Thursday, July 23, 2020

अज्ञात समुहद्वारा शुक्लाफाँटा नगरपालिकाको वडा कार्यालयमा आगजनी

-मोहन बिष्ट 
कञ्चनपुर । अज्ञात समुहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सात नम्बर वडा कार्यालयमा आगजनी गरेको छ । गएराति जुडा कालापानीमा रहेको सात नम्बर वडा कार्यालयमा आगजनी भएको छ ।
आगजनीबाट कार्यालयका आवश्यक सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।  बिहीबार बिहान गाउँदेखि बजारमा दुध पुर्‍याउन हिंडेका स्थानीयले धुँवा देखेपछि वडा कार्यालमा आगो लागेको थाहा भएको हो । गत बर्ष मात्रै कार्यालयकाे नयाँ भवन निर्माण भएको थियो । 
वडा कार्यालयका सचिव महेश भट्टले आगजनीले सबै कागजात जलेर नष्ट भएको बताए । गत बर्ष पनि अज्ञात समुहले वडाध्यक्षको सवारी साधनमा आगजनी गरेकाे थियाे ।  वडाध्यक्ष जगत बहादुर सिंहले कार्यालयमा आगजनी गर्नु अपराध मात्र नभई महापाप समेत भएकाले यस्तो हर्कत गर्नेलाई कडा कारबाही गरेरै छाडिने बताए। 
आगजनीकाबारेमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मेन्द्र रावलले घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिए । 
आगजनीप्रति शुक्लाफाँटा नगरपालिकाले भर्त्सना गर्दै घटनामा संलग्नको पहिचान गरेर दोषी उपर कार्बाहीको माग गरेको छ । शुक्लाफाँटा नगरका प्रमुख दिल बहादुर ऐरले आगलागीमा संलग्न जुनसुकै समुह वा व्यक्ति भएपनि यो आपराधिक कार्य भएकाले यथाशिघ्र कानुनी दायरमा ल्याएर कार्बाही गर्नुपर्ने माग गरेका छन् । 
विकास बिरोधी समुहले जहिले पनि शुक्लाफाँटा नगरपालिकामा आक्रमण गर्न लागेको भन्दै यहाँका जनप्रतिनिधीले यस्ता अपराधीमाथि हदैसम्मको कार्बाहीको माग गरेका छन् । 

No comments:

Post a Comment