भानु युवा क्लबको प्रशंसनीय अभियान !
__________________________________________
हेमन्त न्यौपाने
पुनर्वास, पुस ११
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित भानु युवा क्लबले थारु, विपन्न, दलित तथा न्यून आयस्तर भएका बालबालिकाहरुलाई न्यानो सुईटर वितरण गरि प्रशंसनीय अभियान सुरु गरेको छ । पुसमाघको कठ्याँग्रीदो जाडोमा कतिपय विद्यार्थी एकसरो सर्टमा विद्यालय पुग्ने गर्छन । धनी हुनेखानेहरुका बच्चाहरु संस्थागत विद्यालय तर्फ आकर्षित भएका छन । न्यून आयस्रोत हुने अभिभावकहरुले नै आफ्ना सानासाना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्ने एउटा प्रचलन जस्तै बन्दै गएको छ । उनै बालबालिकाहरु जाडो छेक्ने एकसरो कपडा समेत पाउदैनन् ।
यिनै वर्गका बालबालिकालाई राहत होस भन्ने उद्देश्यले पुनर्वास नगरपालिका वडा नम्बर ५ भित्रका ३ विद्यालयमा बुधबार सुईटर वितरण गरिएको छ । यसअधि विभिन्न खेलकुदमा सक्रिय सहभागिता देखाउदै आएको भानु युवा क्लबका सचीव टेक बहादुर थापाको सक्रियतामा यस रचनात्मक काम सुरु भएको हो । वैदेशिक रोजगारीमा रहनुभएका यसै क्लबका पुर्वकप्तान तथा पुर्वखेलाडीहरुको आर्थिक सहयोगमा सुइँटर वितरण गरिएको क्लबका अध्यक्ष पदम बहादुर पुजाराले जानकारी गराउनुभयो ।
वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहनुभएका क्लबका पुर्वकप्तान जितु थापा, पोर्तुगलमा रहनुभएका पुर्वकप्तान नारायण पुजारा त्यस्तै कोरियामा रहनुभएका क्लबका पुर्वखेलाडीहरु रमेश थापा र गोविन्द क्षेत्रीको आर्थिक सहयोगमा वडाको चन्द्रबाल प्राथमिक विद्यालयका बालबालिकालाई ६० जनालाई, मदनआश्रीत विद्यालयमा ६० जनालाई अनि गौरीशंकर माध्यमिक विद्यालयका ९० जना बालबालिकालाई न्यानो सुईटर वितरण गरिएको छ ।
क्लबको यस अभियानमा उपस्थित हुनुभएका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले खुलेर प्रशंसा गर्नुभयो । उहाँले न्युन आयस्तर भएका सानासाना बालबालिकाहरुको लागि वैदेशिक रोजगारमा रहेरपनि सहयोग पुर्याउने सहयोगी हातहरु प्रति धन्यवाद प्रकट गर्नुभयो । उहाँले क्लबको सक्रियतामा भएको यस रचनात्मक अभियानको प्रसंसा गर्नुभयो ।
मदनआश्रीत प्राथमिक विद्यालयमा सुईटर विवरण कार्यक्रममा उपस्थित हुनुभएका वडा नम्बर ५ का वडाअध्यक्ष वीर बहादुर बिगटीले क्लबले विगत लामो समय देखि खेलक्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै यस अभियानको प्रशंसा गर्नुभयो । त्यस्तै, अध्यक्ष पुजाराले क्लबका पुर्वखेलाडीहरुले गरेको आर्थिक सहयोगका कारण क्लबले यस अभियानलाई सञ्चालन गरेको जिकिर गर्नुभयो । उहाँले अन्य सहयोगी हातहरुले पनि हात अघि बढाउन चाहेपनि उपयुक्त मौका नबनेका कारण सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।
क्लबका सचिव टेक थापाले गरिव, जेहेन्दार, थारु, न्युनआयस्रोत भएका बालबालिकाहरुको लागि राहत सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । क्लबले खेलहरुमा मात्र नभएर अन्य धेरै सहयोगी र प्रेरणादायी कामहरु समेत गर्ने जिकिर गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेर पनि क्लबलाई यस किसिमको रचनात्मक काममा सहयोग पुर्याउने ४ जनाको नाम लिएर विशेष धन्यवाद प्रकट गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि यस अभियानले निरन्तरता पाउने बताउनुभयो । सबै विद्यार्थीलाई सुईटर उपलब्ध गराउन नसकिएपनी गरिव बालबालिकालाई सानो राहत उपलब्ध गराईएको उहाँले जनाउनुभयो ।
वैदेशिक रोजगारीमा रहेर आर्थिक सहयोग गरेका ४ जनाका अभिभावकहरुलाई दोसल्ला ओडाई सम्मान समेत गरिएको छ । उहाँहरुले आफ्ना सन्तानले यी सानासाना नानीहरुलाई जाडोका वेला राहत उपलब्ध गराएकोमा गर्ब महशुस भएको बताउनुभयो । सहयोगी जितु थापाका बुवा गौरीशंकर माध्यमिक विद्यालयका पुर्वप्रधानाध्यापक पदम बहादुर थापाले आफ्नो छोराले यसरी सहयोग गरेको छ भन्ने कुरा सिधै कार्यक्रमबाट मात्र जानकारी पाउँदा एकदमै खुशी महशुस भएको बताउनुभयो । उहाँले अरु सहयोगी मनहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
No comments:
Post a Comment