कञ्चनपुर, १२ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका केही अवैध झोले निजी विद्यालयहरुको जालोमा फसेको छ । शुक्लाफाँटा नगरपालिकामा सञ्चालन भएको देखाई त्यहाँबाट अन्य स्थानीय तहमा स्थानान्तरणको अनुमति सिफारिस पाएका केही अवैध निजी विद्यालयहरुका कारण नगरपालिका विवादित बन्दै गएको हो । हालै मात्र शुक्लाफाँटा नगरपालिकाले अवैध रुपमा रहेका खप्तड शिक्षा सदनलाई बेलौरीमा र फारवेष्ट इन्टरनेशलन बोर्डिङ स्कुललाई पुनर्वासमा स्थानान्तरणका लागि अनुमति सिफारिस दिएपछि उक्त तथ्य सतहमा आएको हो । खप्तड शिक्षा सदनलाई बेलौरीमा स्थानान्तरणका लागि अनुमति सिफारिस दिएपछि विभिन्न विद्यालय, शिक्षक तथा विद्यार्थीहरुका संघसंगठनहरु आन्दोलित भएका थिए ।
त्यसयता नियमित रुपमा नगरपालिकाको ध्यानाकर्षण गराउने क्रम जारी रहेको बताइएको छ । सोही क्रममा गत बिहिबार पुनर्वास नगर प्याव्सनले समेत शुक्लाफाँटा नगरपालिकाको ध्यानाकर्षण गराएको पुनर्वास नगर प्याव्सनका अध्यक्ष बालकृष्ण ढकालले बताउनु भएको छ । निरन्तरको दबाबपछि गतसाताको शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले खप्तड शिक्षा सदनलाई बेलौरीमा स्थानान्तरणका लागि दिएको अनुमति सिफारिस पत्र बदर गर्ने निर्णय गरेको थियो । उक्त सिफारिस बदरको पत्र बेलौरी नगरपालिका र शिक्षा समन्वय इकाइमा पेश गरिएको जानकारी प्राप्त भएको छ । त्यस्तै, कम्पनी रजिस्ट्रारको कार्यालय र शिक्षा बिभागमा समेत जानकारी गराइएको र तत्काल यस्ता झोलामा रहेका विद्यालय खारेजीको प्रकृया शुरु गर्न माग गरिएको छ ।
यसैबीच, नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) कञ्चनपुरका अध्यक्ष महा शर्मा न्यौपानेले शुक्लाफाँटा नगरपालिका अबैध झोले नीजि विद्यालय बेच्ने अखडा भएको आरोप लगाउनु भएको छ । बिहीवार नगरपालिका कार्यालयमा नगर प्रमुख दिल बहादुर ऐरलाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष न्यौपानेले नगरपालिकाले बेलौरी र पुर्नवासमा अबैध झोले नीजि विद्यालय बेचेको चर्चा गर्दै अर्को विद्यालय भीमदत्त नगरपालिकामा पनि बेच्न लागिएको खबर सुनिरहेको बताउनु भयो । प्याव्सनले यसको सुक्ष्म अध्ययन अनुसन्धान गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । झोलामा राखिने अबैध विद्यालयले कर पनि नतिर्ने, विद्यालय सञ्चालन नगरे पनि गैरकानुनी रुपमा कक्षा बृद्धि भने हुँदै जाने र अन्त्यमा अन्यत्र स्थानमा ठाउँसारी गरी बेच्दै जाने प्रवृत्ति बढिरहेको उहाँको भनाइ छ ।
यस्ता कार्य गर्ने जो सुकै भएपनि कानुनी कारबाही हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गैरकानुनी रुपमा रहेका झोले विद्यालयहरुलाई स्थानान्तरणका लागि अनुमति सिफारिस दिइएको विषयमा छानविन गर्नका लागि सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सुशासन समितिका संयोजक ज्ञानेन्द्र बहादुर बिष्टको संयोजकत्वमा शुक्लाफाँटा नगरपालिकाले छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिको समयावधि शुक्रबार समाप्त हुँदै छ । समितिले प्रतिवेदन सार्वजनिक गरेपछि सोही अनुसार दोषिमाथि आवश्यक कारबाही हुने शुक्लाफाँटा नगरपालिकाले जनाएको छ ।
एनबी खबरबाट ।
Friday, August 28, 2020
शुक्लाफाँटा नगरपालिका अवैध झोले नीजि विद्यालय बेच्ने अखडा भएको आरोप
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment