Thursday, March 28, 2019

मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियोः खानेपानी मन्त्री 



 काठमाडौं : खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनालाई हतियार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छिन्। मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै नेपाल विवेकशील दलकी नेतृ रञ्जु दर्शनाले उजुरी गरेपछि मन्त्रीको प्रतिक्रिया आएको हो। रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्त्यिारमा उजुरी दर्ता गराएको थियो। मन्त्री मगरले बुधबार विज्ञप्ति जारी गरी आफूविरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको दावी गरेकी हुन्। आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकांश काम सम्पन्न भएपनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सीएमसीले केही महिना पहिले हात झिक्दा समस्या आएको मन्त्रीको प्रष्टोक्ति छ। ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जानकारी आएको भन्दै उनले आयोजना निर्माणको मान्यता विपरित गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था समेत नभएको उल्लेख गरेकी छन्। आयोजनाको कुनै प्रस्ताव मन्त्रिपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्री जिम्मेवार हुने भन्दै बिना प्रसंग आफूलाई उक्त प्रकरणमा मुछिएको उनको भनाई छ। ठेकेदार कम्पनीले हात झिक्नुको पछाडि सिएमसी कम्पनी आर्थिक रुपमा टाट पल्टनु मुख्य कारण रहेको उनको दाबी छ। आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची आयोजनाको काम छाडेर ठेकेदार कम्पनीले सम्झौता रद्द गरेको उनको भनाई छ। ‘मेलम्ची आयोजनामा अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु। यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ?’, उनले विज्ञप्तिमा प्रश्न गरेकी छन्। मेलम्ची खानेपानी आयोजनालाई आफू र आफ्नो परिवारमाथि आक्रमण गर्ने राजनीतिक हतियार बनाइएको उनको गुनासो छ। मन्त्रीको हैसियतले अख्तियार दुरुपयोग गरेको हेर्ने सरकारी निकायका विधि र प्रक्रियाको पक्षमा रहेको उनले प्रष्ट पारिन्। मन्त्रीको विज्ञप्तिः

No comments:

Post a Comment