Sunday, March 10, 2019

आज महान शहिद गोविन्द गौतमको स्मृति दिवस !

पुनर्वासका तीन ठाँउमा अलगअलग कार्यक्रम गरि दोस्रो स्मृति दिवस मनाईदै 

हेमन्त न्यौपाने 
पुनर्वास, फाल्गुन २६ 
      देशको सीमानामा भारतीय एसएसबीसंग ढुंगामुढा गरि लड्दालड्दै सहादत प्राप्त गरेका नेपाली वीरसपूत शहिद गोविन्द गौतमको आज दोस्रो पुण्यतिथि हो । उनको सम्झनामा पुनर्वास नगरपालिकाका विभिन्न तीन ठाँउमा अलगअलग कार्यक्रम तय भएका छन ।
पुनर्वास नगरपालिकाले शहिद गौतमको स्मृति दिवस मनाउने कार्यक्रम छ । कार्यक्रममा प्रदेश सरकारका समाजिक विकास मन्त्री कृष्णराज सुवेदी आउने कार्यक्रम रहेको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले जानकारी दिनुभयो । कार्यक्रम विहान ८ बजे देखि सुरुहुने प्रवक्ता सुनारले जानकारी दिए ।  त्यस्तै, शहिद गौतमले प्राण त्याग गरेको पुण्यभुमि आनन्दबजारमा नेपाली कांग्रेस नगरकमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । श्रद्धाञ्जली सभा कार्यक्रम दिउँसो ११ बजे देखि सुरु हुने नेपाली कांग्रेस नगरकमिटी सभापति यम प्रसाद पौडेलले जानकारी गराउनुभयो । त्यस्तै, पुनर्वास नगरपालिका वडा नम्बर ११ मा लालझाडी युवाक्लब ११ ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शहिद गोविन्द गौतमको सम्मान र विरामीको जीवनरक्षार्थ आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी भईदिन सबैमा क्लबका अध्यक्ष काशी बोहराले आग्रह गर्नुभएको छ ।



सम्झनामा शहिद गोविन्द गौतम, आश्वासनमा वित्यो दुई बर्ष

 आज भन्दा दुई बर्ष अगाडी २०७३ साल फाल्गुन २६ गतेका दिन आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरे । उनी कुनै राजनीतिसंग सम्बन्धित वा सरकारी सुरक्षा सेवासंग सम्बन्धित व्यक्ति होइनन् । देशविदेश चाहारेर परिवार पाल्ने एक किसान थिए शहिद गौतम । 

स्मृति दिवसका अवसरमा नगरभित्र विभिन्न ठाँउमा शहिदलाई सम्झना गरिरहँदा शहिद परिवार कुन र कस्तो अवस्थामा छ भन्ने जानकारी धेरैलाई नहुन सक्छ । शहिद गौतमको सहदत पछी परिवारले निकै आश्वासन पाए तर कार्यान्वयनमा केहि पाएनन् । अझभनौं सरकारी पक्षबाट प्रतिबद्धता जनाईएका आश्वासनहरु शहिद परिवारका कानमा गुञ्जिरहेका छनभने प्रतिबद्धता गर्नेहरु कहाँ पुगे शहिद परिवारलाई जानकारी छैन । सरकारको प्रतिबद्धताको पर्खाइमा बसेका शहिद गौतमका वृद्ध पिता खेमलाल गौतम तथा माता हरिदेवी गौतम सरकारले कुनै प्रतिबद्धता पुरा नगरेको बताउनुहुन्छ । वृद्ध हुनुभएका शहिद गौतमका मातापिता, श्रीमती र छोरीहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले गरेका थिए । उपचारमै धेरै पैसा खर्च हुने उहाँहरुलाई निशुल्क औंषधी पाउन सके निकै राहत मिल्ने बताउनुहुन्छ । सरकारको प्रतिबद्धता अनुसार गौतम निवास रहेको ऐलानी जमिन निशुल्क रुपमा तत्काल उपलब्ध गराउने, राहत रकम बढाएर दिने, शहिद गौतमका छोरीहरुलाई उच्चशिक्षा सम्म निशुल्क पढाईदिने, रोजगारी उपलब्ध गराउने, लगायतका प्रतिबद्धताहरु सरकारपक्षबाट भएकोमा कुनैपनी प्रतिबद्धता सरकारले पूरा गरेको देखिदैन । दोस्रो स्मृति दिवस कार्यक्रममा नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले चैत महिनादेखि शहिद पत्नी लक्ष्मी गौतमलाई रोजगारी दिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । उहाँले चैत १ गतेबाट तलब सुविधा सुरु भएको बताएपनि स्थानीयतहलाई कर्मचारी भर्नागर्न पाउने अधिकारमा रोक लागेपछि असहज स्थिति बनेको नगरप्रमुख थापाले बताउनुभयो । सरकारपक्षको प्रतिबद्धता अनुसारको जागिर पाउने आशामा रहनुभएकी शहिद गौतम पत्नी लक्ष्मी गौतम डेढ बर्ष सम्म पनि रोजगार नपाएपछि रोजगारीका लागि काठमाडौ जानुभएको छ । उहाँले छोरीहरु कञ्चनपुरमै छोडेर रोजगारका लागि काठमाडौ आएको बताउनुभयो ।

सीमा विवादका कारण शहिद गौतमले ज्यान गुमाउनुपर्यो । नेपाली भुमिमा निर्माण गर्न लागिएको कल्भर्टको बिषयमा उत्पन्न भएको विवादले उग्ररुप लिँदा भारतीय सीम सुरक्षा बल एसएसबीले स्थानीय गोविन्द गौतमको छातीमा गोलि चलायो । भारतीय ज्यादतीको विरुद्धमा उत्रिएका हज्जारौं नेपालीहरुका बिचमा गोलि गौतमलाई लाग्न पुग्यो । उनले सीमाक्षेत्रमै आफ्नो प्राण त्याग गरे । आनन्दबजारको उक्त भुमि भारतले विवादित एरिया भन्दै आइरहेको छ । शहिद गौतमको हत्याको जिम्मेवारी अहिलेसम्म भारतले लिएको छैन । ल्याब परिक्षणबाट सीमा सुरक्षा बल एसएसबीले नै हत्या गरेको पुष्टि भईसकेको छ । शव परिक्षणमा एसएसबीले चलाउने इन्सास राईफलको गोलि समेत फेला परेको थियो ।
 विगत लामो समयदेखिको समस्या यस सीमा समस्या समाधान गर्न पटकपटक विभिन्न टोलि गठन भएर आएपनी सीमा टुंगो भने लाग्न सकेको छैन । अझै सीमा समस्या समाधान हुन नसक्दा फेरिपनि नेपालीले रगत बगाउनुपर्ने त होइन भन्ने आशंका समेत जन्माएको छ ।

No comments:

Post a Comment