एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या विश्वव्यापी रुपमा १ करोड १८ लाख पार गरिसकेको छ । मृत्यु हुनेको सङ्ख्या ६ लाख नजिक पुगेको छ । कोरोनाको संक्रण र मृत्यु बढिरहेका बेला भारत, बेलायत, चीन, अमेरिकालगायत देशले कोरोनाविरुद्धका १०० किसिमका खोपहरु निर्माण प्रक्रियामा छन् ।
विश्वभरका वैज्ञानिकहरु कोभिड–१९ को खोप निर्माण कार्यकै लागि दिनरात खटिरहेका छन् । वर्षौँ लाग्ने कामलाई केही महिनामै पूरा गर्ने प्रयासमा रहेको हुँदा यो काम विश्वभरका वैज्ञानिकहरुका लागि हालसम्मकै चुनौतिमय समय साबित भइरहेको बताइएको छ । कुनैपनि खोप निर्माणका लागि हजारौँका सङ्ख्यामा मानिसहरुको परीक्षण गर्नुपर्ने हुँदा यो कार्य मानव सहभागीतामा पनि निर्भर छ ।
पछिल्ला केही महिनामा केही खोपबारे सकारात्मक खबर आइरहेको छ भने कतिपय खोजी कार्यमा चाहिँ ढिलाइ भइरहेको बताइएको छ । तर समग्रमा अझै कोरोना विरुद्धको खोप पूर्ण रुपमा तयार हुन समय लाग्ने देखिएको छ । विश्व स्वास्थ्य संगठनले अहिले विश्वव्यापी रुपमा खोपको क्लिनिकल ट्रायलका लागि १८ दाबेदारको नाम लिएको छ । यसमा हाल मोडेर्ना, एस्ट्राजेनेका, बायोएनटेक, नोभाभ्याक्स, चीनको साइनोभ्याक, क्यानसाइनो बायोलोजिक्स र इनोभियो फार्मेउटिकल्स खोप निर्माणको दौडमा सबैभन्दा अगाडि छन् ।
अमेरिका ः
हालसम्म प्राप्त तथ्यांक अनुसार अमेरिकाले वर्षको अन्त्यसम्म खोप उपलब्ध गराउन सक्ने बताइएको छ । बुधबार मात्र ‘कोरोना भाइरस प्रिभेन्सन नेट्वर्क’ ले आफ्नो वेबसाइटबाट प्रत्यक्ष प्रशारण गर्दै अमेरिकी नागरिकले खोपको ट्रायलमा सहभागी हुन आवेदन दिन पाउने बताएको छ । यसमा खोप सम्बन्धी चार ठूला अध्ययन सञ्चालन गरिने बताइएको छ । अमेरिकी स्वास्थ्य विभागले उक्त वेबसाइटसँगको सहकार्यमा बुधबार यस्तो घोषणा गरेको हो ।
तर बायोटेक कम्पनी मोडेर्ना नै खोप परीक्षणको सबैभन्दा ठूलो चरणमा पुग्ने पहिलो कम्पनी बन्ने अपेक्षा गरिएको छ । यसको ट्रायल यही हप्ता सुरु हुने भनिएको छ । मोडेर्नाले १०० भन्दा बढी सहभागीहरुमा सुरक्षा सम्बन्धी परीक्षण सञ्चालन गरिसकेको छ तर त्यसको नतिजा भने घोषणा गरिएको छैन । मोडेर्नाको ट्रायलमा ३० हजार सहभागीलाई दुईवर्षको अवधिसम्म अध्ययन गरिने बताइएको छ ।
त्यस्तै अमेरिकामा जिलिड कम्पनीको रेम्डेसिभिर औषधि पनि कोरोनाका गम्भीर बिरामीहरुमा प्रयोग गर्नका लागि अनुमति पाइसकेको छ । यसबाहेक नोभाभ्याक्स कम्पनीलाई अमेरिकी सरकारले खोप निर्माणका लागि १.६ अर्ब डलर प्रदान गर्ने भनेको छ जसबाट १० करोड बराबरको डोज आगामी जनवरीसम्ममा तयार पारिने बताइएको छ ।
चीन ः
यता चीनको साइनोभेक बायोटेक र चाइना नेस्नल फार्मासेउटिकल समूह पनि बेलायतको एस्ट्राजेनेकासँगै अनुसन्धानात्मक कोभिड–१९ खोप परीक्षणको तेस्रो ठूलो चरणमा प्रवेश गरिसकेका छन् । अमेरिकाको मोडेर्नाले पनि त्यही चरणका लागि यसै महिना ट्रायल सुरु गर्ने बताएको हुँदा यी देशहरुबीच कसले पहिले उत्पादन गर्न सक्ने भन्ने प्रतिस्पर्धा रहनेछ । यसरी यी कम्पनीहरुमाथि अहिले सरकारी दबाब पनि उत्तिकै रहेको छ ।
साइनोभ्याक बायोटेकले सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा सुरु पनि गरिसकेको छ जसपछि यो ठूलो ट्रायलमा पुग्ने विश्वका तीन मध्येको एक खोप उत्पादक बनेको हो । गत हप्तामात्र यसले ब्राजिलियन निरीक्षकहरुबाट ट्रायलका लागि अनुमति पाएको थियो । साइनोभ्याकका अनुसार यसले ब्राजिलको खोप उत्पादक इन्टुटो भुटाननसँगको सहकार्यमा खोप उत्पादन गर्नेछ जसका लागि ९ हजार स्वास्थ्य विद्हरुलाई सहभागी गराइनेछ । यसले जनवरीको अन्त्यतिरमा खोप विकास गरिसक्ने लक्ष्य राखेको छ ।
त्यस्तै दोस्रो चरणको क्लिनिकल ट्रायल पूरा गरिसकेको एडीफाइभ–एनकोभले पनि हालैमा मात्र चिनियाँ सेनामा खोप परीक्षण गर्ने अनुमति पाएको हो । चीनकै दुई खोप कम्पनीको सहकार्यमा सञ्चालित दोस्रो क्लिनिकल परीक्षणमा आशावादी नतिजा देखिएको बताइए पनि आधिकारिक रुपमा भने प्रकाशित गरिएको छैन ।
बेलायत ः
यता अघिल्लो हप्ता मात्र अक्सफोर्ड युनिभर्सिटीका अध्ययनकर्ताहरुले खोप परीक्षणको तेस्रो चरण अन्र्तगत बेलायतका ८ हजार मानिसलाई खोप लगाइसकेको जनाएको हो । तर कुनै पनि खोप बजारमा उपलब्ध गराउनु अगाडि धेरै अवरोधहरुको सामना गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु नै खोप निर्माणको काममा सबैभन्दा अगाडि रहेको विश्वास गरिएको छ, जसलाई विश्व स्वास्थ्य संगठनले पनि अग्रणी उमेदवार भनेर उल्लेख गर्दै आएको छ ।
त्यस्तै विश्वको सबैभन्दा ठूलो खोप निर्माता जीएसकेले भने कोभिड–१९ विरुद्धको खोप निर्माण गर्न क्यानडाको बायोटेक कम्पनीसँग सहकार्य गर्ने जनाएको छ । आफू एक्लैले निर्माण गर्नुको सट्टा जीएसकेले सातवटा अन्य ग्लोबल कम्पनीहरुसँग प्राविधिक सहकार्य गरि काम गर्नमा केन्द्रित रहेको बताएको हो । यता बेलायतले नै ‘सानोफी एण्ड गेलेक्सोस्मिथक्लाइन’ सँग पनि खोप आपूर्तिको सम्झौता अन्तरगत ५० करोड पाउन्ड बराबरको कोभिड–१९ सम्भावित डोजका लागि सहमति जनाएको बताइएको छ ।
भारत ः
भारतको सेरम इन्सटिटीउट अफ इन्डियाले पनि वर्षको अन्त्यसम्म खोप निर्माण गरिसक्ने अपेक्षा गरिएको छ । यसमा कम्पनीका प्रमुख अदार पुनावालाले खोप बनाउन हतारभन्दा पनि आफूहरु प्रभावकारी र सुरक्षित उत्पादनमा बढी जोड दिइरहेको यसअघि उनले बताएका हुन् । तेस्रो चरणको ट्रायलको नतिजा आएपछि आफूहरुले यसबारे थप छलफल गर्ने उनले बताएका छन् ।
तर ‘इन्डियन काउन्सिल फर मेडिकल रिसर्च, आईसीएमआर’ को अगस्ट १५ भित्रै खोप ल्याइसक्ने दाबीलाई भने इन्डियन एकेडेमी अफ साइन्सेसका वैज्ञानिकहरुले अव्यवहारिक र लगभग असम्भव बताएका छन् । खोप पाउन मान्छेलाई जतिसुकै हतार भए पनि त्यसलाई मान्छेमा प्रयोग गर्न योग्य बनाउन व्यवस्थित ढङ्गले थुप्रै चरणमा क्लिनिकल ट्रायल गर्न आवश्यक रहेको आईएसीले जनाएको छ । यस्तोमा सबै वैज्ञानिक प्रक्रियाहरु पूरा गरि, डाटा संकलन गर्ने काममा हतार गर्नै नमिल्ने आईएसीले आफ्नो बयानमा भनेको हो ।
यता एहेम्दावादमा अवस्थित जाइडस केडिला स्वास्थ्य कम्पनीले पनि खोप निर्माणको काममा मानव परीक्षण सम्बन्धी बिहीबार मात्र भारतको ड्रग्स कन्ट्रोलर जेनेरल अफ इन्डिया (डीसीजीआई) बाट अनुमति पाएको बताइएको छ ।
No comments:
Post a Comment