Sunday, March 10, 2019

वडा नम्बर १० मा ‘साझा बहस’, वडावासीको प्रश्न जनप्रतिनिधिलाई !

हाम्रै साझा पत्रिका
पुनर्वास, फाल्गुन २५
       कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रकाशित हुने हाम्रै साझा पत्रिकाले पुनर्वास नगरपालिका भित्रका सबै वडाहरुमा "साझा बहस" सञ्चालन गरिरहेको छ । शनिबार हाम्रै साझा पत्रिकाले पुनर्वास नगरपालिकाको वडा नम्बर १० मा कार्यक्रम सम्पन्न गरेको छ । वडावासीका समस्या, गुनासो र चासोलाई लिएर जनप्रतिनिधिसंग अन्तरक्रिया गराइने यस कार्यक्रममा धेरै स्थानीय सर्वसाधारणहरुले आफ्ना गुनासोहरु राख्ने गर्दछन ।

वडा नम्बर १० मा भएको कार्यक्रममा वडाअध्यक्ष सुकदेव राना, नगरकृषि शाखा संयोजक तथा नगरपालिकाका प्रवक्ता भारमल सुनार, नगरशिक्षा शाखा संयोजक तथा विजय माविका अध्यक्ष बिष्णु विक, वडासदस्यहरु, वनका फरेस्टर रेशमलाल शर्मा तथा लालझाडी युवाक्लब ११ का अध्यक्ष काशी बोहरा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रश्नकर्ताहरुले वडाका योजनामा देखिएका समस्या, हुलाकी सडकले पुर्याएको क्षतिका समस्या, कृषि समस्या, विजय माध्यमिक विद्यालयमा देखिएका विविध समस्याहरु, सडक, स्वास्थ्य, लगायतका बिषयमा आफ्नो जिज्ञासा् राखेका थिए । सवालजवाफ् मुलक यस साझा बहस कार्यक्रममा वडानम्बर ९ का अध्यक्ष सुकदेव रानाले वडावासीहरुको सवालमा जवाफ दिनुभएको थियो । त्यस्तै,उपस्थित प्रतिनिधिहरुले बिषयगत प्रश्नको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा पहिलो प्रश्न स्थानीय धिरेन्द्र प्रसाद भट्टले राख्नुभएको थियो । उहाँले वडाका विकासका योजना सबैतिर पुग्नेगरी किन गरिएको छैन, विकासमा पनि कसैलाई काखा र कसैलाइ पाखा गरि किन भएको छ ? भनी प्रश्न गर्नुभयो  । उहाँले योजना फरफारक हुँदा किन स्थानीय प्रतिपक्षका व्यक्तिहरुलाई जानकारी दिईदैन भनी प्रश्न राख्नुभयो । उहाँको प्रश्नमा वडाअध्यक्ष रानाले सरल जवाफ् दिनुभएको थियो ।

त्यस्तै, एक प्रश्नकर्ता स्थानीय युवा शेर बहादुर बोगटीले खानेपानी मन्त्रालयबाट वडामा आएका योजना वडाकार्यालयबाट काम सम्पन्न भएको सिफारिस सहित रकम फरफारक हुँदा पनि किन समान र स्टिमेट आएन ? स्टिमेट विना नै कसरी योजना आयो ? काम नै नभइकन काम सम्पन्न भएको सिफारिस वडाले किन गर्यो ? यहाँ सरासर अनियमितता भएको छ ! भनी वडाअध्यक्ष रानालाई आफ्नो सिधा प्रश्न राख्नुभएको थियो  । वडाअध्यक्ष रानाले सवालको जवाफ दिएका थिए । तर प्रश्नकर्ता युवा बोगटीले वडाअध्यक्षको जवाफ चित्तबुझ्दो नआएको बताए ।


त्यस्तै, वडावासी पुर्णाकला शर्मा, दशरथ सुवेदी, डम्बर बहादुर खत्री लगायत धेरै उपस्थित सर्वसाधारणले विभिन्न प्रश्नहरु राख्नुभएको थियो । उहाँहरुको सवाललाई चित्तबुझ्दो ढंगबाट जवाफ दिनेक्रममा वडाअध्यक्ष राना, शिक्षा शाखा संयोजक विक तथा नगरप्रवक्ता सुनारले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा उपस्थित वडावासीले आफ्नो समस्या मिडिया मार्फत सिधा आफ्ना जनप्रतिनिधिहरु समक्ष राख्न पाउने यस कार्यक्रम निरन्तररुपमा सञ्चालन गर्न आग्रह गरे । वडामा पहिलो पटक जनप्रतिनिधि र सर्वसाधारणलाई एकैठाउमा राखेर गरिने यो पहिलो अन्तरक्रियात्मक कार्यक्रम भएकाले निकै प्रभावकारी हुने उनीहरुले प्रतिक्रिया दिए ।


वडावासीका समस्या, चासो र गुनासोलाई सम्बन्धित निकाय सम्म पुर्याउने र समस्याको समाधान नभए सम्म घचघच्याउने यस कार्यक्रम वडा नम्बर ६, ९ र १० मा सम्पन्न भईसकेको छ । कार्यक्रमको सञ्चालन हाम्रै साझा पत्रिकाका कार्यकारी प्रवन्धक लाल बहादुर एसकेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन भईरहँदा कार्यक्रमको प्रत्यक्ष प्रशारण हाम्रै साझा पत्रिकाको अफिसियल फेसबुक पेज मार्फत गरेका छौं । सिधा प्रशारण गरिएको उक्त लाइभ भिडियो जुनसुकै बेला हेर्न सकिन्छ । त्यस्तै, समाचार सहितको पुरा भिडियो पनि हाम्रै साझा पत्रिकाको अफिसियल फेसबुक पेज हाम्रै साझा पत्रिकामा हेर्न सकिन्छ ।

No comments:

Post a Comment