Sunday, January 20, 2019

२८५५ औ सोनाम ल्होछारको मूल समारोह समिति गठन


-सुनिलकुमार लो
पुनर्वास, माघ ५
आगामी माघ २२ गते पर्ने तामाङ जातिहरुको महान पर्व सोनाम ल्होछारको तयारीको लागि पुनर्वासमा २८५५औं सोनाम ल्होछार मूल समारोह समिती गठन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समितिका अध्यक्ष नरविर तामाङ मोक्तानको अध्यक्षतामा पच्चीस सदस्यीय मूल समारोह समिति गठन भएको हो । पुनर्वास-२,अरनिको बस्ती स्थित नेपाल तामाङ घेदुङको जिल्ला कार्यालयको प्राङ्गणमा बसेको भेलाले सो समिति गठन गरेको हो । सोनाम ल्होछारलाई भव्य साँस्कृतिक कार्यक्रम सहित मनाउन आजको भेलाले जिम्मेवारीहरुको समेत बाँडफाँड गरेको छ । जसअनुसार साँस्कृतिक फाँटको लागि भिमलाल तामाङको संयोजकत्वमा तीन सदस्यीय समिती बनाई जिम्मेवारी दिईएको छ । मञ्च निर्माणको जिम्मा संस्थापक सदस्य कान्छा बहादुर तामाङलाई दिईएको छ ।त्यसैगरी आर्थिकको जिम्मा राम युवा क्लवका उपाध्यक्ष भिम बहादुर तामाङलाई दिईएको छ । समारोहमा मञ्चको सुन्दरता र सजावटले विशेष महत्व राख्ने भएकाले सो मञ्च श्रृङ्गार र व्यवस्थापनको जिम्मा पुनर्वासका कार्यपालिका सदस्य शान्तिमाया तामाङ लगायत बुद्धिमाया तामाङ,संसारी तामाङ र जयपाल लो लाई दिने निर्णय गरिएको छ । अतिथी संस्कार व्यवस्थापनमा मनमाया तामाङ, स्वयंसेवक परिचालनमा भूपू अध्यक्ष शम्शेर बहादुर तामाङ र रेभ पास्टर भिम बहादुर पाख्रीन तामाङ, साउण्ड सिस्टममा वडा सदस्य बम बहादुर तामाङ र प्रचारप्रसारको जिम्मा भूपू अध्यक्ष टेक बहादुर तामाङ र लामागुरु मीन बहादुर तामाङलाई दिने निर्णय गरिएको छ । आगामी माघ २१ र २२ गते आईविआरडीको पैसठ्ठी बिगाहमा हुन गईरहेको सोनाम ल्होछारको साँस्कृतिक कार्यक्रममा तामाङ राष्ट्रिय कलाकारहरु गायक बाबू जिम्बा र गायिका,डान्सर तथा मोडेल रितु तामाङ वाईबाको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष नरविर तामाङ मोक्तानले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment