हाम्रै साझा पत्रिका
पुनर्वास, चैत १९
सीमा विवादका क्रममा एसएसबीको गोली लागि गोविन्द गौतमको मृत्यु भएको पुनर्वास नगरपालिका ४, आनन्द बजारमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को स्थापना गरिएको छ । सीमा विवादका क्रममा २०७३ फागुन २६ गते एसएसबीसँगको झडपमा गोविन्दको मृत्यु भएको थियो ।
नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी गण कन्चनपुरअन्तरगत रहने गरी सशस्त्र प्रहरी बल नेपाल बीओपी पुनर्वास, कन्चनपुरको स्थायी पोष्ट स्थापना गरिएको हो ।
कन्चनपुर प्रमुख जिल्ला अधिकारी सुशील बैद्य र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर थापा र पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्टले संयुक्त रूपमा बीओपीको उद्घाटन गरेका छन् ।
अस्थायी रुपमा रहेको सशस्त्र प्रहरी बललाई स्थायी रुपमा स्थापना गरेर सीमा सुरक्षालगायत, सीमामा हुने तस्करी, अपराधिक गतिविधिलाई नियन्त्रण लिइने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को कमाण्डमा २१ जना रहने छन् ।
भौतिक संरचनाको अभावमा सुरक्षाकर्मीहरुलाई बस्न असजिलो भएकाले भौतिक संरचनाको निर्माणपछि सशस्त्र प्रहरी निरीक्षक कमाण्डमा सुरक्षाकर्मीहरु रहने बताए । कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सशस्त्र प्रहरीको स्थायी पोष्टपछि सीमामा हुने अपराधिक गतिविधिमा नियन्त्रमा आउने बताए । उनले दुबै देशको ज्वाईन्ट सीमा सर्वेपछि मात्रै बन्द रहेको उक्त सीमानाका खोल्ने विषयमा छलफल गरिने बताए ।
पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा शर्मा बिष्टले पुनर्वासको सीमा समस्या समाधान गराउन सबैले आफ्नोतर्फबाट पहल गर्नुपर्ने बताउनु भयो । देशभरमै चर्चामा समेत रहेको एक जनाको ज्यानै जानेगरी घटना भएको ठाँउमा २ बर्ष पुग्दा समेत सीमा समस्या समाधान नहुनु दु:खद पाटो रहेको स्मरण गर्नुभयो । उहाँले मानव तस्करी देखि विभिन्न चोरी तथा तस्करी हुने नाकाको रुपमा प्रयोग भईरहेका पुनर्वासका खुल्ला नाकाहरुमा नियन्त्रणको प्रयासहरु बढाउनु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सोही वडाका वडाअध्यक्ष प्रेम बहादुर बस्नेत, नगरप्रवक्ता भारमल सुनार, वडा नम्बर ९ का वडा अध्यक्ष नारायण जैशी लगायत स्थानीय, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment