Monday, July 27, 2020

पुनर्वास कालिका बजारका व्यापारीद्वारा सिमा व्यवस्थापन गर्न माग


-सुनिलकुमार लो
कञ्चनपुर,१२ साउन ।
पुनर्वास नगरपालिका ३ कालिका बजारका व्यापारीहरुले सिमा व्यवस्थापनको माग गरेका छ्न । सोमबार व्यापारीहरुको एक समूहले कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनारलाई भेटी हस्ताक्षर सहितको ज्ञापन पत्र हस्तान्तरण गरेका छ्न । उनानसय व्यापारीहरुले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लकडाउनका कारण सिमा बन्द भएको अवस्थामा भारतीय अवैध सामान आउन बन्द भएको र त्यसको कारणले नेपालीहरुको व्यापार फस्टाउँदै गएको तथा आत्मनिर्भर बन्दै गएको उल्लेख छ । यस्तै प्रकारले भविष्यमा पनि अवैध नाका बन्द गर्न र भारतीय सामानको चोरी पैठारी रोक्न अत्यन्त जरुरी रहेको भन्दै यसका लागि संबंधित निकायमा पहल गरीदिन उनीहरूले बजार समितिका अध्यक्ष सुनार समक्ष माग गरेका हुन ।
ज्ञापन पत्र बुझ्दै कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष सुनारले कालिका बजारका पचहत्तर प्रतिशत भन्दा बढी व्यापारीहरुले चोरी पैठारीबाट आएको सामान विक्री गरीरहेको खुलासा गर्नुभयो । उहाँले व्यापारीहरुको माग सम्बन्धित निकाय सम्म पुरयाउने जिम्मेवारी आफुले पूरा गर्ने तर चोरी पैठारी रोक्न बजारका व्यापारीहरु नै सुध्रिनु पर्ने भनाइ राख्नुभयो ।
अध्यक्षको भनाईको केहि व्यापारीहरुले प्रतिवाद समेत गरेका थिए । व्यापारी नमराज लामिछाने र धनलाल मोक्तानले चोरी पैठारीका सामान विक्री गर्ने व्यापारीको नामै किटान गरेर भन्नुपर्ने र सबैलाई एउटै तराजुमा जोख्दा ईमानदारलाई मर्का पर्ने विचार राखेका थिए ।
लकडाउन खुला भएसंगै पुनर्वास-बेलौरीका अवैध सिमा नाका प्रयोग गरेर तस्करहरुले रातारात करोडौंका मालसामान भित्र्याउन थालेपछि पुन: पुनर्वास-बेलौरी क्षेत्रका व्यापारीहरुको व्यापार चौपट्ट हुन थालेको बताईएको छ । पीडित व्यापारीहरुले उद्योग वाणिज्य संघ, नगरपालिका तथा सुरक्षा निकायलाई समेत सिमामा हुने चोरी पैठारी रोकी आफ्नो व्यवसाय धरापमा पर्न बाट जोगाउन अनुरोध गरेका छ्न ।


No comments:

Post a Comment