Tuesday, February 26, 2019

दिपक बि.सी.आदर्शको संस्मरण


        कुरो २०५८ साल मङ्सिरको कुरो हो । पन्ध्र बर्षको उमेरमा भर्खर नौ कक्षामा अध्ययन गर्दै थिए । आफ्नै उमेर समुहका माओवादी संस्कृतिकर्मीहरु गाउँमा आईरहन्थे । उनीहरुका जोशिला गीत र नृत्यले आकर्षित भएँ। आफ्नै उमेर समूहका साथीभाईहरु नाच्दै गाउँदै गाउँघरतिर आईरहने भएपछी उनीहरु जस्तै बन्ने रहरले आफू माओवादी पार्टिमा लागे । कच्चा उमेरमा अपरिपक्व मष्तिष्कले धेरै कुरा बुझ्नसक्ने कुरा भएन । पार्टीमा लागेर के के गर्नुपर्छ ? त्यहाँ पुगेपछि कस्ता कस्ता दु:ख कष्ट भोग्नुपर्छ ? भन्ने कुरा नबुझी क्रान्तिकारी गित र नृत्यबाट आकर्षित भएर घर छोडेर पार्टिमा हिडियो ।


 हाम्रो देशमा सामन्ती व्यवस्था छ । देशमा शोषण, उत्पिडन र भेदभाव व्याप्त छ । यसका विरुद्ध लडनुपर्छ भन्ने सामान्य बुझाईले मलाई क्रान्तितर्फ डोरयाउदै लग्यो । त्यसपछि पार्टी प्रवेश गरेपछी भने पार्टिभित्रको निरन्तर स्कूलिङले क्रान्तिकारीपन सिक्दै गएँ । कच्चा उमेर र साथीहरुसंगतले पार्टीमा लागे । त्यसको एक बर्षपछी २०५९ मङ्सिरमा संकटकालको घोषणा भयो । अहिले सम्झदा कुनै भयानक सपना झै लाग्छ । पछि काम गर्दै जाँदा त्यसभित्र पनि पद हुँदो रहेछ, प्रमोसन पनि हुँदो रहेछ भन्ने कुरा पार्टिमा लागेको एक बर्ष पछि मात्र थाहा पाएको हुँ । त्यसैविच पार्टिले जिम्मेवारी दिन थाल्यो । जिम्मेवारी दिईसके पछि कतिपय ठाउँमा आफ्नै विवेक प्रयोग गरी आफ्नै तरिकाले पनि काम गर्दै गए । २०५८ देखि २०६० सालसम्म २ बर्ष एरिया स्तरमै रहेर काम गरे । बझाङको चैनपुर नजिकैको एरियामा एरिया सेक्रेटरी भएर जिम्मेवारी सम्हाली रहकै अवस्थामा २०६० सालको मध्यतिर जनमुक्ति सेनामा प्रवेश गरेको हुँ । जनमुक्ति सेनामा प्रवेश गर्नेबेला म जिल्ला कमिटि सदस्यको हैसियतमा थिए । जनमुक्ति सेनामा प्रवेश गराउँदा त्यसवेला पार्टिको हैसियत अनुसारको सेनामा पद दिने नियम थियो । त्यही नियम अनुसार जाँदा मेरो पार्टीको पदिय हैसियत अनुसार मलाई डाईरेक्ट प्लाटुन कमाण्डरको जिम्मेवारी दिईएको थियो । प्लाटुन कमाण्डर भएको छ महिनामा म कम्पनी सह-कमाण्डर भएको थिएँ । त्यसबखत म पश्चिम कमाण्ड्मा रहेर काम गर्थे,पछि त्यसैलाई सातौ डिभिजन भनेर नामाकरण गरिएको थियो । यो सेती महाकाली भरी नै कार्यरत हुन्थ्यो । यसमा रहेर नौ जिल्लामा हुने हरेक क्रियाकलापहरु लडाई र अन्य पार्टी गतिविधिमा सहभागिता हुने अवसर पाएँ । पछि लडाईको क्रममा हामी गण्डक सम्म पुग्यौ । त्यहाँबाट तौलिहवा र त्यस वरपरका क्षेत्रहरूमा समेत पुग्यौ र २०६२ सालसम्म पनि हामी त्यही थियौ ।

      ↪पछी हामी अर्घाखाँचीमा भएको बेला अध्यक्ष कमरेडको कासन आयो । कासनमा भनिएको थियो," कमरेडहरु हाम्रो आन्दोलन दुश्मनको काँडेतारमा गएर रोकियो । त्यसैले अब दुश्मनको काढेतारबाट हैन, अब दुश्मनको मूल गेटबाटै भित्र जाने हो । त्यसैले हामिले मूलगेटबाटै भित्र जाने मनसायका साथ आआफ्नो कार्यक्षेत्रमा रिटर हुने हो" । त्यसको मतलव शान्ति प्रक्रिया मार्फत अघि बढने र सरकारी सेनासंग समायोजन हुने रहेछ,तर त्यतिबेला हामिले बुझेका थिएनौ । 

पछि आएर मात्र बुझियो । २०६२ सालको सुरुतिर हामीले अर्घाखाँची छोड्यौ । त्यसपछि कैलालीको मसुरियामा आएर बस्न थाल्यौ । संयुक्त राष्ट्रसंघले सैनिक प्रमाणिकरण गर्ने बेला म कम्पनी कमाण्डर भैसकेको थिए । प्रमाणीकरणमा मेजरको रुपमा प्रमाणित भैसकेपछि मलाई सेनातिरै जाने ईच्छा थियो ।
    ↪सेना समायोजनको बेला माओवादी सेनामा रहेर काम गर्दाको र संयुक्त राष्ट्रसंघले प्रमाणीकरण गरेको दर्जा भन्दा तीन स्टेप घटाएर तल ल्याउने कुरा पक्कापक्की भएको थियो,त्यसो भएपनी मेरो दर्जा सेकेन्ड लेफ्निनेन्ट सम्म हुने भईसकेको थियो तर पछि राजनीतिक दलहरुको आन्तरिक विवादका कारण दर्जा मिलानको मुख्य आधार शैक्षिक योग्यतालाई मान्ने निर्णय गरेपछि आफ्नो योग्यता एसएलसी पास नभएका भएका कारण माथिल्लो पदमा जाने अवस्था रहेन ।

म कम्पनी कमाण्डरको रुपमा प्रमाणीकरण भएकाले मेरो नाउँमा एउटा एम सिक्स्टिन हतियार पनि प्रमाणित थियो । तर त्यसै बखत ज्वाईण्ट मनिटरिङ टिममा भने जाने मौका पाएको थिए । योग्य र अयोग्य छुट्याउने नाममा कतिपय अव्यावहारिक र अनावश्यक प्रश्नहरु पनि सोधिन्थे । तर तिनिहरुको मुख्य उद्देश्य भनेको साँच्चै युद्ध लडेर आएको व्यक्ती हो कि पछि मिसिन आएको हो? भनेर छुट्याउन नै त्यसो गरिएको थियो । तर योग्य र अयोग्य छुट्याउने क्रममा युद्ध लडेर आएका कतिपय कमाण्डरहरु प्रमाणीकरण आयोगले अयोग्य साबित गरिदिएको थियो । त्यसपछि योग्य माओवादी सेनालाई सरकारले मासिक तीन हजार मासिक तलब दिनथाल्यो भने अयोग्यहरुले पाएनन,त्यसकारण अयोग्य भनिएका साथीहरुले आन्दोलन समेत गरेका थिए ।

त्यस्तो अवस्थामा म योग्य भएपनी म पनि अयोग्य नै हु भन्दै अयोग्य साथिहरुलाई सम्झाउने बुझाउने टिमको मैले नेतृत्व गरेको थिए । त्यसबखत म लोकेस स्मृती ब्रीगेडमा थिए । सेना समायोजनको लागि राजनीतिक दलहरु बिच बारम्बार वार्ताले त्यसबखत माओवादी सेनामा निकै तनावपूर्ण स्थिती सृजना गरेको थियो । हरेक चोटिको वार्तामा सरकार र माओवादीको विचमा वार्ता भएर माओवादी सेनालाई डोमिनेट गरेको देख्दा हुँदा अगाडि नै युद्ध छोडिएछ,अझै दुईचार बर्ष युद्ध गर्नुपर्ने रहेछ भन्ने विचार भएका साथिहरु पनि देखिए भने कतिपय साथिहरु पुन: लडाईमा फर्कनु पर्छ भन्ने साथीहरु पनि देखिए । तर यस सन्दर्भमा भने मेरो फरक विचार थियो ।
हामी क्यान्टोनमेन्टमा रहेर निकै बर्ष बिताईसकेको हुनाले हामी एक प्रकारको जिवनशैली ढलीसकेका थियौ र जुन छाडेर पुन: युद्धमा फर्कन म सम्भव देख्दिनथे । किनभने त्यसबेला हामीलाई नयाँ परिस्थिति र परिवेशले बाँधिसकेको थियो । बरु जतिसक्दो चाडो सरकारसंग सहमति गरेर समायोजनमा जाने कुरा नै मलाई सहि लागेको थियो । त्यसबेला माओवादी सेना र नेपाली सेना मिलाएर सशस्त्र प्रहरीको जस्तै छुट्टै महानिर्देशनालय बनाएर औद्योगिक सुरक्षा वा सिमा सुरक्षा जस्तै कुनै जिम्मेवारी दिने हो कि भन्ने कुरो उठिरहेको थियो । तर पार्टिभित्रै वैद्यहरु संग कुरा नमिल्दा यो सम्भव हुन सकेन । हामिहरु पनि क्यान्टोनमेन्टमा बसेको पाँच छ बर्ष भैसकेको थियो । नत युद्धमा फर्कने अवस्था थियो नत छोडेर घर आउने अवस्था नै थियो । नत राम्ररी खान पाउँथ्यौ नत तलब पाउथ्यौ । सालका जराहरु कति कुरेर बस्ने ?त्यसले गर्दा हामिमा त्यसबेला निकै निराशाको अवस्था थियो ।
सुरुमा माओवादी नेतृत्वले साँढे उन्नाइस हजार माओवादी सेना नेपाली सेनामा प्रवेश गराएर सरकारी सेनालाई माओवादीमय बनाउने लक्ष्य राखेको भए तापनी परिस्थितिले त्यो सम्भव भएन । गणतन्त्र आईसकेपछी प्रचण्ड प्रधानमन्त्री बने । त्यसपछि यदि गिरिजा प्रसाद कोईरालालाई राष्ट्रपति बनाईएको भए माओवादी सेना धेरै नेपाली सेनामा प्रवेश हुने र अयोग्य वा सामान्य जीवनमा फर्कन चाहने माओवादी लडाकुहरुले पन्ध्र सोह्र लाख पाउने सम्भावना थियो । तर त्यसबेला माओवादी नेतृत्व चुके जस्तो लाग्छ मलाई । समायोजनमा जाँदै गर्दा हामिे नेपाली सेनामा गएर काम गर्न सकिन्छ भन्ने पूर्ण आत्मविश्वास थियो । किनभने हामिले गर्ने तालिम भन्दा उच्च प्रकारको तालिम नेपाली सेनाको थिएन । हामिमा त्यो सेनासंग लडेर जितेर आएको सेना हौ, जुनसुकै मामिलामा सक्षम छौ भन्ने आत्मविश्वास हामिमा थियो । तर बिस्तारै चारैतर्फबाट हाम्रो मनोबल गिराउने काम भयो । यसरी सेनामा रहेर कामगर्ने रहर र इच्छा हुदाहुदै पनि दर्जा मिलानमा असन्तुष्टि भएपछी सैनिक जीवन छाडेर सामान्य जीवन जिउने निर्णय गरेको हु । जनयुद्धकालमा दर्जन भन्दा बढी युद्धमा सहभागी भएँ । त्यस अवधिमा थुप्रैपटक मृत्युको मुखबाट बचेको छु । र जीवनमा कहिले भूल्न नसक्ने थुप्रै क्षणहरु छन । तर एउटा स्मरण राख्न चाहन्छु । कुरो २०६२ सालतिरको हो । अर्घाखाँची र पाल्पाको सिमा नजिकै जस्तो लाग्छ ।एउटा पडेना भन्ने सानो पहाडी बजार छ, जुन बुटवल नजिकैको सालझण्डी ब्यारेक भन्दा उत्तरतिर पर्दछ । म त्यतिबेला कम्पनी कमाण्डर थिएँ ।एकदिन म गुप्तचरको रुपमा सोही पडेना बजारमा थिएँ । हतियार एउटा माउजर (पेस्तोल)बोकेको थिएँ । साथमा सञ्चार पनि थियो । त्यो समयमा मेरो काम सालझण्डी ब्यारेक र त्यसको आसपासको गतिविधिबारे जानकारी संकलन गर्नु थियो । एकदिनको कुरा हो,म बिहानभरी सालझण्डी ब्यारेकको गतिविधी अवलोकन गरेर बेलुका आफू बस्ने गरेको ठाउँमा पुगे ।
बसेको ठाउँ भन्दा केही पर एउटा होटल थियो। त्यो ठाउँ मलाई निकै सुरक्षित लाग्दथ्यो । नजिकै स्कूलपनी थियो । त्यो होटलमा चिया नास्ता गर्न जाने गर्थे । यदि सेना प्रहरीले घेर्‍यो भने आफू कता भाग्ने भनेर पहिला नै मैले वरपर हेरिसकेको थिए । बजार डाँडामा र त्यसको तलतिर जंगल थियो । चिया नास्ता खाने होटलबाट पछाडीतिर निस्कन सकिने सानो झ्याल थियो । म त्यही होटलको कोठामा बस्ने गर्थे । त्यो दिन म पुगेको दुईघण्टामै म बसेको होटलको अगाडी अचानक सेनाको टिम आईपुगेछ । र रुपन्देहीतिरबाट आएका र बजारमा हिडिरहेका मानिसहरूलाई खानतलासी गर्न थालेछ, मत भित्रै थिएँ,मलाई थाहा हुने कुरै भएन । त्यसैबेला छिमेकी पसले आएर मलाई सेना आएको सूचना दियो । उसले सूचना दिने बेलासम्म सेना घरभित्र प्रवेश गरीसकेको थियो ।

       तर मेरो कोठासम्म भने आईसकेको थिएन । हतार हतार त्यही होटल मालिकको छोराको स्कूल ड्रेसको सर्ट मागेर लगाउन मात्र थालेको थिएँ,म बस्ने कोठानिरै सेना आएको आवाज आयो । मैले सेतो सर्ट लगाएको थिए । साथमा एउटा पिस्तोल र संचारसेट थियो । 

म सर्ट लगाउन छाडेर झ्यालबाट हाम फाले । हाम फालेर बारीमा त आएँ, तर बारीबाट तल अत्यन्तै ठूलो भिर रहेछ । माथी जाउँ बजारभरी सेना तल हाम फालौ भने अत्यन्तै ठूलो भीर । त्यसबेला मैले ज्यानको माया मारीसकेको थिएँ । त्यसैले जे पर्ला पर्ला भनेर भीरबाट हाम फाले । भिरबाट लडदैपडदै जंगलमा पुगे, खुट्टामा चोट लागेका कारण राम्ररी हिडन सकिरहेको थिईन । कहिले खोच्याउँदै, कहिले घिस्रीदै म जंगलको विचतिर पुगे । दुई दिन त्यही जंगलमा बिताएँ । भोक, प्यास पर्सीपल्ट साथीहरुको सम्पर्कमा आए र सुरक्षित स्थलतर्फ गएँ ।
 प्रस्तुति: सुनिलकुमार लो





No comments:

Post a Comment