चैत २५, धनगढी ।
जग्गाधनीले मुआब्जा नबुझे पनि स्थानीय प्रशासनले धनगढी विमानस्थललाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने भएको छ । गृह मन्त्रालयले बाटो खोलेपछि जिल्ला प्रशासनले स्वामित्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको छ ।
विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न थालेपछि स्थानीय बासिन्दाले विरोध गरेका थिए । उनीहरूको विरोधपछि रोकिएको विस्तार योजना पुनः सुरु हुने भएको हो । गृह मन्त्रालयले मुआब्जा निर्धारण समितिले गरेको जग्गाको मूल्य निर्धारण ठीक भएको पत्र पठाएपछि स्वामित्व हस्तान्तरणको बाटो खुलेको समितिका संयोजक एवं कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘मुआब्जामा पुनरावलोकन नहुने भन्ने निर्णय केन्द्रबाट आएकाले जग्गाधनीले मुआब्जा नबुझे पनि स्वामित्व हस्तान्तरणको काम अघि बढ्छ,’ प्रजिअ रिजालले भने ।
यस्तो थियो विवाद
विमानस्थल विस्तार गर्नका लागि अधिग्रहण गरिएको जग्गाको मूल्य कम भएको जनाउँदै दुई घरधनीले विरोध गरेका थिए । मुआब्जा निर्धारण समितिले तोकेको मूल्यमा चित्त नबुझे जग्गाधनीले गृह मन्त्रालयमा पुनर्मूल्यांकनका लागि निवेदन दिन सक्ने व्यवस्था छ । स्थानीय यादवप्रसाद जोशी र जयबहादुर भण्डारीले गृह मन्त्रालयमा निवेदन दिएका थिए ।
उनीहरूले निवेदन दिएपछि अन्य ११ जनाको जग्गाको मुआब्जा वितरण पनि रोकिएको थियो । तर, गृह मन्त्रालयले पुनर्मूल्यांकन नहुने पत्र पठाएपछि विवाद सकिएको हो । ‘अब पुनर्मूल्यांकन हुँदैन, हस्तान्तरणको प्रक्रिया अघि बढ्छ,’ प्रजिअ रिजालले भने ।
२३ करोड मुआब्जा
धनगढी विमानस्थलको स्तरोन्नति गर्न त्यसवरिपरिका ८९ परिवारको १७ विघा ४ कट्ठा, साढे ८ धुर जग्गा अधिग्रहण गरिएको हो । त्यसका लागि २३ करोड ११ लाख पाँच हजार रुपैयाँ विनियोजन गरिएको छ ।
जसमध्ये ७८ परिवारलाई १८ करोड ११ लाख पाँच हजार रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, ११ परिवारको पाँच करोड रुपैयाँ मात्रै मुआब्जा वितरण गर्न बाँकी छ ।
मुआब्जा निर्धारण समितिले कालोपत्रे सडकले छोएको जग्गा प्रतिकट्ठा १२ लाख, ग्राभेल सडकले छोएको प्रतिकट्ठा पाँच लाख, कच्ची बाटोले छोएको जग्गा प्रतिकट्ठा चार लाख र खेतको प्रतिकट्ठा तीन लाखका दरले मुआब्जा दिने निर्णय गरेको थियो ।
स्वामित्व हस्तान्तरण प्रक्रिया सुरु
जिल्ला प्रशासन कार्यालयले विमानस्थललाई जग्गाको स्वामित्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको जनाएको छ । त्यसका लागि जग्गाधनीलाई मुआब्जा बुझ्न जानकारी गराइसकिएको प्रजिअ रिजालले बताए ।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरण, धनगढीले जग्गाधनीलाई मुआब्जा बुझ्न सूचना जारी गर्ने तयारी गरेको छ । प्राधिकरण धनगढीका प्रमुख छविसिंह ठगुन्नाले एक÷दुई दिनभित्रै १५ दिने सूचना जारी गरिने बताए ।
रात्रिकालीन उडानका लागि सजिलो बनाइँदै
अधिग्रहण गरिएको जग्गामा रात्रिकालीन उडान भर्न सहयोगी उपकरण भिओआर (भिएचएफ ओम्निडाइरेक्सनल रेन्ज) र डिएमई (डिस्टेन्स मिजरिङ इक्विपमेन्ट) राख्न लागिएको छ । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा उपकरण जडानको प्रक्रिया अगाडि बढेको जनाएको छ ।
प्राविधिकहरूले स्थलगत निरीक्षण गरेर उपकरण राख्ने स्थल उपयुक्त रहेको जानकारी दिइसकेका छन् । अगामी हिउँदअघि उपकरण राखिने प्राधिकरण धनगढीका प्रमुख ठगुन्नाले बताए । ‘वैशाख–जेठभित्र सामान ल्याउने र हिउँदअघि नै उपकरण जडान गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले गरेको छ,’ उनले भने । हिउँदमा हुस्सुका कारण भिजिबिलिटी नपुग्दा उडान रद्द हुने गरेको छ । यो उपकरण जडान गरेपछि मौसमका कारण उडान रद्द नहुने उनले बताए । ‘रात्रिकालीन उडानका लागि पनि सहज हुनेछ,’ उनले भने ।
धनगढी विमानस्थल धावनमार्गको लम्बाइ एक हजार आठ सय मिटर र चौडाइ ३० मिटर छ ।
साभार : नयाँ पत्रीका
No comments:
Post a Comment