कृष्ण बा बुढा
श्रावण १८
बर्दिया\ शिक्षक सरुवामा विभेद गरेको आरोप लगाउँदै नेपाल शिक्षक संघ ठाकुरबाबा नगर समितीले ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा आईतबारदेखि तालाबन्दी गरेको छ ।
ठाकुरबाबा नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलानको बाहानामा स्वेच्छाचारी तथा मनोमानी ढंगले आफुखुशी शिक्षकको सरुवा गर्ने निर्णय गरेको हुँदा शिक्षा शाखामा तालाबन्दी गरिएको नेपाल शिक्षक संघ ठाकुरबाबा नगर समितिका अध्यक्ष खडक प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
नगर शिक्षा समिति तथा शिक्षा शाखाले शिक्षक सरुवामा विभेदपूर्ण तथा नियम विपरित कदम चालेको हुँदा बाध्य भएर शिक्षा शाखामा तालाबन्दी गर्नु परेको अध्यक्ष उपाध्यायको भनाई छ ।
‘शिक्षक सरुवाको निर्णय गर्दा नगर शिक्षा समितिले नेपाल शिक्षक संघ र नेपाल शिक्षक महासंघ ठाकुरबाबा नगरकमिटीसँग कुनै परामर्श तथा सल्लाह नलिई एकलौटी ढंगबाट आफुखुशी शिक्षक सरुवा गर्ने निर्णय गरेको हुँदा आफुहरु आन्दोलनमा उत्रनु परेको हो ।’ अध्यक्ष उपाध्यायले भन्नुभयो ।
ठाकुरबाबा नगर शिक्षा समितिले शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९ तथा शिक्षक दरबन्दी मिलान कार्यविधि, २०७६ र नगरपालिकाले बनाएको नगर शिक्षा ऐन, २०७५ तथा शिक्षक व्यवस्थापन कार्यविधी, २०७५ का सम्पूर्ण प्रावधान समेतलाई पन्छाउँदै स्वविवेक र स्वेच्छाचारी प्रवृतीबाट राजानिती आस्था र जातजातीयका आधारमा शिक्षक सरुवा गर्ने निर्णय गरेको र शिक्षक सरुवाको निर्णय गर्दा आफुहरुसँग कुनैपनि किसिमका सल्लाह नगरी मानोमानी ढंगले शिक्षक सरुवाको निर्णय गरिएको शिक्षक संघ र शिक्षक महासंघ ठाकुरबाबा नगर समितिको आरोप छ ।
ठाकुरबाबा नगर शिक्षा ऐन, २०७५ र ठाकुरबाबा शिक्षक व्यवस्थापन कार्यविधी, २०७५ का प्रावधानलाई लत्याउँदै एकलौटी ढंगबाट शिक्षक सरुवा गर्ने निर्णय भएकाले विरोधमा उत्रनु परेको शिक्षक संघ आवद्ध शिक्षकहरुको भनाई छ ।
शिक्षक सरुवा गर्नुपूर्व नगर शिक्षा समितिलाई सहमतीका आधारमा सरुवाको निर्णय गर्न ध्यानाकर्षण गराउँदा गराउँदै अटेर गरेर बहुमतको दम्भमा एकलौटी शिक्षक सरुवाको निर्णय गरिएकोले बाध्य भएर शिक्षा शाखामा गरिएको तालाबन्दीमा एकेवद्धता जनाइएको नेपाल शिक्षक महासंघ ठाकुरबाबा नगर कार्यसमितिका अध्यक्ष किरुलाल चौधरीले बताउनुभयो ।
नेपाल शिक्षक संघ ठाकुरबाबाले नगर शिक्षा समितिले गरेको शिक्षक सरुवाको निर्णय तत्काल खारेज गर्न र शिक्षा शाखाको संयोजनमा शिक्षकका पेशागत संघ, संगठनको सहभागितामा गठन भएको कार्यदल मार्फत प्रचलित ऐन, नियम र कार्यविधी अन्र्तगत रहि कार्यादलले दिएको सिफारिसका आधारमा शिक्षक सरुवा गरिनु पर्ने माग गरेको छ ।
सरुवाको निर्णय फिर्ता तथा अन्य माग पुरा नहुञ्जेलसम्म नगरको शिक्षा शाखामा तालाबन्दी कायम रहने नेपाल शिक्षक संघ ठाकुरबाबा नगरकमिटीले जनाएको छ । निर्णय फिर्ता नहुुँदासम्म शिक्षकहरु विद्यालय जाँदा हातमा कालोपट्टी बाधेर र घाँटीमा विभेदपूर्ण शिक्षक सरुवा खारेज गर नारा लेखिएको प्ले कार्ड झुण्डाएर जाने निर्णय गरेको छ । माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अघि बढाइने शिक्षक संघले जनाएको छ ।
ठाकुरबाबा नगर शिक्षा ऐन, २०७५ लाई कार्यान्वयन गर्ने क्रममा शिक्षक सरुवा तथा दरबन्दी मिलानको काम थालनी गरिएको र ४१ जना शिक्षकहरुको सरुवा तथा दरबन्दी मिलानको काम ऐन नियम अनुसार नै अगाडी बढेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताउनुभयो । यो निर्णणय विवादको विषय नभई कसैको असन्तुष्टि मात्र हो, आगामी दिनमा थप छलफल गरेर अगाडी बढ्न सकिने उहाँले बताउनुभयो ।
ठाकुरबाबा नगरापलिका भित्र रहेका सामुदायिक विद्यालयका ४१ जना शिक्षकको सरुवा समायोजन गर्दा समन्वय नगरि गरेको भन्दै नेपाल शिक्षक संघ, नेपाल शिक्षक संघ र थारु कल्याणकारीणी सभाले आपत्ती जनाउँदै नेपाल शिक्षक संघले शिक्षा शाखामा गरेको तालाबन्दिमा ऐकवद्धता जनाएको थारु कल्याणकारिणी सभा ठाकुरबाबा बर्दियाका अध्यक्ष मैजु थारुले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका शिक्षा समितीले गरेको शिक्षक सरुवा समायोजन प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन ठाकुरबाबा नगरकमिटीका अध्यक्ष कलम शाहीले उचित निर्णय भएको प्रतिकृया दिनुभएको छ ।
नगर शिक्षा समितीका केहि सदस्यहरुको असहमती भएपनि बहुमतका साथ नगर शिक्षा समितीको बैठकबाट मावि तहका १० जना, निमावि अर्थात आधारभुत तहका ११ जना र प्रावि तहका २० जना गरी ४१ जना शिक्षकहरुको शुक्रबार दिउँसो नगर शिक्षा ऐन २०७५ अनुसार सरुवा समायोजन निर्णय भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।
ठाकुरबाबा नगर शिक्षा समितीले शिक्षा ऐन २०७५ अनुसार शिक्षकहरुको सरुवा समायोजन गरेको बताउँदै शिक्षा क्षेत्रको समग्र विकासका लागि ऐन अनुसार नगर शिक्षा समितीले निर्णय गरेको उहाँको भनाई छ ।
No comments:
Post a Comment