको प्रभावकारिता तथा एकरूपता कायम गर्न खर्चको मापदण्ड तयार गरी लागू गर्ने योजना अघि सारेको छ ।
सरकारले सरोकारवालाहरूको गुनासो सुनुवाई तथा समाधानका लागि सबै मन्त्रालयमा टोल फ्रि नम्बरको व्यवस्था गर्ने बताएको छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा टोल फ्री नम्बरमार्फत ‘हेलो सिएम’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
यसैबीच सरकारको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य रणबहादुर रावलले सरकारले दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम ल्याउन नसकेको बताए । सांसद रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशको प्रगति, उन्नती हुन नसक्ने टिप्पणी गरे ।
नीति तथा कार्यक्रमका उल्लेख्य बुँदाहरू
–जलविद्युत, जडिबुटी, जंगलको विस्तारलाई समृद्धिको आधार मान्दै प्राथमिकतामा दिइने,
–परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, नारा सहित अनुत्पादक कृषि क्षेत्रलाई आधुनिकीकरण, प्रविधियुक्त एवं व्यवसायिकरण
–युवाहरूलाई स्वदेश मै रोक्न प्राविधिक एवं व्यावसायिक शिक्षा तथा सीपमूलक तालिमलाई प्रोत्साहित गरी युवाहरूलाई रोजगारी र स्वरोजगारीका लागि टेवा पुर्याइने,
–छुवाछूत, छाउपडी, बोक्सी, लैंगिक, हिंसा जस्ता कुरीति र कानुनले बर्जित गरेका कुप्रथाको अन्त्य,
–फोहोरमुक्त स्वच्छता, सात नम्बर प्रदेशको प्रतिवद्धता भन्ने नारालाई साकार पारिने
–बचत गर्ने बानी बसालौं अन्तर्गत एक व्यक्ति एक खाता कार्यक्रमलाई प्रोत्साहित गरी आम नागरिकलाई बचत गर्न प्रेरित गरिने,
–विपद्पीडित र संकटासन्न अवस्थामा रहेकालाई तत्काल आवश्यक सहयोग पुर्याउन ‘मुख्यमन्त्री विपद राहत कोष’ स्थापना गरिने,
– टोल फ्री नम्बर मार्फत ‘हेलो सिएम’ कार्यक्रम । हरेक मन्त्रालयमा नागरिकका गुनासो सुन्ने व्यवस्था,
– नेपालसँग सीमा जोडिएका भारततर्फका मुख्य नाकाहरू, मोहना–धनगढी, गड्डाचौकी–महेन्द्रनगर, डडेल्धुरा, दार्चुला, झुलाघाट–बैतडी र चीनसँग सीमा जोडिएको टिंकर (दार्चुला) तथा बझाङको उरै नाकालाई व्यवस्थित बनाउन संरचनात्मक सुधार ।

चिस्यान भण्डारको शिलान्यास


धनगढी । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर वोहराले कैलालीको पहलमानपुरमा प्रदेशकै सबैभन्दा ठूलो क्षमताको बुधबार चिस्यान भण्डारको शिलान्यास गरेका छन् । सो चिस्यान भण्डारको क्षमता तीन हजार मेट्रिक टन रहेको कम्पनीका अध्यक्ष रामबहादुर रावतले बताए ।
सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालनले सञ्चालनमा ल्याउन लागेको सो चिस्यान भण्डारको लागत ११ करोड ७६ लाख १९ हजार सात सय रुपैयाँ रहेको छ ।
सो चिस्यान भण्डार निर्माणका लागि रिज्मको दुई करोड ९९ लाख ८९ हजार रुपैयाँ अनुदान रहेको छ ।
प्रदेश नम्बर ७ मा हाल दुई हजार मेट्रिक टन क्षमताको सुसन्दीप कोल्ड स्टोर र डडेल्धुरामा एक हजार मेट्रिक टनको उग्रतारा शीत भण्डार सञ्चालनमा छन् ।
सिलन्यास कार्यक्रममा मन्त्री बोहराले निजी क्षेत्रबाट निर्माण तथा सञ्चालन हुने चिस्यान भण्डारले प्रदेश सरकारको कृषिमा आत्मनिर्भर र प्रदेश समृद्धिको यात्रामा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री वोहराले कैलाली र कञ्चनपुर खाद्यान्न र तरकारी खेतीका लागि उर्वर भए पनि किसानहरूले उत्पादन गरेका खाद्यान्न समयमै विक्री नहुने, सड्ने र कुहिने झन्झट कम हुने पनि विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सांसद अमर साउँदले पनि मन्तव्य व्यक्त गरेका थिए ।

Sunday, April 8, 2018

मेलम्ची सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ २९ चैतमा : खानेपानी मन्त्री बिना मगर

चैत २५, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले निरन्तरको ‘फ्लोअप’ र निर्देशनले आयोजना ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताउनुभयो ।

‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरे, प्रगति विवरण लिए,’ उहाँले भन्नुभयो । कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी पुर्याउन सकिने बताउनुभयो ।

जनताको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने प्राथमिकता सँगसँगै अन्तर्राष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने मन्त्री मगरले बताउनुभयो । ‘हिमश्रृङ्खलाबाट बगेको पानीलाई विदेशमा महंगो मूल्यमा बेच्न सकिन्छ,’ मन्त्री मगरले भन्नुभयो, ‘यसरी सोच्दा खानेपानी उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने र आयआर्जन बढ्ने हुन्छ ।’

हिमश्रृङ्खलाबाट बगेको पानीको गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारमा रुचाउने गरिएको उहाँले बताउनुभयो । वर्तमान सरकारमा ७ नम्बर प्रदेशबाट एक्लै मन्त्री भएकाले जनताको धेरै आशा पूरा गर्नु चुनौतिपूर्ण भएपनि स्यावासी पाउने गरी काम गर्ने मन्त्री मगरले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले मन्त्री बिना मगरलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

‘भेटघाट गर्ने मन्त्रालयमा भीडभाड गर्दा मन्त्रीलाई काम गर्न अप्ठ्यारो हुन्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी पद्धतिबाट योजना ल्याएर ७ नम्बर प्रदेशलाई समृद्ध बनाउने गरी काम गर्नुपर्छ ।’

पार्टीका नेता कार्यकर्ताले सिंहदरबारमा दिन बिताउनुभन्दा जनताको घरदैलोमा गएर काम गर्नुपर्ने पूर्वमन्त्री समेत रहनुभएका भट्टले सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै मञ्चका सल्लाहकार संयोजक गोकर्ण भट्टले मन्त्री बिना मगर ७ नम्बर प्रदेशका लागि खानेपानी मन्त्री मात्रै नभएर सबै मन्त्रालयको मन्त्री रहनुभएको बताउनुभयो ।

कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा कैलालीका व्यवसायी नासिर अलि बेग माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मञ्चका अध्यक्ष हेमन्त जोशीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा ७ नम्बर प्रदेशका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।एभरेस्ट दैनिक बाट